डोटीमा काफलसँग रचना वाचन

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार १०:५९

झलक पाली/सुदूरखबर
डोटी, बैशाख २६ । साहित्य आफैमा सिर्जनाको सागर हो । जहाँ हरेक कुराको संयोजन नयाँ शिराबाट गर्ने गरिन्छ । त्यसैभित्र थप सिर्जनात्मक रुपमा डोटीमा एक कार्यक्रम सम्पन्न भएको छ –‘काफलसँग रचना वाचन ।’

डोटी गजल मञ्च र नेपाली लेखक संघ डोटीको संयुक्त आयोजनामा डोटीको दिपायलमा मंगलबार अबेर साँझ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागिहरुले नेपाली साहित्य वाङ्मयका अग्रज सर्जक तथा सञ्चारकर्मी डा.नवराज लम्सालका शुन्दर सिर्जना र प्रख्यात जंगली फल काफलको सम्मिश्रण सहितको भरपूर स्वाद लिएका थिए ।

साहित्य लेखनका क्रममा विश्व सम्पदा सूचिमा सूचिकृत पर्यटकीय क्षेत्र खप्तड सयरका क्रममा लम्साल डोटी पुगेको मौकामा उक्त रोचक कार्यक्रमको आयोजना गरिएको हो । रचनात्मक शैलीमा आयोजित कार्यक्रम र स्थानीय (डोटेली) भाषामा पस्किएका सिर्जनाले नेपाली साहित्यका साथै डोटेली सँस्कृतिको समेत जगेर्नामा टेवा पुग्ने डोटी बहुमुखी क्याम्पसका प्राध्यापक एवं डोटेली भाषाका अनुसन्धाता डा.बद्रीशर्मा बिनाडीले बताए ।

कार्यक्रममा बोल्दै डोटीको बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले कला, साहित्य क्षेत्रको संरक्षण, संवद्र्धनका लागि स्थानीय तहबाट हुनसक्ने सहयोगका लागि प्रतिवद्धता जनाउँदै निरन्तर रुपमा सिर्जनात्मक कार्यक्रम आयोजनाका लागि सुझाव दिए । डोटी गजल मञ्चका अध्यक्ष पवन महराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दर्जनौं डोटेली साहित्यिक श्रष्टाहरुले आ–आफ्ना रचना पस्केका थिए ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*