खप्तडमा बाक्लो हिमपात, संरक्षित वन्यजन्तु संकटमा - Sudur Khabar
मेनु

खप्तडमा बाक्लो हिमपात, संरक्षित वन्यजन्तु संकटमा

Null

सुदूर खबर, बझाङ, माघ ५ । लगातार भइरहेको हिमपातका कारण खप्तड राष्ट्रिय निकुञ्जमा बाक्लो हिउँ जमेको छ । हिमपातसँगै चिसो बढेपछि वन्यजन्तु तल्लो क्षेत्रमा बसाई सर्ने भएकाले जोखिम बढेको बताइएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले अहिलेसम्म ४र५ फिट बाक्लो हिउँ जमिसकेको र शनिबारदेखि लगातार हिमपात भइसकेको जनाएको छ । संरक्षित वन्यजन्तु रेखदेखका लागि बनाइएका सम्पूर्ण मार्ग अवरुद्ध भएका छन् ।

अवरुद्ध मार्ग खोल्नका लागि खप्तड स्थित नेपाली सेनाको टोली सक्रिय रहेको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । ‘बाक्लो हिउँ परेको र अत्याधिक चिसो भएकाले खोल्न कठिनाई भइरहेको छ’ उहाँले भन्नुभयो ‘सेनाले बाटो खोल्ने प्रयास गरिरहेको छ ।’

खप्तडमा अहिले दिउँसोको तापक्रम २/३ डिगी्र सेल्सीयससम्म हुने र राति तापक्रम घटेर माइनस १० डिग्री सेल्सियससम्म पुग्न गरेको खतिवडाले बताउनुभयो । बाक्लो हिमपात र निरन्तर घटिरहेको तापक्रमका कारण वन्यजन्तुहरु बेंसीतिरका घमाइलो ठाउँतिर जाने र मानवबस्ती नजिक पुग्दा उनीहरुमा माथि खतरा हुने खतिवडाको भनाइ छ । यसरी मानिस र वन्यजन्तु नजिक हुँदा हिंस्रक जनावरका कारण मानिस र घरपालुवा जनावरलाई जोखिम हुने र चोरी सिकारका कारण वन्यजन्तुलाई खतरा हुने उहाँको भनाई छ ।

हिमपातको समय संरक्षणका दृष्टिकोणले जोखिमपूर्ण हुने खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय बताउँछन् । उहाँले भन्नुभयो ‘चोरीसिकार गर्नेहरुका लागि पनि यो समय सबैभन्दा उत्तम समय हो ।’

बझाङ, डोटी, अछाम, र बाजुरा गरी चार जिल्लामा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा मध्यवर्ती क्षेत्र समिति गठन गरिएका छन् । खप्तडमा नेपालको संरक्षित सूचीमा रहेका राष्ट्रिय चरा डाँफे र मूनालको बासस्थान छ ।

यसबाहेक ३ सय भन्दा बढी प्रजातीका चराचुरुङ्गी खप्तडमा पाइन्छन् । यस्तैे स्तनधारी जनावरमा नेपालको संरक्षित सूचीमा रहेका कस्तुरी, मृग, ध्वांसे चितुवा र ब्वाँसो पनि यहाँ पाइन्छन् । हिमाली कालो भालु, चितुवा, बँदेल, मृग, हरिणसहित ३० प्रजातीका अन्य स्तनधारी पनि पाइने खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ ।

Null

SIDHAREKHA ONLINE