आर्यघाटका लागि सात लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गा दान, शवको दाहसंस्कार गर्न सहज

221

कञ्चनपुर, साउन २५ । मन्दिर, विद्यालय तथा खेल मैदानका लागि प्रायःजसो जग्गा दान गर्ने गरेको पाइन्छ तर दक्षिणी क्षेत्र अन्तर्गत एक स्थानीयले शव दाह गर्ने आर्यघाटका लागि जग्गा दान गरेका छन् ।

पुनर्वास नगरपालिका–१० विकासवस्तीका स्थानीय समाजसेवी मीनबहादुर देउवाले करिब रु सात लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गा शव जलाउने आर्यघाटका लागि निःशुल्क रूपमा दान गरेका हुन् ।

देउवा परिवारले आर्यघाटका लागि जग्गा दान गरेपछि स्थानीय बासिन्दालार्ई शव जलाउन सहज भएको छ । देउवाद्वारा आर्यघाटका लागि जग्गा प्राप्त गरेपछि पुनर्वास नगरपालिकाले शव जलाउने थलो, खानेपानी धारा, करीब तीन सय जना मलामी विश्राम गर्ने पक्की टहरो निर्माण गरिएको छ ।

भौतिक निर्माणका लागि समाजसेवी पदम बहादुर थापा को अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन गरी व्यवस्थित आर्यघाट संरचना बनाइएका छन् । नगरपालिकाको आर्थिक वर्ष ०७३÷०७४ को रु पाँच लाख बजेटमा करिब तीन सय जना मलामीले विश्राम गर्न सकिने ४० मिटर लम्बाई र १८ मिटर चौडाइ पक्की टहरो, दुई वटा शव जलाउने पक्की आर्यघाट र एक खानेपानी धारा निर्माण कार्य सम्पन्न गरेका छन् । आर्यघाट निर्माण भएपछि पुनर्वास का वडा नम्बर १ देखि ११ सम्म का स्थानीय लाभावान्ति भएका छन् ।

व्यवस्थित आर्यघाट हुनु अघि मान्छे बितेपछि कहाँ लैजाने शव जलाउन कोसंग जग्गा माग्ने जस्ता चिन्ताले पिरोल्थ्यो देउवा परिवारले जग्गा दान गरेपछि त्यो समस्याबाट मुक्ति पाएको कालिका बजार व्यवस्थापन समितिका अध्यक्ष मुरली सुनारले बताएका छन् ।

आर्यघाटका लागि नगरवासी जनताले नगरपालिका मा समेत बारम्बार गुहार लाउँदै आईरहेका थिए । कामचलाउ आर्यघाटका रूपमा प्रयोग हुंदैआएको वडा नं १० स्थित दोंदा नदिको किनारमा रहेको देउवा परिवारको जग्गा उपलब्ध गराईदिन केही समाजसेवीले अनुरोध गरेपछि मीनबहादुर देउवाको नाममा रहेको पाँच कट्ठा जग्गा प्राप्त गर्न सकिएको समाजसेवी छबिलाल खनियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
You might also like