मेनु

हरियो चुराले ल्यायो सिजनल ब्यापार ! श्रृगारको पसलमा चुरा नै चुराले झाकीझकाव !

साउन २, २०७४ डडेल्धुरा : साउन महिना सुरु भएसँगै डडेल्धुरामा हरियो चुरा र मेहेन्दीको व्यापारमा वृद्धि भएको छ। महिलाले साउन महिना भरी अनिवार्य रुपमा हरियो चुरा लगाउने परम्पराकै कारण हरियो चुरा र मेहन्दीको व्यापारमा वृद्धि भएको हो। जिल्ला सदरमुकाम डडेल्धुरामा रहेका शृङ्गार पसलहरुमा हिजोआज हरियो चुरा र मेहेन्दी लगायतका अन्य शृङ्गारिक सामानहरुको राम्रो बिक्री भइरहेको कस्मेटिक पसल बिक्रेताहरुको भनाइ छ। साउन महिनामा महिलाहरुको हरियो चुरा र पोसाक प्रतिको आकर्षण देखेर अहिले डडेल्धुरा बजारमा साउन सुरु हुनु पहिलेदेखि नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरेको पाइन्छ। सदरमुकाममा श्रृङ्गार पसलहरु सञ्चालन गर्दै आएका लक्ष्मण जोशीले साउन महिना नजिकीएसंगै आफुले मनग्य आम्दानी गरिरहेको बताएका छन्। उनले भने, ‘दैनिक रुपमा ३०–३५ हजार आम्दानी हुन्छ।’ सदरमुकाम डडेल्धुरामा आजभोलि हरियो चुरा र लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेको छ। साउन महिनामा हरियो चुरा र पोते लगाउने प्रचलनका बिषयमा कुनै तथ्य नभए पनि पछिल्लो समयमा यो एउटा फेसनको रुपमा विकास भइरहेको छ। कलेजमा पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेलो रङगको चुरा लगाउने फेसनको रुपमा विकास भएको छ। हरेक वर्ष आउने साउन महिना महिलाहरुका लागि विशेष हुने पण्डित इश्वरी जोशीको भनाइ छ। साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण मानिने जोशीको भनाइ छ। हरियो रंग प्रेम र वातावरणको प्रतिक मानिन्छ। हरियो वस्त्रलाई प्राकृतिक सम्मानका रुपमा पनि लिन सकिन्छ। त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्राकृतिक सम्मानसँग जोडेर हेर्न सकिन्छ। साउन महिनामा हरियो पोते र रातो समिश्रण गरी लगाइन्छ। अझ हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग बस्यो उति नै श्रीमानको माँया पाइन्छ भन्ने विश्वास छ। जिल्लाको मुख्य व्यापारिक केन्द्र बागबजार, तुफानडाँडा, किर्तिपुर, स्याउले र पोखरा बजार लगायतका बिभिन्न ठाँउबाट व्यापारीले हरियो चुरा र मेहेन्दीको व्यापार गरिरहेका छन। साउन महिनाभर विभिन्न गाउँ–ठाउँका विवाहित तथा अविवाहित महिलाले हरियो चुरा लगाउने गर्दछन। नेपाली बजारमा अधिकांश चुरा र मेहन्दी भारतीय बजारबाट आयात हुने गरेको छ।