तपाईका लागि ग्रहगोचर,धनलाभ,माया-प्रेम, शभ-अशुभ,शुख-दुःख २०७५ साल जेठ माहिना के कस्तो रहेको छ जानकारी लिनुहोस …

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १६:११

२०७५ साल ज्येष्ठ महिनाको समग्र ग्रहगोचर

ज्येष्ठ महिनाको सङ्क्रान्ति मङ्गलवार परेको छ र सूर्यको राशि सङ्क्रमणको समयमा मिथुन लग्न तथा कृष्णपक्षको अमावस्या तिथि रहेको छ । समग्र ग्रह परिवेश यस्तो रहने छ – सूर्यले ज्येष्ठ महिनाभरि बृष राशिमा विचरण गर्ने गर्दछन् । यस महिनामा चन्द्रमाका अतिरिक्त बुध र शुक्र ग्रहले पनि राशि परिवर्तन गर्ने सङ्केत छ । बक्री अवस्थामा रहेका बृहस्पति र शनिश्चर ग्रह पूरा महिना बक्री नै रहने छन् र तीमध्ये बृहस्पति ग्रहको तुला राशिमा र शनिश्चर ग्रहको धनु राशिमा उपस्थिति रहने छ भने मङ्गल ग्रह आफ्नो उच्च राशि मकर राशिमा विचरण गर्नेछ । त्यसबाहेक बुध ग्रह १० गतेसम्म मेष राशिमा बसी त्यसपछि बृष राशिमा प्रवेश गर्नेछ । त्यस्तै सुरुमा मिथुन राशिमा रहेको शुक्र ग्रह यस महिनाको २५ गतेपछि कर्कट राशिमा प्रवेश गर्नेछ । अन्य ग्रहहरूमध्ये कर्कट राशिमा राहु र मकर राशिमा केतु ग्रहको विचरण यथावत् रहने देखिन्छ । महिनाको ११ गतेपछि पूरा महिना बुधादित्य योग रहने छ भने मकर राशिमा महिनाभरि मङ्गल र केतुको युतिसम्बन्ध कायम हुनेछ ।

यस्तो ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना अनुकूल समय रहने छैन । सङ्क्रान्ति मङ्गलवार परेकाले राता चिजबिज गहुँ, मुसुरो आदि अन्नादिको मूल्यमा बृद्धि हुनेछ । एकआपसमा विवाद, झगडा र कलहको वातावरण बन्नेछ, जसले आममानिसको मानसिकतामा द्वेष र प्रतिशोधको भावना उत्पन्न हुने देखिन्छ । सेयर कारोबारमा अचानक मन्दी देखिनसक्छ । कतैकतै रोगव्याधि र महामारी फैलन सक्छ । अचानक गर्मी बढ्ने र कतैकतै तातो हावा र लु चल्ने सम्भावना पनि देखिंदैछ । राजनैतिक क्षेत्रमा विश्वासको सङ्कट उत्पन्न हुनसक्छ । राजनैतिक निर्णय र कारबाहीमा विलम्ब हुनेछ । शनिश्चरको बक्रता एवं मङ्गल र केतुको युतिसम्बन्ध रहेकाले आँधीबतासको प्रकोप, आगजनी, विस्फोट, सवारी दुर्घटना, विमान दुर्घटना, वज्रपात जस्ता अशुभ सङ्केत देखा पर्नेछन् ।

ज्येष्ठ महिनाको मासिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

धनभावमा रहेको सूर्य र बुधको प्रभावले शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ । त्यसैले तपाईंले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । आर्थिक दृष्टिले कमजोर समय छ । नचिताएको ठाउँमा खर्च बृद्धि हुने वा धनमाल हराउने चोरी हुने योग छ । बोलीले विपरीत अर्थ प्रदान गर्नेछ, स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । भाग्येश बृहस्पति सप्तम भावमा बक्री अवस्थामा रहेकाले दाम्पत्य जीवन र लेनदेनको कारोबारका कारण मानसिक तनाव झेल्नुपर्ने हुन्छ । घरका बृद्ध सदस्यको स्वास्थ्यस्थितिमा उतारचढाव आइरहन्छ । यद्यपि राशिस्वामी मङ्गल कर्मक्षेत्रमा उच्च गृहमा रहेकाले लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । सामान्यतया यस महिनाको ०६, ०७, १४, १५, १६, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

