पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफविरुद्ध देशद्रोहको मुद्दा

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १०:५६

काठमाडौं, जेठ १ । सन् २००८ मा भएको मुम्बई आक्रमणका विषयमा विवादास्पद बयान दिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफविरुद्ध लाहौर उच्च अदालतमा सोमवार देशद्रोहको मुद्दा दायर गरिएको छ ।

यो मुद्दा राजनीतिक दल पाकिस्तान अवामी तहरीकका खुर्रम नवाज गण्डपुरले दर्ता गरेका हुन् । यसमा लेखिएअनुसार, शरीफको बयान राष्ट्रिय सुरक्षा र राज्यका संस्थाविरुद्ध छ ।

निवेदनमा भनिएको छ, ‘नवाज शरीफको बयान देशद्रोह समान छ । उनका विरुद्ध देशद्रोहको मामिला दर्ता गर्ने निर्देश दिनुपर्छ ।’ एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार, निवेदनमा शरीफबाहेक संघीय गृहमन्त्री एहसान इकबाललाई पनि विपक्षी बनाइएको छ ।

पूर्व प्रधानमन्त्री शरीफले वैशाख २९ गते डन पत्रिकासँगको अन्तर्वार्तामा आतंकवादी संगठनहरू पाकिस्तानमा सक्रिय रहेको र मुम्बई आक्रमण जस्ता घटना रोक्न सकिने बताएका थिए । उक्त आक्रमणमा १६६ भारतीय र विदेशी नागरिक मारिएका थिए ।

उनले भने, ‘हामीले आतंकवादीलाई सीमा पार गरेर मुम्बईमा मान्छे मार्नका लागि जान दिन हुन्छ ?’ उनले प्रस्ट रूपमा मुम्बई आक्रमणमा मारिएका मानिसको सन्दर्भ दिँदै १० पाकिस्तानी आतंकवादीहरूलाई जिम्मेवार ठह–याए । यसमध्ये एक आतंकवादीलाई पक्राउ गरिएको थियो र पछि फाँसी दिइएको थियो । नवाजको यो बयानले पाकिस्तानमा हल्लाखल्ला मच्चिएको थियो । पाकिस्तानी सेना यो बयानका कारण अत्यन्तै क्रुद्ध रहेको बताइएको छ ।

  • एजेन्सी
प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*