बैतडीको पुर्चौंडी नगरपालिका मदिरा निषेधित क्षेत्र घोषणा

4,322

विनोद सिंह विष्ट/सुदूरखबर।
बैतडी, साउन २४ । मदिरा सेवनले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीको पुर्चाैंडी नगरकार्यपालिकाको बिहीबार बसेको बैठकले नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

नगरपालिकाको गत माघमा सम्पन्न भएको बिशेष नगरसभाले पारित गरेको निर्णयलाई कार्यान्वयनमा लैजाने निर्णय भएको नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिएका छन् ।

नगरपालिकाभित्रका व्यापारीलाई असार मसान्तभित्र आफूसंग भएको मदिरा व्यवस्थापन गरिसक्न नगरपालिकाले निर्देशन दिएको थियो । बिहीबारको बैठकले भदौ १ गतेदेखि कसैले पनि नगरपालिका क्षेत्रभित्र मदिरा विक्रि गर्न नपाइने निर्णय गरेको र यसका लागि कार्यविधि समेत बनाइसकेको प्रवक्ता भट्टले जानकारी दिएका छन् ।

सामान्य नागरिकले मदिरा सेवन गरेमा ५ हजार, सरकारी कर्मचारी वा समाजको प्रतिष्ठित मानिसले मदिरा सेवन गरेमा १० हजार, कसैले विक्रि गरेको भेटाएमा १० हजार, गाडीमा मदिराको ओसारपोसार गरेमा १० हजार, मदिराको कसैले भारी बोकेर ल्याएमा १० हजार जरीवाना गर्ने कुरा कार्यविधिमा उल्लेख गरिएको प्रवक्ता भट्टले बताएका छन् ।

मदिरा सेवनले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेको भन्दै बैतडीका सबैजसो स्थानिय तहले मदिरा बिक्रीवितरणमा रोक लगाएका छन् । यस्तै नगरपालिकाभित्र ढुंगा गिट्टी र बालुवा उत्खननका लागि ठेक्का दिने निर्णय समेत भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
You might also like