मेनु

जमाना सेल्फी तिर, सँकृतिमा बिकृती फैलिदै !

पशुपति आर्यघाटको पूर्वोत्तर क्षेत्रमा सेल्फी लिइरहेका भेटिए, उदयपुर गाइघाटकी पुनम राई (१९) र काभ्रे भकुण्डेका राजीव खत्री (२१) । सेल्फी किन खिच्नुहुन्छ भन्ने प्रश्नमा उनीहरूको सहज उत्तर थियो, ‘अरू कसलाई खिच्देऊ भन्नु खै । आफैँले खिच्ने हो, पोजपोजमा ।’ यस्ता सेल्फीप्रेमीहरू आजभोलि यत्रतत्र पाइन्छन् । ‘सेल्फी’ शब्द उच्चारण नगर्ने युवा विरलै भेटिन्छन् । तर, सेल्फी के हो ? कति ठिक ? कति बेठिक ? यसबारे कमैलाई ज्ञान हुन सक्छ । सेल्फी ‘संस्कृति’ कै रूपमा भित्रिएकाले यसबारे गम्भीर अध्ययन गर्नुपर्ने मत विज्ञहरूको छ ।
के हो सेल्फी ?
अक्सफोर्ड डिक्सनरीले स्मार्टफोन वा वेबक्यामेराबाट आफ्नै तस्बिर खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने कार्यलाई ‘सेल्फी’ भनी परिभाषित गरेको छ । बीबीसीले ‘सेल्फी’ शब्द सन् २०१३ मा अघिल्लो वर्षको तुलनामा १७ हजार प्रतिशत बढी प्रयोग भएको बताएको थियो, जसका कारण अक्सफोर्ड डिक्सनरीले यसलाई ‘अक्सफोर्ड वर्ड अफ दी इयर २०१३’ घोषित गरेको थियो ।
सेल्फीको इतिहास हामीले सोचेभन्दा निकै फरक छ । इनसाइक्लोपिडियाका अनुसार सेल्फीको इतिहास डेढ शताब्दीभन्दा पुरानो छ । संसारमा पहिलोपटक अमेरिकी फोटोग्राफर रोबर्ट कार्नेलियसले सन् १८३९ मा आफ्नै कोठामा पहिलोपटक आफैँले तस्बिर खिचेका थिए, जसलाई ‘सेल्फ पोटे«ट’ भनियो । उक्त सेल्फ पोट्रेट ७० लाख पाउन्डमा लिलामी भएको बताइन्छ । त्यही सेल्फ पोट्रेट नै संसारको पहिलो सेल्फी भएको थियो । तर, बीबीसीले भने यो बहसको विषय रहेको बताएको छ ।
पछि क्यामेरामा समय सेटिङ गरी निश्चित दूरीमा उभिई फोटो खिच्ने चलन भित्रियो । अझ मोबाइलमा फ्रन्ट क्यामेराको विकास भएपछि सेल्फीले झनै विकसित रूप लियो । तर, सेल्फी शब्दको प्रयोग भने १३ सेप्टेम्बर सन् २००२ मा अस्टे«लियाबाट प्रकाशित वेबसाइट ‘फोरमएबीसी’ले पहिलो पटक प्रयोग गरेको बताइन्छ ।
सन् २०१३ देखि यो शब्दले संसारभर राज गरेको छ । सेल्फीसँगै ‘वेल्फी’ शब्दको पनि यदाकदा प्रयोग भएको पाइन्छ । समूहमा बसी तस्बिर खिच्ने प्रक्रियालाई वेल्फी भन्ने गरिएको छ । तर, यसको प्रयोग भने त्यति भएको पाइँदैन ।
नेपालका ५ चर्चित सेल्फी
नेपालमा सेल्फी युवापुस्तामा मात्रै सीमित रहेन । प्रधानमन्त्रीदेखि सामान्य नागरिकसम्मले सेल्फीको प्रयोग गरे । कतिपय सेल्फी विवादमा पनि तानिए । नेपालमा भएका केही चर्चित सेल्फीहरू यस्ता छन्ः
* पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टिमा सर्वसाधारणको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भइरहेको थियो । सोही अवस्थामा एक जनाले पूर्वप्रधानमन्त्रीको शवलाई पृष्ठभूमिमा राखेर सेल्फी लिए । सेल्फी लिइरहेको दृश्य नेपाल टेलिभिजनमा समेत देखिएको थियो ।
* २९ असोज २०७३ मा भारतको गोवा भ्रमणमा रहेका बेला भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसँग सेल्फी लिए । सो तस्बिर फेसबुक पेजमा पोस्ट गर्दा एक समय सामाजिक सञ्जालमा निकै छायो ।
