यी हुन प्रदेश ७ समृद्ध बनाउने आधारहरु, सबैभन्दा धनी प्रदेश बन्ने सम्भावना(भिडियो सहित)

प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार १७:२४

आशिष मल्ल/डडेल्धुरा बैशाख २ – हिजोको सुदूरपश्चिम अहिले प्रदेश नम्बर ७ भएको छ । समृद्धिको प्रचूर सम्भावना भएपनि यो प्रदेश अन्य भन्दा पछाडी छ । ९ जिल्ला रहेको यस प्रदेशमा कुल २५,५२,५१७ जनसंख्या छ । र अझै पनि यहाँका ४५ प्रतिशत जनता गरिबीको रेखामुनि छन । यहाँ देशभरकै करिब एक तहाई विद्युत् उत्पादन गर्न सकिन्छ । अमूल्य जडिबुटीको भण्डार यसै प्रदेशमा छ । तमाम प्राकृतिक सम्पदा तथा धार्मिक स्थल पनि यो प्रदेशमा नभएका होइनन् ।

प्रदेश ७ मा देशभरको उत्पादन क्षमताको करिब एकतिहाइ विद्युत् उत्पादन गर्न सकिन्छ । प्रदेश ७ मा १० हजार मेगावाटको कर्णाली, ६ हजार सात सय ८० मेगावाटको पञ्चेश्वर, ७ सय ५० मेगावाटको पश्चिम सेती, ३० मेगावाटको बूढीगंगा, ३० मेगावाटको चमेलिया छन् । यसका साथै निजी क्षेत्रबाट अपी हाइड्रो पावरले विद्युत् निकासी गरिसकेको छ । यस क्षेत्रमा साना तथा मझौला हाइड्रोपावरको प्रशस्त सम्भावना छ ।

प्रदेश नम्बर ७ समृद्ध बनाउने अर्को पाटो पर्यटन हो । यहाँ भारतबाट लाखौं पर्यटन ल्याउन सकिने सम्भावना छ । यदी बझाङको चैनपुर हँुदै चीन जोड्ने ताक्लाकोट नाकासम्म सडक सञ्जाल विस्तार गरेमा लाखौं भारतीय तीर्थयात्री मानसरोवर यात्रामा जान सक्नेछन् । यसैगरी बाजुराको बढीमालिका, डडेल्धुराको उग्रतारा, कैलालीको बेहेडावावा, डोटीको बढीकेदारलगायतका धार्मिक स्थलमा ठूलो संख्यामा भारतीय नागरिक आउने गर्छन् । खप्तड, रामारोशन, बढीमालिका, शुक्लाफाँटा राष्ट्रिय निकुन्ज, अपी र सैपाल हिमाल, महाकाली नदी, सेती नदी, आलिताल, बेतकोट ताल, दोधारा चाँदनी यहीं छन् । उग्रतारा, घटाल स्थान, परशुराम, शैलेश्वरी, त्रिपुरासुन्दरी, निगलासैनी, बढीमालिका, लिङ्गा लगायतका शक्तिपीठ यसै प्रदेशमा छन् । अजयमेरुकोट, अमरढी किल्ला, अछामको रानी महल, दार्चुलाको कोट आदी यहाँका ऐतीहासिक महत्व बोकेका स्थल हुन ।

त्यस्तै हिमाली क्षेत्र दाुर्चला, बझाङ र बाजुराका हिमाली भेगमा बहुमूल्य यार्सागुम्बा पाइन्छ । पाँचआंैले, केशरलगायतका अमूल्य जडिबुटी यहाँ छन् । कैलाली र कञ्चनपुर तराईका दुई जिल्लामा धान, गहुँ, दाल लगायतका खाद्यान्न उत्पादन राम्रो छ । यहाँको उत्पादनले प्रदेश नम्बर ७ लाई खाद्यान्नमा आत्मनिर्भर बनाएको छ । पहाडी जिल्लामा स्याउ, सुन्तलालगायतका फलफूल, अदुवा तथा तरकारीको राम्रो उत्पादन हुने गरेको छ ।

घना वनजंगल क्षेत्र पनि प्रदेश ७ को समृद्धिको महत्वपूर्ण आधार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये ३९.६ प्रतिशत वनले ओगटेको छ । प्रदेश ७ मा ९ हजार ४ सय ७६.६९ वर्ग किलोमिटर वन क्षेत्र रहेको छ, जुन ४८.५ प्रतिशत हो । राष्ट्रिय क्षेत्रफलको दाँजोमा प्रदेश नम्बर सातमा ९ प्रतिशत बढी वन क्षेत्र छ । त्यसैले यदी सबैतिर सडक सञ्जाल विस्तार गर्न सके तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सके सबैभन्दा धनी प्रदेश बन्नेछ प्रदेश नं ७ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*