नेपाली खेलकुद इतिहासकै सबभन्दा सफल खेलाडी दीपक विष्टले मेसीलाई भेट्दा

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार २०:३१

नेपाली खेलकुद इतिहासकै सबभन्दा सफल खेलाडी हुन्, दीपक विष्ट । दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण पदक जितेका कीर्तिमानी तेक्वान्दो स्टार दीपक छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई मध्येका एक नेपाली खेलाडी हुन् । २०११ को ११ औं दक्षिण एसियाली खेलकुदपछि चोटले निरन्तर सताएका कारण दीपकले खेलाडी जीवनलाई निरन्तरता दिन सकेनन् तर खेलबाटै टाढिन भने सम्भव भएन । त्यसैले उनी अहिले प्रशिक्षकका रुपमा राष्ट्रिय तेक्वान्दो टिमका खेलाडीहरुलाई तिखारिरहेका छन् । अरु थुप्रै दीपक विष्ट उत्पादनको प्रयासमा दिनरात जुटिरहेका छन् ।

स्कुले जीवनमा भलिबलका राम्रा खेलाडी दीपक तेक्वान्दोमा मजैसँग जमे । तर फुटबल अर्को यस्तो खेल हो, जुन उनका लागि भलिबल र तेक्वान्दोजत्तिकै प्यारो छ । फुटबलमा पनि नेपालपछि अर्जेन्टिना उनको प्रिय टिम हो भने लियोनल मेसी मनपर्ने खेलाडी ।

किन त ?

मैदानमा मेसीले गर्ने जादुले दीपकलाई पनि विश्वभरका अरु करोडौंजस्तै उनको फ्यान बनाएको थियो । संयोग कस्तो मिल्यो भने २००४ मा संगीना वैद्यपछि २००८ को ओलम्पिकका लागि दीपकले छनोट चरण पार गरे । चीनको बेइजिङमा भएको त्यो ओलम्पिक दीपकका लागि विशेष रह्यो । उनको आफ्नै प्रदर्शनका कारण होइन । पहिलो चरणकै खेलमा पराजित भए पनि दीपकले बेइजिङबाट जीवनभरका लागि मीठो स्मरण बोकेर फर्किए । त्यही ओलम्पिकमा उनलाई मन पर्ने खेलाडी मेसीले अर्जेन्टिनी फुटबल टिमको नेतृत्व गरेका थिए । जहाँ मेसीको अर्जेन्टिनाले स्वर्ण पदक पनि जित्यो । आफूलाई मन पर्ने स्टारको टिमले जित्दाको खुसी सामान्य भए पनि दीपकले मेसीसँग भिलेज सेयर गर्न पाएका थिए । थुप्रै फोटो खिचाएका थिए । विश्वकै सबभन्दा ठूलो स्टारसँग मित्रताको मौका पाएका थिए ।

दीपककै शब्दमा त्यो उनका लागि मीठो स्मरण थियोः

खाना खाइरहेको बेला अचानक मैले मेरो नजिकैको टेबलमा अर्जेन्टिनाको जर्सी लगाएका खेलाडीहरु देखेँ । अझ घुरेर हेरेँ। हेर्दै जाँदा मलाई मनपर्ने अनुहार मेसी टेबलको कुनामा बसेर खाना खाइरहेको जस्तो लाग्यो ।

हैट, होइन होला ! संसारमा आफूलाई सबैभन्दा प्रिय लाग्ने मान्छे आफ्नो अगाडि प्रकट भएको देख्दा को चकित हुँदैन होला ? म नहुने कुरै थिएन । उनलाई देख्नासाथ मसँगै बस्नुभएका मेरा कोरियन प्रशिक्षकलाई सोधेँ, ‘यिनी मेसी होइनन् ?’

सुरुमा नचिनेको प्रतिक्रिया दिए । पछि मैले अर्जेन्टिनाको पपुलर फुटबल खेलाडी क्या भनेर सम्झाएपछि मात्र चिनेजस्तो गरे, ‘अँ, हो जस्तो लाग्यो ।’

म खासगरी नेपालको तर्फबाट ओलम्पिक खेल्न चीन पुगेको तेक्वान्दो खेलाडी । मनभित्रैबाट देशका लागि केही गर्ने चाहना थियो किनभने देशले मबाट गोल्ड मेडलको आशा राखेको थियो । गोल्ड मेडलको चाहना बोकेको मान्छे मेसीलाई देखेपछि एकछिन त्यहीँ अलमलिए । तत्काल मेरो एउटा चाहना थपियो– तर त्यो गोल्ड मेडलजत्रो त थिएन । तैपनि मेरा लागि कम महŒवको भइदिएन । संसारका कयौँ पपुलर खेलाडीहरु देख्दा पनि मलाई तस्बिर खिचाउने रहर जागेको थिएन तर मेसीलाई देख्नासाथ मेरो मन तस्बिर नखिचाइरहन मानेन ।

