प्रविधिक शिक्षाका नाममा लाखौँ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा मुद्धा, कलेजका मुख्य संचालक फरार

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १५:३८

हेमराज भट्ट/सुदूरखबर
अत्तरिया, चैत ५ । १८ महिना जेटिए कोर्ष पढाई हुने भन्दै विधार्थीहरुबाट लाखौँ रुपैयाँ ठगी गरि अन्तमा तालिम संचालन गरेको आरोप लगाउँदै सुपरलिङ्क टेकनिकल कलेज अत्तरिया विद्यार्थीहरुले संचालकका नाममा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दर्ता गराएका छन् ।

कञ्चनपुर स्थित भीमदत्तनगरपालिका महेन्द्रनगरमा मुख्य कार्यालय रहेको सुपर लिङ्क टेक्निकल कलेजका संचालकले अत्तरियामा शाखा विस्तार गरि विभिन्न विषयको पढाई हुने भन्दै चर्को रकम असुली गरी फरार रहेको विधार्थीहरुले गुनासो गरेका छन् । उनिहरुले अत्तरीयामा कृषि जेटिएको तालिम सञ्चालन गर्ने भनेर आफुहरुको भर्ना लिइएको भएपनि पछि कृषि दोस्रो तहको तालिम संचालन गरि ठगी गरेको आरोप छ ।

कलेजको मुख्य शाखा महेन्द्रनगरमा अध्यानरत विधार्थीहरुले आफूहरु ठगीएको भन्दै न्याय माग्न अत्तरियामा रहेको शाखामा पुग्दा आफुहरु ठगीएको डोटीवाट जेटिए पढ्ने भन्दै अत्तरियामा डेरा गरि सो कलेजमा पढिरहेकी रितु बोहोराले गुनासो पोखिन् । उनले आफूहरुलाई कुनै जानकारी नरहेको र यही वर्ष साउनमा भर्नाहुदा कृषि जेटिएमै फाराम भरेको भएपनि अहिले आएर कृषि तालिम तह २ भनेर पढाई भइरहेको बताइन् ।

  

महेन्द्रनगरमा रहेको कलेजले अत्तरीयामा पनि विभिन्न प्राविधिक शिक्षा दिने भनी ठगी गरेकाले आफूहरुले सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा कलेजका मुख्य संञ्चालक र अत्तरिया शाखाकि संञ्चालिकाका नाममा मुद्धा दर्ता गरेको कृषि जेटिए तर्फकि विद्यार्थी अस्मिता जेठाराले बताइन् ।

उनले आफूहरुको समय र पैसा दुबै खर्च भएकाले कलेजका संञ्चालकलाई कडा कारबाहि सहित आफ्नो सबै खर्चको क्षतिपुर्ती पाउनुपर्ने माग गरेका छन् । यता कलेज संचालक वलदेव भट्ट लामो समयदेखि फरार रहेका छन् । गत भदौँदेखि पढाई सुरु गरिएकोमा अहिले आएर तालिम मात्रै भएको भन्न थालेपछि अत्तरियामा सुरुमा ३५ जना भर्ना भएकान विधार्थीहरु मध्ये अघिकाशंले छोडेर अहिले २३ जना मात्रै विद्यार्थीहरु पढिरहेका छन् ।

महेन्द्रनगरमा रहेको कलेजले त्यहाँ रहेका विद्यार्थीहरुलाई दुई वर्षसम्म पनि सीप परीक्षणको परीक्षा नलिएको भन्दै यस अघि मुद्धा दर्ता गरि मुद्धा चलिरहेको महेन्द्रनगरमा अध्यनरत सन्तोषी शर्माले बताइन् । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर सिटीभिटीको तालिम सञ्चालनका महेन्द्रननगर ठेगाना रहने गरी अनुमति दिईएकोमा गोदावरी नगरपालिकाको बडा नं ४ को बसन्तपुरमा कलेजको नाम सुपरलिङग र ठेगाना भिमदत्त नगरपालिका महेन्द्रनगर नै राखी शाखा सञ्चालन गरिएको पाइएको छ ।

यस कलेजका मुख्य संञ्चालक फरार रहेका बेला आज जिल्ला प्रहरी कार्यालय कैलालीले मुद्धा परेका अत्तरियाकी संचालिका निर्माला विष्ट र संचालकका भाई धर्मराज भट्टलाई पक्रउ गरि थुनामा राखेको छ । उनिहरु दुबै जना अहिले पुर्वपक्षका लागी जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक सागर बोहोराले जानकारी दिएका छन् ।

उता सुपर लिंक टेक्निकल कलेजले सिटीभिटीले अनुमति दिएको पढाई मात्रै संञ्चालन गरिरहेका दाबी गर्दै आएको छ । आफूहरुसँग सवै कागज पत्र रहेको र आफ्नो कले अवैधानीक नरहेको कलेज सञ्चालकका भाई धर्मराज भट्टको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*