बैतडीमा जटिलतायुक्त प्रसुती सेवा बन्द

449

विनोद सिंह विष्ट/सुदूरखबर।
बैतडी, साउन २५ । जिल्ला अस्पताल बैतडीमा ६ वर्षदेखि सञ्चालनमा रहेको जटिलतायुक्त प्रसुती सेवा बन्द भएको छ । गएको ६ महिनादेखि जटिलतायुक्त प्रसुती सेवा बन्द भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

जटिलतायुक्त प्रसुती सेवा बन्द हँदा अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने अवस्था आएका आमाहरु भारत तथा जिल्लाबाहिर जान बाध्य भएका छन् । गर्भवती अवस्थामा गएको महिना सालनाल बच्चाभन्दा अगाडी रहेको थाहा भएपछी जिल्लामा उपचार हुन नसक्दा डडेल्धुरा गएको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटकी सुनिता विष्टले बताइन् ।

गर्भवती भएको ८ महिनामै व्यथा लागेको, पेटमा उल्टो बच्चा, बच्चाभन्दा सालनाल अगाडी रहेको जटिल अवस्थामा जिल्ला बाहिर गएर उपचार गराए सुनिताले भनिन्–‘जिल्लामै जटिलतायुक्त प्रसुती सेवा भएको भए बाहिर जानुपर्ने थिएन ।’

जिल्ला अस्पातलमा सञ्चालनमा रहेको जटिलतायुक्त प्रसुती सेवा बन्द भएपछि आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समस्या भएको छ । आर्थिक अवस्था ठिक भएका नागरिकले बाहिर गएर पनि उपचार गराउन सक्छन दोगडाकेदारका गणेश विष्टले भने–‘गरिब नागरिकको लागी यो निकै समस्या विषय हो, समस्या समाधानतर्फ सम्वन्धित निकायको तत्काल ध्यान जानुपर्छ ।’

अस्पतालमा कार्यरत एनेस्थेसिया असीस्टेन्टको दुई महिना अघि दुखद निधन भएकाले सेवा नै बन्द भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताएका छन् । स्वास्थ्य जस्तो अतिसम्बेदनशिल क्षेत्रमा समेत सरकार गम्भिर नहँुदा गरिव नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ ।

गएको ६ महिनायता अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने अवस्था आएका आमाहरुलाई अन्यत्र रेफर गर्नुपरीरहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । केही महिना एनेस्थेसिया असीस्टेन्ट बिरामी परेका र दुई महिना अघि निधन भएकाले एनेस्थेसिया असीस्टेन्टको अभावमा जटिलयतायुक्त प्रसुती सेवा बन्द रहेको छ । उनले भने–‘जिल्ला अस्पतालमा एनेस्थेसिया असीस्टेन्टको व्यवस्थाका लागि स्वास्थ्य सेवा विभागलाई लिखत र मौखिक रुपमा जानकारी गराएको भएपनि अहिले सम्म कुनै पहल भएको छैन ।’

सेवाका लागि जिल्ला अस्पातलमा पुगेका सेवाग्राहीलाई पनि जनशक्तिको अभावमा फर्काउनुपरीरहेको डा.बिष्टको भनाइ छ । बैतडीमा बिशेषज्ञ डाक्टरको दरबन्दी नहँुदा जटिल खालका बिरामी सीमावर्ती भारत जान बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
You might also like