चैनपुर–ताक्लाकोट सडक निर्माणले गति लियो - Sudur Khabar
मेनु

चैनपुर–ताक्लाकोट सडक निर्माणले गति लियो

Null

बझाङ, जेठ ४ । नेपालको सबैभन्दा छोटो दूरीको त्रिदेशीय चैनपुर–ताक्लाकोट सडक निर्माणको कामले गति लिएको छ । यसै आर्थिक वर्षको अन्त्यबाट काम सुरु हुने गरी धमेनाको रुमैलीदेखि काँडाको धुलीसम्म ट्रयाक खोल्न ठेक्का प्रक्रिया सुरु भएको छ ।

भारतको सिमाना कैलालीको गौरीफन्टा र चीनको ताक्लाकोट जोड्ने यो सडकको काम अघि बढेको हो ।

‘ठेक्काको सूचना प्रकाशित भइसकेको छ । असारसम्म ठेकेदारको छनोट गरेर काम सुरु भइसक्नेछ,’ सेती लोकमार्गअन्तर्गत उत्तरखण्ड (चैनपुर–ताक्लाकोट) आयोजना कार्यालयका प्रमुख ललिजन खनालले भने, ‘चार वर्षभित्र धुलीसम्म गाडी र्पुयाउने गरी काम गर्ने योजना बनाएका छौं ।’

रुमैलीदेखि धुलीसम्मको सडक निर्माणका लागि सरकारले करिब १ अर्ब रुपैयाँ विनियोजन गरिसकेको आयोजना प्रमुख खनालले बताएका छन् ।

यो सडकको सबैभन्दा बढी चट्टानी भू–भाग भएको खण्ड यही भएका कारण ३१ किलोमिटर निर्माण लागि ४ वर्ष समय छुट्याएको र तीव्र गतिमा काम भएमा योभन्दा छोटो अवधिमा ट्रयाक खोल्ने काम सकिने आयोजना कार्यालयको अनुमान छ ।

‘चैनपुरदेखि रुमैलीसम्मको ३२ किलोमिटर सडकलाई थप चौडा बनाउने काम तीव्र गतिमा भइरहेको छ । आउने आर्थिक वर्षसम्म यो काम सकिन्छ,’ खनालले भने, ‘तलबाट सडकलाई व्यवस्थित गर्दै जाने र माथिबाट ट्रयाक खोल्दै अगाडि बढिरहेका छौं ।’

चैनपुरदेखि ताक्लाकोटसम्मको कुल लम्बाइ ९० देखि १ सय किलो मिटर अनुमान गरिएको छ । काँडाको धुलीबाट चीनको सिमाना उरै भञ्जाङसम्मको विस्तृत आयोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम भइरहेकाले त्यसपछि मात्र यो सडकको लम्बाइ यकिन हुने आयोजना कार्यालयले जनाएको छ ।

धुलीदेखि उरै भञ्जाङसम्म डीपीआर बनाउने जिम्मा पाएका परामर्शदाता कम्पनी सिल्ट, सीईआरसी र जिओकमले डीपीआरको काम पनि तीव्र गतिमा गरिरहेका छन् । यसै आर्थिक वर्षभित्र प्रतिवेदन पेस गर्ने गरी दुई टोली बनाएर सर्भे गर्ने काम भइरहेको परामर्शदाता कम्पनी जिओकमका रविभूषण झाले बताए ।

यस सडकले भारतको सिमाना कैलालीको गौरीफन्टा र चीनको ताक्लाकोट सबैभन्दा छोटो दूरीमा जोड्छ । यो सडक निर्माण भएपछि कैलाश मानसरोवर दर्शनका लागि सहज हुनेछ । – ईकान्तिपुर

Null

SIDHAREKHA ONLINE