प्रदेश ७ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार ०८:४३

काठमाडौं, जेठ ३० । धनगढी- प्रदेश नम्बर ७ को सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले यही जेठ २६ प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि जेठ २७, २८ र २९ गते छलफल भएको थियो।

नीति तथा कार्यक्रमसहित सम्बोधनका लागि प्रदेशसभाको बैठक प्रदेश प्रमुखलाई धन्यवादको प्रस्ताव मंगलबारको बैठकमा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित भएको हो।

फाइल तस्वीर

यसअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले आफूहरु नयाँ अभ्यासमा रहेकाले सिक्दै-सिकाउँदै अघि बढ्नुपर्ने अवस्था रहेकाले प्रदेशको विकास र समृद्धिलाई सबैको साझा प्रयासबाट अघि बढाउने सोच रहेको बताए।

सरकारले ल्याएको नीति तथा कार्यक्रम स्पष्ट रहेको र कुनै गोलमटोल नगरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले समयमै बजेट खर्च हुन नसकी असारमा मात्र आएर खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न यससम्बन्धी विधि र कानुन निर्माण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा प्रतिपक्षी सदस्यले उठाएको चालू आर्थिक वर्षको बजेट रकम खर्चसम्बन्धी प्रश्नको जवाफमा मुख्यमन्त्री भट्टले प्रचलित ऐन कानुनको परिधिभित्र रहेर बजेट खर्च भइरहेको र यसको विवरण समयमै आउने बताए। नीति तथा कार्यक्रममाथिको बाँकी छलफलमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, चुनकुमारी चौधरी, अर्चना गहतराज र तारा लामा तामाङले भाग लिएका थिए।

बैठकको प्रारम्भमा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल गरेका थिए। असार १ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

  • रासस
प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*