बैतडीको तल्लोस्वराडमा नरभंक्षी चितुवाको खोजी हुँदै

प्रकाशित मिति : २७ असार २०७५, बुधबार १०:११

विनोद सिंह विष्ट/सुदूरखबर
बैतडी, असार २७ । नरभंक्षी चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसके पश्चात बैतडीको तल्लोस्वराडमा चितुवाको खोजी सुरु गरिएको छ । मानव र चितुवाबीच द्वन्द्व बढ्दै जान थालेपछि चितुवा प्रभावित क्षेत्र तल्लोस्वराड क्षेत्रमा चितुवाको खोजी जारी रहेकोे हो ।

चितुवाले मानवबस्तीमै पसेर बेलाबेलामा मानिसलाई आक्रमण गरिरहेको छ । नेपाल जैविक विवीधता अनुसंन्धान समाजको आयोजनामा नरभंक्षी चितुवाको खोजी भइरहेको हो । चितुवा पत्ता लगाउने उद्देश्यले अहिले मेलौली नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने उक्त्त क्षेत्रमा १५ वटा स्वचालीत क्यामेरा जडान गरिएको छ ।

चितुवाको आक्रमणबाट मानीसको मृत्यु भइरहने उक्त क्षेत्रमा साच्चीकै चितुवा छ कि छैन भनेर पत्ता लगाउने उद्देश्यले उक्त कार्य गरीएको वन्यजन्तु अनुसंन्धानकर्ता धिरेन्द्रबहादुर चन्दले बताएका छन् । ‘स्वचालीत क्यामेरा जडान गरीएको ३ दिनमा एउटा चितुवा क्यामेरामा कैद भएको छ ।’ उनले भने, ‘यस क्षेत्रमा सांच्चीकै चितुवा रहेको छ भन्ने प्रमाणीत भएको छ ।’

पछिल्लो समय मानव र चितुवाको द्धन्द्ध बढीरहेकाले चितुवाबाट बच्न बालबालीकाको ध्यान दिनुपर्ने र आफ्नो पनी ख्याल गर्नुपर्नेमा उनको जोड छ । यसका साथै तल्लोस्वाराड क्षेत्रमा रहेका विभिन्न विद्यालयमा जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । वि.स २०६८ साल यता तल्लेस्वराड क्षेत्रमा अहीलेसम्म चितुवाको आक्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ भने दजर्नौ घाइते भएका छन् ।

स्थानीय प्रशासनले बेलाबेलामा चितुवा मार्नको लागि उक्त क्षेत्रमा नेपाल प्रहरी परिचालन गरेको भएपनि चितुवा मार्न नसकेर फर्किने गरेको छ । चितुवाले महिला तथा बालबालिकालाई बढी आक्रमण गर्ने गरेको छ । जिल्ला वन कार्यालय बैतडीले विभिन्न समयमा गरी २ सय बढी सोलार सेट वितरण गरेको जनाएको छ ।

यसका साथै चितुवा प्रभावित तल्लोस्वाराड क्षेत्रमा सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरेको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताएका छन् ।  उनले भने, ‘तल्लोस्वराडमा २४९ सेट सोलार पाता वितरण गर्नुका साथै जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिसकेका छौं ।’

चितुवाबाट घाईते भयका लाई राहतभन्दा दिगो व्यवस्थापन तिर सम्बन्धीत निकायको ध्यान जानु आवश्यक छ । पटक पटक चितुवाले मानिसमाथि आक्रमण गरेको हुनाले त्यो चितुवा नरभंक्षी हुन सक्ने वन्यजन्तु अनुसंन्धानकर्ता चन्दको भनाइ छ । स्थानीय तहले यस विषयमा गम्भीर हुनुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*