* त्यस्तै चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा २७ वैशाख ०७३ मा तत्कालीन प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा विमानमा एउटै सिटमा बसी चितवन प्रस्थान गरिरहेको दृश्यलाई सेल्फीमा कैद गरियो । दाहालपुत्र प्रकाशले लिएको उक्त सेल्फी सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि विभिन्न टीकाटिप्पणी समेत भए ।
* चुनावी सभालाई सम्बोधन गर्न १० असारमा गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी ओली सम्बोधन गर्न मञ्चमा बसिरहेका थिए । त्यहाँ सेल्फी खिच्नेको ओइरो लाग्यो । समर्थक शुभचिन्तकले सेल्फी मात्रै नभई, चुम्बनसमेत गर्न भ्याए ।
* भारत भ्रमणका बेला तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेल्फी खिच्न आग्रह गरे । उनको आग्रहलाई मोदीले स्वीकार गरे । सो विशिष्ट व्यक्तिहरूको सेल्फी सामाजिक सञ्चालमा एक समय निकै छाएको थियो ।
विश्वका चर्चित ५ सेल्फी
* गतवर्ष पर्यटन सम्बन्धमा खोजविन गर्न पोर्चुगल पुगेका फ्रान्सका दुई जना पत्रकारले नुहाइरहेका पोर्चुगिज राष्ट्रपतिसँग सेल्फी खिचे । राजधानीनजिकै समुद्री तटमा भेटिएका राष्ट्रपति मार्सेलो रिबेलो द सउजासँग उनीहरूले सेल्फी खिचेका थिए, जुन निकै भाइरल भयो ।
* सन् २०१६ मा मेक्सिको सिटीमा एक महिला प्रहरीले गाडीभित्र खिचेको टपलेस सेल्फीले हंगामा मच्चाएको थियो । टपलेस सेल्फीकै कारण उनले जागिर गुमाइन् ।
* चिनियाँ प्रधानमन्त्री ली खछियाङसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मे १५ मा खिचेको सेल्फीलाई कतिपय भारतीय समाचारमाध्यमले संसारकै सबैभन्दा चर्चित सेल्फी भनी दाबी गरे । फेसबुकका संस्थापक मार्क जुकरवर्गले समेत लाइक गरेपछि थप चर्चित बन्यो ।
* पूर्वबेलायती फुटबलर एलन सेअरेनले तीन मिनेटमा एक सय ३४ जना स्कुले विद्यार्थीसँग सेल्फी खिचेर गिनिज बुकमा नाम लेखाए ।
* रुसी युवती एन्जेला निकोलाले मस्को, हङकङ र चीनका गगनचुम्बी भवन, अग्ला छाना र पुलमाथि डरलाग्दो सेल्फी लिएर सामाजिक सञ्जालमा चर्चा कमाइन् ।
सेल्फी खुशी साट्ने अवसर
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. अमर गिरी सामाजिक सञ्जालले संसारका करौडौं मानिसलाई आफ्नो विचार र अनुभूति पस्कने अवसर दिएको बताउँछन् । उनी सामाजिक सञ्जाललाई ‘सामान्य मानिसको वास्तविक लोकतन्त्र’को रूपमा पनि अथ्र्याउँछन् । ‘सामान्य मानिसले पनि आफूलाई सार्वजनिक गर्न पाएका छन्, यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ उनी भन्छन् ।
गायक अन्जानबाबु मानिसको खुशीको क्षण कैद गर्ने सकारात्मक पक्षका रूपमा सेल्फीलाई लिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘प्रायः मानिसले खुशीको क्षणमा मात्रै सेल्फी खिच्छन् । मनको कुरा अनुहारमा व्यक्त हुन्छ, जुन अरूले हेर्न सक्छन् ।’ युवा गजलकार कपिल अञ्जान सेल्फी कसैको सहाराबिना आफूलाई कैद गर्न सकिने राम्रो अवसर भएको बताउँछन् । सेल्फीलाई अवसरका रूपमा सदुपयोग गर्नुपर्ने उनको धारणा छ ।


बजार र सेल्फी
