व्यापारीले नै फोहर गरे बैतडी सदरमुकाम ‘गोठलापानी’

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १८:३७

विनोद सिंह विष्ट/सुदूरखबर
बैतडी, जेठ २ । भनिन्छ समाज सुधार्नमा समाजका हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ । तर, समाजका केहि व्यक्तिहरुले आफ्नो जिम्मेवारी बहन नगर्दा सर्वसाधरणले विभिन्न समस्याहरुले झेल्नुपर्ने हुन्छ । यस्तै भएको छ बैतडीमा । बुधबार बिहान नगरपालिकाले ट्याक्टर नपठाएको भन्दै गोठालापनी बजारका व्यपारीहरुले सडकमै फोहर फाल्दा सर्वसाधारणलाई समस्या मात्रै भएन् ।

बैतडी सदरमुकाम आउने पाहुँना समेत अचम्ममा परे । बुधबार बिहान बैतडी जिल्लाको सदरमुकाम गोठलापानी फोहरै फोहरले भरिएको थियो । त्यो अरु कसैले होइन यहाँका व्यपापारिहरुलेनै फालेको फोहर हो ।

बजारलाई सुन्दर, सफासुग्घर र पर्यटकको आँखामा भिज्ने किसमको बनाउन बजार व्यवस्थापन समिति, व्यापारीहरु र सम्बन्धित नगरपालिकाको भूमिका उतिक्कै हुन्छ । तर यहाँ यस्तो भएन् । दुई दिनसम्म नगरपालिकाले फोहर नउठाएको झोकमा स्थानीय व्यापारीहरुले मिलेर सम्बन्धित निकायलाई जानकारीनै नगराई गोठलापानी चौराहा र बिच सडकमै फोहर मिल्काइ दिए । यस्ले बजारको गरिमालाई समते प्रभाव पारेको बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिपेस शाहाको भनाइ छ ।

फोहरलाई व्यापारी र सम्बन्धित नगरपालिका दुबैले मिलेर व्यवस्थापन गर्नुपर्ने ठाँउमा दशरथचन्द नगरपालिका र व्यापारीहरुले आफ्नो जिम्मेवारी बहन नगरेको उनको भनाइ छ ।

बिहानै सडकमा मिल्काईएको जथाभावि फोहरले स्थानीय सर्वसाधारण निकै समस्यामा परेका थिए । यस्मा सम्बन्धित नगरपालिका र बजार व्यवस्थापन समिति जिम्मेवार बन्नुपर्ने समुराई होटलका म्यानेजर हरिस जोशीको भनाइ छ । दशरथचन्द नगरपालिकाको फोहर उठाउने टिप्पर बिग्रिएकाले भाडामा ट्याक्टर लिएर फोहर उठाउने काम गरेको भएपनि व्यपारिहरुले गैरजिम्मेवारपन देखाएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले स्थानीय व्यापारी र बजार व्यवस्थापन समितिलाई जानाजान बजारमा फोहर फालेको आरोप लगाएको छ । सम्बन्धित नगरपालिकालाई जानकारी नगराईकन यसरी बिच सडकमा फोहर मिल्काउनु व्यपारीहरुको गैरजिम्मेवारीपन भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले बताएका छन् ।

‘आफ्नो समस्याको बारेमा नगरपालिकालाई जानकारी नगराईकनै सिधै सडकमा फोहर फालिदिएँ ।’ थापाले भने । नगरपालिकासंगको प्रतिसोध साध्न व्यपारिहरुले गरेको यस्तो काम घृणीत भएको सदरमुकाम स्थित कामका लागि आएका डम्बर विष्टको भनाइ छ । बैतडीका व्यापारीहरुसंग बाहिरबाट आएका व्यक्तिहरुलाई कसरी स्वागत सत्कार गर्ने र कसरी आफ्नो व्यापार प्रवर्धन गर्ने भन्ने सैली नभएको उनको गुनासो छ ।

‘धन्न बिकेन्द्रिकरण हुनाले हामीले अहिले धेरै यहाँ आउनु परेको छैन् । यहाँका व्यापारीहरुको र्दुव्यवहार धेरै पटक सहिसके ।’ छोराको नागरिकता बनाउन पञ्चेश्वर गाँउपालिकाबाट सदरमुकाम आएका जगेन्द्र चन्दले भने । तर, व्यापारीहरुले भने नगरपालिकाले फोहर उठाउन लापर्वाही गरेकाले फोहर सडकमा फालिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*