मेरो कोचले खाना खाइञ्जेल डिस्टर्ब नगर्न सुझाए । खाना खाएपछि सबैले प्लेट आ–आफैँ डस्टबिनमा पु¥याउने चलन थियो । मेसी उठेर डस्टबिनतिर लागेपछि म पनि उनलाई भेट्न उनीतर्फ लम्किएँ । सँगसँगै प्लेट त्यहाँ राख्यौँ । त्यसपछि मैले हल्का मुस्कुराउँदै मेसीलाई बोलाएँ, ‘एक्सक्युज मी ।’

जवाफ आयो, ‘यस प्लिज !’ उनले यति नरम भएर जवाफ दिए कि मलाई एकछिन त ऊ मेरो आफ्नै साथीजस्तो महसुस भयो, संसारकै महान् खेलाडी अर्थात् फुटबलको सुपरस्टारजस्तो मलाई लाग्दै लागेन । ‘क्यान आई टेक अ फोटो विद् यु ?’ मैले तस्बिरका लागि अनुरोध गर्दा उनले सजिलै स्वीकारे । दौडिएर गएर गुरुलाई मोबाइल थमाएर र तस्बिर खिचिदिन अनुरोध गरेँ र केही तस्बिर खिचाएँ ।

उसको र मेरो जर्सीको रङ त फरक थियो तर संयोगले एउटा कुरा भने मिलेछ– हामीले दुवैले लगाएको जर्सी एउटै कम्पनी एडिडासको परेछ । कुरा सानै थियो तर मन ठूलै भएर रमायो ।

मेसीलाई देख्नासाथ मलाई केही गिफ्ट दिन मन लाग्यो । नेपालको झण्डा रहेको ब्याच मसँग थियो । मैले मेसीलाई त्यो उपहारस्वरुप दिएँ । उनले खुसीसाथ थापे र मलाई धन्यवाद दिए । ‘सरी, आइ डन्ट ह्याभ,’ आफूसँग त्यस्तो कुनै उपहार नरहेको भन्दै माफी पनि मागे । ‘इट्स ओके’ भनेर उनलाई सहज बनाइदिएँ ।

तर मेसीको त्यस्तो रेस्पोन्सले म ऊप्रति झन् बढी प्रभावित नभइरहन सकिनँ । उनी त्यत्तिकै महान् बनेका होइन रहेछन्, मेरो मनमा यस्तैयस्तै कुरा खेल्यो । अंग्रेजी त्यति बोल्दैन रहेछन् । त्यसैले हामीबीच त्योभन्दा बढी संवाद भएन तर मैले फोटो खिचाएपछि ऊ मेसी रहेको कुरा त्यहाँ धेरैले थाहा पाए । विभिन्न देशका फ्यानहरु उनीसँग एकाएक गर्दै तस्बिर खिचाउन थाले । एकाएक तस्बिर खिचाउने भीड लाग्यो ।

मलाई संसारमा मनपर्ने दुई खेलाडीमध्ये मेसी एक हुन् । अर्को भारतीय क्रिकेटर सचिन तेन्दुल्कर हुन्, जसलाई एकपल्ट भए पनि भेट्न मन छ । मेसीलाई भेट्नुअघि त म उनको जादुमय खेलको फ्यान थिएँ । मैदानभित्र उनले देखाउने फुटबल कला र अनुशासनले मलाई सधैँ लोभ्याउँथ्यो । उनीप्रतिको सम्मान उनलाई नभेट्दै जति थियो, भेटेपछि त्यो बढेर दोब्बर भयो । उनी एकदमै शान्त, शालिन र सभ्य देखिन्थे । एकरत्ति पनि फुर्तिफार्ती थिएन ।

हामी बसेको घर र उनी बसेको घर आमनेसामने थियो । सबै जना सन् २००८ को बेइजिङ ओलम्पिकमा आ–आफ्नो देशबाट सहभागिता जनाउन आएका थिए । सबै खेलाडीलाई आयोजकले एउटै भिलेजमा राखेको थियो । १२ दिन जति त्यहाँ रहँदा सधँै मेसीलाई खाना खाने बेलामा देखिन्थ्यो । खाँदाखेरी हिँड्दाखेरीको व्यवहार नियालेर हेर्थें । ह्याङ्कीप्याङ्की व्यवहार थिएन । मान्छे फुच्चे । सबैले उनको टाउकोमा हात राखेर मुसार्दा रहेछन् । उनी केही प्रतिक्रिया दिँदैनथे, बस् मुस्कुराइरहन्थे, हाँसिरहन्थे । कहिल्यै रिसाएजस्तो महसुस भएन । एकदमै ‘कुल’ देखिन्थे । केटी फ्यानहरु छेउमा आएर तस्बिर खिचाउँथे अनि जिस्काउँथे । तैपनि उनको प्रतिक्रिया केही हुँदैनथ्यो । बस्, उनीहरुलाई हेरेर मुसुक्क हाँसिदिन्थे ।