सेल्फीका लागि विभिन्न ब्रान्डका मोबाइल बजारमा उपलब्ध छन् । विज्ञापनमा देखाइने मोबाइल जति महँगो हुन्छ उति राम्रो सेल्फी लिन सकिने बताइन्छ । समाजशास्त्री केशव सिलवाल समाजमा जे बिक्छ, बजारले त्यसलाई व्यवस्थित गर्ने बताउँछन् । उनी भन्छन्, ‘समाजमा नबिक्ने कुरा बजारले उत्पादन गर्दैन ।’
बढ्दो सेल्फी मोह उपभोक्तावादी बजारको प्रभाव र परिणाम भएको बताउँदै डा. गिरी सेल्फी संस्कृतिले बजारलाई प्रश्रय दिइरहेको बताउँछन् । उनी भन्छन्, ‘आजको बजारले व्यक्तिवादी मानिसको निर्माण गरिरहेको छ ।’ सन् २०१६ अप्रिलमा प्रकाशित हिन्दी पत्रिका ‘आह्वान’मा भारतीय लेखक आनन्द समाजबाट व्यक्तिलाई कटाएर अलग गर्ने मेसिनका रूपमा प्रविधि प्रयोग भइरहेको बताउँछन् ।
२१ औं शताब्दीमा अलगावग्रस्त जीवन बिताइरहेका मानिसहरूको खाली समयबाट पनि मुनाफा कमाउने नयाँ औजारका रूपमा पुँजीवादले सामाजिक सञ्जाललाई प्रयोग गरेको उनको ठहर छ । वास्तविक दुनियाँमा साथीत्व, प्रेम, स्नेह, संवेदनशीलता जस्ता मानवीय मूल्य विलुप्त भइरहेको र त्यसको प्राप्तिका लागि मानिसहरू सामाजिक सञ्जालमा शरण लिन पुग्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘सन्तुष्टि र खुशीको खोजीमा मानिसहरू सामाजिक सञ्जालमा पुग्छन्, तर त्यो क्षणिक हुने गर्छ ।’
सेल्फीः विकृति र घटनाको कारक
ऐनाको अगाडि सर्वांग नांगो उभिएर आफ्नो संवेदनशील अंगलाई एउटा औंलाले छोपेर सेल्फी लिने प्रचलन पनि पछिल्लो समय जापानमा बढेको छ । महिलाले शुरु गरेको यो ट्रेन्डमा पुरुष पनि सहभागी हुन थालेका छन् । महिलाहरूले प्रयोग गर्ने सेक्स टोयमा सेल्फी स्टिक जडान गरेर चरम आनन्दलाई कैद गर्न सकिने सामग्रीको विश्व बजारमा विकास भएको छ ।
सेल्फीकै कारण मानिसको मृत्यु हुने संख्या बढेको छ । यसका सोखिनहरू जोखिमयुक्त स्थानमा सेल्फी लिने होडबाजीले मृत्युको शिकार हुने गरेका छन् । अग्लो भवन, रेल्वे लाइन, नदीको किनारलगायत स्थानमा सेल्फी खिच्दा दुर्घटना हुने गरेका छन् । २४ चैत ०७३ मा बर्दियाका १६ वर्षे किशोर रुपेश श्रेष्ठ कणार्ली पुलमा सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता भएका थिए । सेल्फीकै कारण गत वर्ष भारतमा २७ जनाले ज्यान गुमाउँदा प्रहरीले कतिपय स्थानमा ‘नो सेल्फी जोन’समेत घोषणा गरेको छ ।
संवेदनाहीन हुँदै सेल्फी
सेल्फीका कारण मानिसमा मानवीय संवेदना घट्दै गएको विज्ञहरू बताउँछन् । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शवयात्रामा लिइएको सेल्फीलाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । भारतको राजस्थानस्थित जयपुरमा दाइजो नल्याएको भन्दै जेठाजुबाट बलात्कृत महिलासँग महिला आयोगकी एक सदस्यले मुस्कुराउँदै लिएको सेल्फी निकै विवादमा तानिएको थियो ।
गजलकार अञ्जान यो प्रवृत्ति संवेदनाहीन हुँदै गइरहेको स्वीर्काछन् । भन्छन्, ‘मानिसहरू लाससँग सेल्फी लिइरहेका छन्, यो विकृति हो ।’ प्राज्ञ गिरीको विचारमा सम्पूर्ण प्रविधिले नै मानिसलाई आत्मकेन्द्रित र एक्लो बनाउँदै लगेको छ । यसको प्रयोगले अशोभनीय र मानिसको संवेदनालाई कम गर्दै लगेको छ । भन्छन्, ‘आफूमा बढी केन्द्रित हुनु भनेको अरूप्रतिको संवेदना कमजोर हुनु हो ।’
