डोटीमा नगर स्तरीय प्रथम मेयर कप भलिबल सुरु

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार १७:२२

झलक पाली/सुदूरखबर
डोटी, बैशाख ११ । डोटीको पहिलो नगरपालिका दिपायल सिलगढी नगरपालिका स्तरीय प्रथम मेयर कप भलिबल मंगलबारदेखि सुरु भएको छ । सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला भलिबल संघ डोटीको आयोजनामा सिलगढीको टुँडिखेलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नगरप्रमुख मञ्जु मलासीले उद्घाटन गरेकी हुन् ।

  

प्रतियोगिता अन्तरगत प्रथम टिमलाई नगद ५१ हजार सहित कप, मेडल, ट्रफी र प्रमाण पत्र, द्वितिय टिमलाई नगद ३१ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र र तृतिय टिमलाई २१ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्रको व्यवस्था रहेको जिल्ला भलिबल संघका महासचिव राजबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै उत्कृष्ट स्ट्राईकर, ब्लकर, लिफ्टर र डिफेन्सर एक÷एक जना खेलाडीलाई ट्रफी र प्रमाण पत्रले सम्मान गरिने र एक जना सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफी, प्रमाण पत्र र नगद सहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

लिगकम नक आउट चरणमा खेलाईने प्रतियोगितामा नगरपालिकाका नौ वटै वडाका टिमको सहभागिता रहेको छ । नगरपालिका भित्र रहेका भलिबल खेलाडीहरुको पहिचान गरी नगर स्तरीय प्रभावकारी भलिबल खेलाडीको टिम बनाउन यस प्रतियोगिताको परिकल्पना गरिएको नगरप्रमुख मलासीले बताइन् ।

विगतका वर्षहरुमा साविकका स्थानीय निकायहरुबाट खेल क्षेत्रमा पर्याप्त बजेट व्यवस्था हुन नसकेकोमा अहिले नगरपालिकाले खेल क्षेत्रलाई पनि योजनामा राखेर कामको थालनी गरेको भन्दै खेलप्रेमीहरुले प्रशंसा पनि गरेका छन् ।

पहिलो खेलमा वडा नं. ४ सँग वडा नं. ६ को टिम पराजित
दिपायल सिलगढी नगरपालिका स्तरीय प्रथम मेयर कप भलिबल प्रतियोगिता अन्तरगत पहिलो खेलमा वडा नं. ४ सँग वडा नं. ६ को टिम पराजित भएको छ ।

अहिले वडा नं. ५ र वडा नं. ८ को टिमबिच प्रतिष्पर्धा भइरहेको छ । लोकतन्त्र दिवसको अवसर पारी पूर्व राष्ट्रिय खेलाडी एवं जिल्ला भलिबल संघ डोटीका संरक्षक कर्णप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित प्रतियोगिता यहि बैशाख १३ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*