महान् खेलाडीमा हुनुपर्ने गुण उनमा देखिन्थ्यो । जति ठूलो भए पनि उनले कहिल्यै आफू ठूलो खेलाडीजस्तो व्यवहार गरेको देखिनँ । उनलाई भेट्दा र देख्दा ‘फलेको वृक्ष निहुरिए’जस्तै लाग्थ्यो । उनको त्यस्तो लोभलाग्दो व्यवहार देखेपछि ऊप्रति मेरो सम्मान बढेको थियो र अझै कायम छ ।

त्यो ओलम्पिकमा देशका लागि गोल्ड मेडल जिताउन नसक्दा म दुःखी थिएँ तर मेसीकै अर्जेन्टिनाले गोल्ड मेडल जितेकोमा भने खुसी भएँ ।

त्यही ओलम्पिकमा मैले अरु पनि थुप्रै पपुलर खेलाडीलाई देखेँ र भेटेँ पनि । ब्राजिलका पपुलर फुटबल खेलाडी रोनाल्डिनोलाई पनि भेटेँ । ऊ अलि स्टाइलिस्ट नै थियो, ह्याङ्कीप्याङ्की नै देखिन्थ्यो । वरिपरि चार पाँच जना आउरेबाउरे लिएर हिँड्थ्यो । आफ्नै टाइपको थियो । ऊसँग पनि मैले फोटो खिचाएँ । फोटो खिचाउनासाथ मलाई हेरेर हाँस्यो अनि आफ्नो बाटो लागिहाल्यो । धेरै गफ हुन पाएन ।

मेसीसँग फोटो खिचाएपछि मैले खुसी हुँदै त्यो फोटो फेसबुकमा राखेको थिएँ । फेसबुकमा राखिएको सो तस्बिरले त्यस्तो ठूलो चर्चा पाउला भन्ने सोचेको थिइनँ । म त ओलम्पिक खेल्न गएको थिएँ, खेलको दबाबमा थिएँ । पछि नेपाल फर्किएपछि पो थाहा भयो– मेसीसँगको फोटोले यहाँ त बबालै गरेछ ! जताततै चर्चा भएछ । पत्रपत्रिकामा छापिएछ । फोटो त भयंकर भाइरल भएछ ।

सम्मानित व्यक्तिसँग भेटेर मेरो पनि सम्मान झन् बढेछ ! म मात्रै होइन, मेरा थुपै्र साथी मेसीका फ्यान थिए । सबैले सोध्थे, ‘मेसी कस्तो थियो ? के भन्यो ?’ आदिइत्यादि । अनि म उनीहरुलाई कथा सुनाउँथेँ । रमाइलै भयो । झन् फेसबुकमा त म्यासेजको आइरो नै लागेको थियो । कोही ‘यु आर भेरी लक्की’ भन्दै म्यासेज पठाउँथे, कोही ‘यु आर अल्सो आवर सुपरस्टार लाइक मेसी’ भन्दै फुर्काउँथे ।

मलाई लाग्छ, मेसीलाई भेट्न पाउनु मेरो सौभाग्य हो । यो भगवान्ले जुराइदिएको संयोग हो । जो कोहीले यस्ता महान् खेलाडीलाई भेट्न पाउँदैनन् । मैले मेरो जिन्दगीमा थुप्रै तस्बिर खिचेको छु तर मेसीसँग खिचेको तस्बिर र ओलम्पिकमा नेपालको झण्डा बोकेर खिचेको तस्बिर जति प्रेमिल र महŒवपूर्ण मलाई अरु लाग्दैन ।

मेसीसँगको फोटो मैले घरमा मात्रै होइन, पसलमा समेत ठूलो बनाएर राखेको छु । नयाँ बानेश्वर (काठमाडौं)मा मेरो ‘स्पोटर््स् युनिभर्स’ नामको खेलसामग्री पसल छ । पसलबाहिर र भित्र दुवैतिर मेसीसँगको तस्बिर राखेको छु । पसलमा आउने ग्राहकले अचम्म मान्दै सोध्ने गर्छन्, ‘मेसीलाई साँच्चिकै भेटेको हो कि एनिमेसन गरेर बना’को ?’ साँच्चिकै भेटेको भनेपछि कस्तो लाग्यो भनेर जिज्ञासासमेत राख्छन् । जे होस्, मेसीसँग खिचाएको तस्बिरले मेरो व्यापार बढाउन पनि सघाउ पु¥याइरहेको छ ।

सदाझैँ यसपल्ट पनि विश्वकपमा मेरो सपोर्ट अर्जेन्टिनालाई छ । मेसीले बार्सिलोनालाई त धेरैपल्ट जितायो एकपल्ट अर्जेन्टिनालाई जिताएको हेर्ने मन छ । देशलाई विश्वकप जिताउन नसक्दा पक्कै पनि उनको मन खिन्न भएको होला । आफ्नो देशलाई जिताउन नसक्दा कुन खेलाडीको मन नरोला र ! त्यसैले पनि यसपल्ट मैदानमा मेसीको चमत्कारले अर्जेन्टिनाले जितिदिए हुन्थ्यो मेरो प्रार्थना छ ।

  • (अनिल यादवसँगको कुराकानीमा आधारित) नागरीक न्युजबाट 
प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*