महिनाको प्रारम्भमा आफ्नै राशिमा सूर्यको तथा धनस्थानमा राशिस्वामी शुक्रको उपस्थिति भएकाले यो महिना धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन मिल्नेछ । दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । तपाईं कर्मचारी हो भने बढुवा वा प्रशंसाको अवसर मिल्नेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । चिट्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुने सम्भावना छ । विपरीत परिस्थितिलाई संयमतापूर्वक सामना गरिनेछ । घरपरिवारमा कुनै माङ्गलिक कार्यको आयोजना हुनसक्छ । विपरीत लिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । घरायसी सुखसुविधा बढाउने भौतिक सामाग्रीका निम्ति धनव्यय हुनेछ । घरायसी नातागोताका व्यक्तिहरूको जमघट हुनेछ । तपाईंले यस महिनाको ०१, ०८, ०९, १७, १८, १९, २७ र २८ गते सचेतता अपनाएको जाति हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

बाह्रौं भावमा सूर्य तथा आठौं भावमा मङ्गल र केतु ग्रहको उपस्थिति हुने भएकाले अनुकूल महिना देखिंदैन, यस समयमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउने छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल रहने छैन । एकआपसमा तनाव उत्पन्न हुनसक्छ, नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ । यद्यपि महिनाको १० गतेसम्म राशिस्वामी बुध ग्रह राज्यस्थानमा रहने हुँदा केही शुभफल प्राप्त हुनसक्छन् । यस अवधिमा इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । तर त्यसपछि परिस्थिति विपक्षमा नै रहने देखिन्छ । खासगरी तपाईंले यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, १९, २०, २१, २९ र ३० गते अलि सतर्क र चनाखो हुनु आवश्यक छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

महिनाको प्रारम्भमा राज्यस्थानमा राशिस्वामी चन्द्रमाका साथमा सूर्यको उपस्थिति भएकाले समस्त इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि यो श्रेष्ठ समय हो । व्यापार÷व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । पूर्णरूपेण कर्मशील भइने छ । वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिका साथको सम्बन्धमा सुधार आउने छ । पारिवारिक वातावरण संतोषप्रद रहनेछ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । तर सातौं भावमा मङ्गल र केतुको उपस्थिति भएको हुँदा सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ । पारिवारिक जीवन सुखद हुनेछैन । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । विशेष गरी यस महिनाको ०४, ०५, १२, १३, १४, २२, २३, २४ र ३१ गते तपाईंका त्यति गतिला दिन हुने छैनन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कर्मक्षेत्रमा राशिस्वामी सूर्यको उपस्थिति भएकाले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने र कर्मक्षेत्रको परीक्षणको समय हो । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । भाग्येश मङ्गलको प्रभावले यस समयमा सुखभोग गर्न पाइने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । जागिरेले बढुवा वा प्रशंसाको अवसर पाउने छन् भने व्यापारीको कारोबारमा विस्तार हुनेछ । धनसम्पत्तिको लाभ हुने सम्भावना छ । पारिवारिक वातावरण पनि सुखद हुनेछ । पेसा र व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन तथा शत्रुदमन गर्न प्रयास गरिने छन् । कर्मक्षेत्रमा बढी खट्नु पर्ने भएकाले शारीरिक क्षमतामा कमी भएको र थकानको अनुभूति भने हुनसक्छ । वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ । सामान्यतया यस महिनाको ०६, ०७, १४, १५, १६, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

महिनाको प्रारम्भमा भाग्य भावमा बुधादित्य योग बनेको छ, त्यसैले यो महिना श्रेष्ठ समय रहने छ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । आयक्षेत्रमा उल्लेखनीय बृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि वा विलासिताका सामाग्री खरिद गर्दा धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । यद्यपि महिनाको सुरुको दश दिन राशिस्वामी बुधको अष्टम भावमा उपस्थिति रहने हुँदा बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस समयमा सावधान हुनु आवश्यक छ । तपाईंले यस महिनाको ०१, ०८, ०९, १७, १८, १९, २७ र २८ गते सचेत र संयम भएको राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