सेल्फीको मनोविज्ञान
सेल्फीलाई मनोविज्ञानको पक्षबाट समेत अध्ययन गरिनुपर्ने विज्ञहरूको धारणा छ । सेल्फी खिच्दा के हुने र नहुने भन्ने नै मानिसले नबुझ्ने उनीहरूको मत छ । लेखक आनन्द सेल्फी लिनुलाई मानसिक रोगको संज्ञा दिन्छन् ।पौराणिक युनानी कथा शिकारी नार्सिसस आफ्नो सुन्दरताका कारण विख्यात थिए । उनी आफ्नो सुन्दरतामा घमण्ड गर्थे । आफ्नो सुन्दरता मन नपराउनेलाई उनी असाध्यै घृणा गर्थे । एकदिन शिकार खेल्दै जाँदा उनी पोखरीमा पुग्छन् । पोखरीमा आफ्नै तस्बिर देखेर उनी यति मोहित हुन्छन् कि आफ्नै सुन्दरताले उनलाई पोखरीमा तान्छ र त्यही डुबेर मर्छन् ।
रोमका कवि ओभिडको महाकाव्य मेटामोफोर्सिसमा उल्लेखित नार्सिससको मिथक उद्धृत गर्दै कवि हाङयुग अज्ञात आजको मानिस सोही मिथकजस्तै भएको तर्क गर्छन् । उनी आजका हरेक मानिस नार्सिसस हुनुमा सेल्फीको भूमिका जिम्मेवार भएको ठान्छन् । भन्छन्, ‘सेल्फी घातक मनोदशा हो । आफूमा ज्यादा केन्द्रीकृत हुँदा मानिस नार्सिससजस्तै आफैँ सकिँदैछन् ।’ मनोविद् डा. करुणा कुँवर मानिसहरू सेल्फीकै कारण सामाजिकीरणको प्रक्रियाबाट हटेर काल्पनिक दुनियाँमा रमाइरहेको बताउँछिन् ।
उनी भन्छिन्, ‘निर्जीव दुनियाँमा मानवीयता रहँदैन । सेल्फीमा आर्कषण बढ्नु मानवीयताबाट बाहिरिनु हो ।’ अमेरिकी साइकोलजिकल एसोसियनलाई उद्धृत गर्दै उनी सेल्फीका तीन प्रकार हुने बताउँछिन् । दिनको ६ पटकभन्दा बढी सेल्फी लिई पोस्ट गर्ने क्रोनिक लत बस्यो भने त्यस्ता व्यक्तिहरूलाई थेरापी नै गर्नुपर्ने उनी बताउँछिन् ।
सेल्फीको समाजशास्त्र
सेल्फीलाई सामान्य विषयका रूपमा मात्रै लिन नहुने समाजशास्त्री सिलवालको तर्क छ । भन्छन्, ‘सेल्फीको प्रयोगभन्दा अघि प्राज्ञिक क्षेत्रमा ‘सेल्फ’को चर्चा हुँदै आएको छ । किन मानिस सेल्फको प्रस्तुति गर्न मन पराउँछ ? यसबारे विभिन्न अध्ययन भएका छन् ।’ उनी सेल्फी सामाजिक अन्तक्र्रियाकै एउटा पाटो भएको बताउँछन् । मानिसले कस्तो स्थानमा सेल्फी लिन्छन् भन्ने कुराले समाजसँग कस्तो संवाद गर्न चाहेका छन् र उनीहरू कस्तो समाजमा हुर्किएका छन् भन्ने धारणा बनाउन सकिने समाजशास्त्री सिलवालको भनाइ छ ।
समाज सामूहिकताबाट व्यक्तिवादतिर अघि बढेको लेखक प्रगति राई बताउँछिन् । सेल्फी संस्कृतिभित्र खतरनाक समस्या लुकेर मानव समाजमा घुसेको छ । समाज एक्लिँदै जाँदा विकराल समस्या आउने उनी चिन्ता व्यक्त गर्छिन् । त्यस्तै, प्राज्ञ गिरी भन्छन्, ‘आज सेल्फीकै कारण प्रतिरोधशून्य आत्मरतिमा रमाउने पुस्ता निर्माण भइरहेको छ ।’
सेल्फी प्रयोगका प्रकार
१. बोर्डर लाइन सेल्फी : दिनको तीन पटक सेल्फी खिच्ने तर सामाजिक सञ्जालमा पोस्ट नगर्ने।
२. एक्युट सेल्फी : दिनमा तीन पटक सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने।
३. क्रोनिक सेल्फी : अनियन्त्रित रूपमा सेल्फी खिच्ने र दिनको ६ पटक भन्दा बढी पोस्ट गर्ने।
स्रोत: अमेरिकी साइकोलजिकल एसोसियसन र अन्नपूर्ण पोष्ट बाट