बैतडीका सामुदायिक विद्यालय गर्दैनन् लेखा परीक्षण

प्रकाशित मिति : २७ असार २०७५, बुधबार १०:१८

विनोद सिंह विष्ट/सुदूरखबर
बैतडी, असार २७ । बैतडीका सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण नगरेको पाइएको छ । अधिकांश सामुदायिक विद्यालयहरुले लामो समय सम्म लेखा परीक्षण नगरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीले बताएका छन् ।

‘विद्यालयको हिसाबकिताब चुस्तदुरुस्त राख्न अपनाइने लेखा परीक्षण धेरै जसो विद्यालयले नगरेको पाइएको छ ।’ उनले भने, ‘विद्यालयल आँफैले लेखापरीक्षकको नाम सिफारिश गरेर शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनुपर्ने भएपनि विद्यालयहरुले त्यसो नगरेकाले इकाईले लेखापरीक्षकका लागि दरखास्त आह्वान गरेको छ ।’

विद्यालयले हरेक आर्थिक बर्षको अन्त्यमा लेखापरीक्षण प्रतिवेदन बनाउनुपर्ने कुरा शिक्षा ऐनमै उल्लेख भएको इकाइ प्रमुख अवस्थीले बताएका छन् । बैतडीमा रहेका ४१८ आधारभूत र १२३ मावि मध्ये एकदुई विद्यालयले मात्रै नियमित रुपमा लेखापरीक्षण गरेको विद्यालय निरीक्षक शंकरदत्त जोशीले बताएका छन् । सामुदायिक विद्यालयहरुले समयमै लेखापरीक्षण नगर्दा विभिन्न खालका समस्या आउने गरेका छन् ।

सामुदायिक विद्यालयहरुले समयमै लेखापरीक्षण गर्न नसक्नु शिक्षा क्षेत्रका लागि समस्या हुने जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताएका छन् । उनले भने, ‘शिक्षण संस्था पारदर्शिताको पाठ पढाउने संस्था भएकाले ती संस्थाहरुले समयमै लेखापरीक्षण गराउन आवश्यक रहेको छ ।’

सरकारको कमजोरीका कारण लामो समयसम्म पनि लेखा परिक्षण हुन नसकेको चनैराज माध्यमिक विद्यालय श्रीकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टको भनाइ छ । ‘विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा यस्तो समस्या आएको हो ।’ उनले भने, ‘लेखापालले नै शिक्षण गर्नुपर्दा समस्या बढेको हो ।’

विद्यालयको हिसाबकिताब चुस्त दुरुस्त नहुँदा पठनपाठनमा समेत अवरोध आउने गरेको स्वयं शिक्षकहरुले बताएका छन् । लेखा परिक्षण भए नभएकोबारे सम्वन्धित निकायले बेलाबेलामा अनुगमनको पाटोलाई फराकिलो बनाउनुपर्नेमा जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*