चतुर्थ भावको मङ्गल र अष्टम भावको सूर्य भएकाले जेठ महिना तपाईंका लागि अनुकूल हुन सक्दैन, यसको प्रभावले अचानक विविध समस्या देखा पर्न सक्छन् । विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । घरायसी सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ पाउन गाह्रो देखिन्छ । आर्थिक रूपले समेत राम्रो समय देखिंदैन । खर्चको मात्रा पनि बढ्ने छ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आकस्मिक धनहानिको सङ्केत पनि छ । तर डराइहाल्नु पर्दैन, राशिस्वामी शुक्रले महिनाको अधिकतम समय भाग्यस्थानमा बसेर शुभफल प्रदान गर्नेछ । खास गरी यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, १९, २०, २१, २९, र ३० गते तपाईंका लागि अनिष्ट समय रहने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सप्तमभावमा रहेको सूर्यले तपाईंलाई मानसिक रूपले तनावग्रस्त र अस्वस्थ बनाउने सम्भावना देखिन्छ । यो महिना त्यति अनुकूल समय रहने छैन, कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । व्यवसायिक÷व्यापारिक क्षेत्रमा रहेका नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । घरपरिवारभित्रकै वादविवाद, झैझगडा र समस्याहरू बढ्न सक्छन् । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । यद्यपि पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । यसबाहेक व्यर्थका काममा समेत अल्मलिनु पर्नेछ । बोलीलाई नियन्त्रण गर्नु राम्रो हुन्छ । तर राशिस्वामी मङ्गल उच्च गृहमा रहेकाले मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । नातागोता, खासगरी दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । सामान्यतया यस महिनाको ०४, ०५, १२, १३, १४, २२, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

तपाईंका लागि यो जेठ महिना उपयोगी छ, जे गरे पनि सफलता हात पर्नेछ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । नयाँनयाँ उद्यम र इलममा संग्लग्न हुनु पर्ने छ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । तर दोस्रो घरमा रहेको मङ्गल र केतु, आफ्नै राशिमा रहेको बक्री शनि तथा आठौं भावको केतुले तपाईंमाथि गिद्धे दृष्टि लगाएर बसेका छन्, त्यसैले ससाना कुरामा झैझगडा मानसिक तनाव बढ्नसक्छ । प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । मनमा टुसाएको भ्रमले भयङ्कर मनोविकृतिलाई निम्त्याउन सक्छ । धनमालको नोक्सानी र चोरीको सम्भावना पनि छ । सचेत संयम हुँदै होस राखेर अघि बढ्नु जायज हुनेछ । खासगरी यस महिनाको ०६, ०७, १४, १५, १६, २४, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पाँचौं भावको सूर्यले शुभफल नै प्रदान गर्नेछ, तर आफ्नै राशिमा रहेका मङ्गल र केतु तथा बाह्रौं भावमा रहेको राशिस्वामी शनिश्चरको समेत मूल्याङ्कन गर्दा यो महिना मिश्रित फलदायी महिना देखिन्छ । प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । चिन्तनमननमा बढी निर्लिप्त हुनु हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । तर सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु राम्रो हो । पारिवारिक झमेला बढ्नाले मानसिक तनावमा बृद्धि हुनेछ । भाग्येश बुध चतुर्थभावमा रहेकाले केही शुभ परिणाम प्राप्त हुनेछन् । कार्यशैलीमा गम्भीरता आउने छ । पारिवारिक वातावरणमा सुधार आउने छ । मातापितासित सुमधुर सम्बन्ध रहने छ । विलासिताका सामग्रीमा खर्च बढ्ने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । घरपरिवारमा कुनै शुभ संस्कार सम्पन्न हुने सङ्केत पनि छ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १७, १८, १९, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

यो महिना कडा मिहिनेत र परिश्रम गर्ने योग छ । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । दुर्घटनाको सामान्य सम्भावना छ, त्यसैले सवारीसाधन हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु बेस हुनेछ । उता बाह्रौं भावमा रहेको मङ्गलको प्रभाव पनि अनुकूल हुँदैन । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । खर्चको मात्रामा बृद्धि भइरहन्छ । राशिस्वामी शनिश्चर पनि राज्यस्थानमा बक्री अवस्थामा छ, त्यसैले अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ । अनियमित र बेठिक कामका कारण चिन्तित बन्नु पर्नेछ । सनक र उन्मादबाट प्रेरित भएर गरेको कामकाजबाट हानि पुग्नेछ र गहिरो सङ्कटमा फँस्न सक्नुहुन्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, १०, ११, १२, १९, २०, २१, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

तपाईंका लागि यो महिना राम्रो रहने छ । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना छ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । दार्शनिकता प्रति झुकाव बढ्ने छ र स्वभावमा गम्भीरता प्राप्त हुनेछ । रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने छ । तर राशिस्वामी बृहस्पति अष्टम भावमा बक्री रहेकाले असुरक्षाको भावना विद्यमान रहने छ । मानसिक चिन्ताका कारण कष्ट हुनेछ । मस्तिष्कलाई आराम हुनेछैन । खासगरी यस महिनाको ०४, ०५, १२, १३, १४, २२, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।

जोतिशसाथीबाट साभार

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*