मेनु

रेणु र देवीमध्ये कसले जित्ला भरतपुरमा ?

काठमाण्डौ जेठ ५ – शुक्रबार साँझसम्म भरतपुरका २९ वडामध्ये ९ वडाको मत गणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार मेयरमा कांग्रेसको समर्थन पाएकी माओवादी केन्द्रकी रेणु दाहाल ३ सय ४६ मतले पछाडि परेकी छन्। एमालेका देवी ज्ञवालीले १५ हजार १ सय ५५ ल्याउँदा दाहालले १४८०९ मत पाएकी हुन्।

मतगणना सुरु भएपछिका पाँच दिनमा दाहाल र ज्ञवाली अगाडि पछाडि परिरहेका छन्। यसरी निरन्तर रुपमा दुई उम्मेदवारको मत तलमाथि भइरहँदा अन्तिम मत परिणाममा कसले बाजी मार्ने हो भन्ने कौतुहलता झनै थपिएको छ। चितवनका तीन निर्वाचन क्षेत्र समावेश भरतपुर महानगरका हिजोसम्म मतगणना भएका १,२,३ र ४ वडा तीन नम्बर निर्वाचन क्षेत्रमा पर्छन्। सो क्षेत्रबाट दोस्रो संविधान सभा चुनावमा नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल विजयी भएका थिए। एमाले प्रभाव क्षेत्र भएका वडाको गणना भएकाले प्रायःजसो हिजोसम्म ज्ञवालीले अग्रता लिएका थिए। कुनैबेला त ज्ञवाली २ हजारभन्दा बढी मतले अगाडि थिए।

हिजो अबेर साँझदेखि वडा नम्बर ५ पछिको गणना सुरु भएको थियो। ५ देखि ९ सम्मका वडा निर्वाचन क्षेत्र ४ मा पर्छन्। सो क्षेत्रबाट दोस्रो संविधान सभा चुनावमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले जितेका थिए। उपनिर्वाचनमा पनि कांग्रेसकै रामकृष्ण घिमिरे विजयी भएका थिए। तिनै चार वडाको मत गणनापछि रेणुको ज्ञवालीसँगको मतान्तर घटेको हो। बिहिबार दाहाल र ज्ञवालीको मतान्तर २ हजारभन्दा बढी थियो। शुक्रबार दिउँसो एकपटक १४४ मतले ज्ञवालीलाई पछि पारेकी दाहाल साँझ ३ सय ४६ मतले पछि परेकी छन्। अब गणना हुने वडामा ज्ञवालीले दाहालसँगको मतान्तर बढाउने सम्भावना छ। अब गणना हुन लागेको वडा नम्बर १०, ११, १२ र १३ पनि एमाले सांसद पोखरेलको निर्वाचन क्षेत्रमा पर्छ। १४ नम्बर वडा कांग्रेसले जितेको ४ नम्बर क्षेत्रमा पर्ने भए पनि त्यहाँ एमालेको संगठन बलियो छ। १५ देखि २० सम्मका वडाहरु उपनिर्वाचनमा घिमिरेले जितेको क्षेत्रमा पर्छन्।

तर त्यहाँ पनि एमालेले पछिल्लो समय राम्रो प्रभाव बनाएको छ। सुशील कोइरालाले एमाले उम्मेदवारसँग १० हजार मतअन्तरले चुनाव जित्दा घिमिरेले एमालेभन्दा ३ हजार मात्र बढी भोट पाएका थिए। कोइरालासँग चुनाव लड्दा समान १० हजार मत ल्याएका माओवादी र एमालेले घिमिरे जित्दा एमालेले १७ हजार मत ल्याएको थियो भने माओवादी ६ हजारमा झरेको थियो। माओवादी कमजोर भएको ५ देखि ९ सम्मका वडामा रेणुले राम्रै मत पाएका आधारमा फेरि १५ देखि २० र वडाको मत गणना हुँदा उनका पक्षमा राम्रै मत आउने सम्भावना छ। चितवन कांग्रेसका एक नेताले भरतपुर महानगरको अहिलेसम्मको मत परिणाम अप्रत्यासित नभएको तर कांग्रेसका केही कार्यकर्ताले रेणुलाई मत नदिएको बताए। ‘माओवादीको संगठन हामीले सोचेभन्दा धेरै कमजोर रहेछ।

अर्कातिर पछिल्लो निर्वाचनमा हामीलाई भोट हालेका २५ प्रतिशत जतिले कांग्रेस माओवादीलाई भोट नदिएको देखिन्छ’, उनले भने, ‘अब चार नम्बर क्षेत्रका वडामा मत गणना हुँदा परिणाम रेणुका पक्षमा जान्छ भन्ने आशा छ।’ २२ वडा बाहेक भरतपुरका २१ देखि २८ सम्मका वडा पाँच नम्बर निर्वाचन क्षेत्रमा पर्छन्। सो निर्वाचन क्षेत्रमा दोस्रो संविधान सभा चुनावमा राप्रपाका नेता विक्रम पाण्डेले जितेका थिए।

राप्रपाकी उपमेयरकी उम्मेदवार रिना गुरुङ वडा नम्बर २१ की स्थानीय पनि हुन्। यो क्षेत्रमा पनि एमालेको प्रभाव राम्रै छ। गत संविधान सभा चुनावमा एमाले उम्मेदवार पाण्डेसँग झण्डै १५ सय मतान्तरले पराजित भएका थिए। भरतपुरको २९ वडा एमाले सांसद पोखरेल क्षेत्र नम्बर तीनमा पर्छ। त्यहाँ पनि ज्ञवालीले राम्रै मत पाउने छन्।

वडा नम्बर ९ को मत परिणामले शुक्रबार साँझ स्थगित भएको भरतपुर महानगरको अन्तिम परिणाम आउन अझै समय लाग्ने देखिन्छ। तर दुबै पक्षका नेताहरु बाँकी रहेका वडामा आफ्नो पक्षमा धेरै मत आउने र आफूले चुनाव जित्ने दाबी गरिरहेका छन्। एमालेलाई १० देखि १४ वडाको मत गणनामा ज्ञवालीले दाहालसँगको मतान्तर निकै फराकिलो पार्ने र २१ देखि २९ वडासम्म पनि उनलाई राम्रै भोट आउने भएकाले उनले जित्ने आशा छ। कांग्रेस माओवादी गठबन्धन कांग्रेसले चुनाव जितेको ४ नम्बर क्षेत्रका वडामा रेणुले अग्रता लिने त्यसलाई कायम राख्नेमा आशावादी छन्।  

-सेतोपाटी