अपि नाम्पा संरक्षण क्षेत्र प्रचार प्रसारको अभावमा ओझेलमा (फोटोफिचर)

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार ११:२०

लोकेन्द्र प्रशाद जोशी/सुदूरखबर
दार्चुला, जेठ ३० । दार्चुलाका ५ गाउँपालिका र महाकाली नगरपालिकाको केहि भू–भाग गरी १९०३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अपि नाम्पा संरक्षण क्षेत्रमा चालू आर्थिक बर्षको १० महिनामा ३६ जना विदेशी पर्यटक भित्रिएका छन् ।

यस क्षेत्रमा साउनदेखि फागुनसम्म ९ जना तथा चैत्र महिनामा २७ जना पर्यटक आएसँगै कुल ३६ जना पर्यटक संरक्षण क्षेत्र भित्र प्रवेश गरेका छन् । कार्यालयका अनुसार यसअघि आर्थिक वर्ष ०७२/०७३ मा ११ महिला र १८ जना पुरुष गरी २९ जना, र आर्थिक वर्ष ०७३/०७४ मा ९ महिला र १८ पुरुष गरी २५ जना विदेशी पर्यटक अपि नाम्पा संरक्षण क्षेत्रमा भित्रिएका थिए ।

अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने पर्यटकीय स्थलहरुमा घुम्नको लागि आउँने विदेशी पर्यटकहरुको संख्यामा विगतको तुलनामा बृद्धि हुँदै गएपनि अपेक्षित रुपमा पर्यटकहरुको आगमन हुन सकेका छैनन् । यहाँको हिमाल, तालतलैया, जडिबुडी, वन्यजन्तु तथा संस्कृतिको अध्ययन अनुसन्धानको लागि विदेशी पर्यटक भित्रिने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका ६ ओटा स्थानीय तहमा पर्ने साविकका २१ वटा गाविस समेटेर संरक्षण क्षेत्र २०६७ सालमा स्थापना भएको हो । ब्यास, अपिहिमाल, नौगाड, मार्मा, दुहु गाउँपालिकाको अधिकासं भुभाग तथा महाकाली नगरपालिकाको केहि क्षेत्रमा फैलिएको संरक्षण क्षेत्र धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रहरु र प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ ।

पर्यटकहरुको मन लोभ्याउने थुप्रै जीवजन्तु, प्राकृतिक स्रोत साधनले भरीपूर्ण भएपनि यातायातको असुबिधा, पर्यटकीय पदमार्गको अभाव, दक्ष गाइड र उपयुक्त बसोबासको व्यवस्था, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार अभाव लगायत कारणले पर्यटकहरु अपिनाम्पा संरक्षण क्षेत्रमा पुग्न सकेका छैनन् । जिल्लाकै एकमात्र गोकुलेश्वर बिमानस्थलको सञ्चालन, पर्यटकीय पदमार्ग निर्माण र राष्ट्यि अन्तरराष्टियस्तरमा प्रचार प्रसार हुनसके प्रयटकहरुको लागि उचित गन्तब्य अपिनाम्पा संरक्षण क्षेत्र हुने निश्चित छ ।

दार्चुलाको ७ हजार १ सय ३२ मिटर उचाइको अपि हिमाल, ६ हजार ७ सय ५७ मिटर उचाइमा रहेका नाम्पा हिमाल, ६ हजार ८ सय ५० मिटर रहेको कापाचुली हिमाल, जेठबुहारी, व्यास हिमाल, लगायतका उच्च हिमऋखंला यहाँ छन् । अपि हिमाल गाउँपालिकामा रहेका अपि हिमाल वरिपरीका क्षेत्रहरुमा घुम्नको लागि मात्रै बढि पर्यटक भित्रिनेगरेको छन् ।

दार्चुलाको अपि हिमालमा पहिलो पटक सन् १९६० मा आरोहण गरिएको रेकर्ड छ । तर पछिल्लो समय अपि हिमाल आरोहणमा रोक लगाइएको छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र दुर्लभ वन्यजन्तु, हिउँ चितुवा, कालो भालु, कस्तुरी मृग, घोरल, नाउर, झारल, बाँदर, दुम्सी, व्वासो, लगुंर थार लगायतका २५ प्रकारका स्तनधारी वन्यजन्तु पाइन्छ ।

केहि समय अघि व्यासमा गरिएको सर्वेक्षणले अपि नाम्पा संरक्षण भित्र हिउँ चितुवा रहेको पुष्टि भएको थियो । यसैगरी अपि नाम्पा संरक्षण क्षेत्र भित्र डाफे, मोनाल, चीर, चिल, च्याखुरा लगायतका २ सय ४३ प्रजातिका चराहरु पाइने गरेको अध्ययनले देखाएको छ ।

संरक्षण क्षेत्र भित्र बहुमूल्य जडिबुडि यार्सागुम्बा, जटामसी, सुगन्धवाल, लौठ सल्ला, बोझो, वन लसुन, पाचऔले, कटुकी लगायतका ७५ प्रकारका जडिबुडीहरु पाइने गरेको छ । प्रचार प्रसार अभावले पछिल्लो समय पर्यटक भित्र्याउन खाले गतिविधी हुन नसकेको स्थानीय बताउँछन् ।

दार्चुलाको अपि हिमालको रुट मात्रै पुन सुचारु गर्न सके यहाँको पर्यटकीय गतिविधिले निरन्तरता पाउने देखिन्छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको क्षेत्रमा पहिलो प्रयास स्वरुप अपिहिमाल गाउँपालिकाले पर्यटकीय क्षेत्रको सम्भावना खोजी र पहिचान गराउने नीति लिएको छ ।

पर्यटक र पर्वतारोहीहरूका लागि सबैभन्दा छोटो रुटका रूपमा दार्चुलाको गोकुलेश्वर हुँदै लटिनाथ, गुल्जर, घुसाको रुट रहेको छ । हालको अपि हिमाल गाउँपालिकाको घुसा बाट डेढ दिनमै सजिलै अपि हिमाल वेस क्याम्प पुगिन्छ । विगत देखि नै यहि रुट भएर पर्यटकहरु यस क्षेत्रमा जाने गरेका छन् ।

अपी हिमाल आरोहण गर्न अप्ठेरो हिमाल नभएपनि यस हिमालसम्म पुग्ने बाटो र बाटोमा पर्यटकलाई आवश्यक पर्ने होटेल तथा अन्य सुविधा नभएकाले अपी हिमाल आरोहण गर्न कमै आउने गरेको अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताएका छन् ।

‘पर्यटकको लागि स्वच्छ होटल, पर्यटक गाइड, उनीहरुले पाउने आधारभूत सुविधाहरु बढाउन नसकेकै कारण पर्यटकको चाप बढ्न नसकेको हो ।’ उनले भने । पर्यटकहरुलाई आरोहरण, ट्रेकिङकै लागि भए पनि भित्याउन सके दार्चुलाको आर्थिक समृद्धिमा सुधार आउने सक्ने उनको भनाइ छ ।

   

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*