मेनु

एसएलसीमा ८६ प्रतिसत ल्याएर पनि १७ बर्षकै कलिलो उमेरमा आजीवन जेलको सजाय भोग्दै गरेकी मेरिना संगको कुराकानी

Loading...

काठमाडौं । “अभियुक्तलाई कर्तव्य ज्यानतर्फ जन्मकैद (२० वर्ष), अपहरणतर्फ १० वर्ष, गम्भीर प्रकृतिको अपहरण भएकोले दुई र महिलाको भएकाले थप दुई गरी १४ वर्ष कैद सजाय तोकिएको छ”, ६ वर्षअघि न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले सजाय तोक्दा भर्खर १७ वर्षकी थिइन् मेरिना शाक्य। उनलाई लाग्यो संसार रोकियो। संसार सकियो। पढाइमा तीक्ष्ण उनको प्रतिभा देखेरै नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति बाराक ओबामाको नीतिका बारेमा विश्लेषण गर्ने विद्यार्थी समूहको सदस्य उनलाई चयन गरेको थियो। तर अमेरिका हैन, अर्कै संसारमा पुगिन् उनी।

उनको उमेर र सजायको प्रकृति आकाश जमिनको फरक थियो। नेपालको कानुनले जस्तोसुकै अपराधमा पनि २० वर्षभन्दा बढी सजाय दिन मिल्दैन। शाक्यले रोएरै समय कटाइन्। तर जीवन लामो छ। जेलमा सबैभन्दा कान्छी उनी जेल जीवनमा अभ्यस्त हुन थालिन्। सुन्धारा केन्द्रीय कारागार पछाडि। घनाबस्ती बीचको पुरानो पर्खालले घेरिएको पुरानै भवन।

त्यहाँको अवस्थाले ‘महिला सुधार गृह’ को बोर्डलाई नै जिस्काइरहेथ्यो। त्यही भवनभित्रका ३ सय अस्थायीवासी मध्येकी एक युवती भेट्नु थियो । भेट्न मान्लिन् र ! मनमा शंका भए पनि लागेँ गेटतिर।गेटमा पुग्दा बर्दीसँगै बन्दुकधारी महिला घाम तापिरहेका थिए। उनीहरुसँग कुरा गर्न केही असहज लाग्यो। बर्दीधारीका बीच सामान्य पोशाकमा रहेकी एक युवती देखिइन्। म उनी भएतिर लागेँ। ‘साथी भेट्न कता जानु पर्छ?’ ‘साथी त भेट्न मिल्दैन होला तै पनि ट्राई गर्नु न’ भन्दै उनले भित्र जाने बाटो देखाइन्। म त्यतैतिर लागेँ।

गेटभित्र एक महिला प्रहरी सुन्तला छोडाउनमा व्यस्त थिइन्। ‘किन आएको?’ ‘साथी भेट्न’ भन्दै नाम लिएँ – ‘मेरिना शाक्य’। उनले मतिर घोरिँदै भनिन्, ‘यस अगाडि त कहिल्यै देखेकी थिइनँ त!’ भेट्न दिन्नन् कि क्या हो! मन चिसो भयो। ‘म विदेशमा थिएँ, बल्ल नेपाल आएकाले भेट्न आएको,’ मैले बाध्यतावश झुटो बोलिदिएँ। उनले चिट दिइन्। भित्र गएर त्यही चिट अर्की महिला प्रहरीलाई दिए लगत्तै उनले ठूलो स्वरमा बोलाइन्, ‘मेरिना शाक्य, तिम्रो साथी भेट्न आको छ।’

अघि गेटमा जसले ‘साथी त भेट्न नदेलान्’ भन्दै ट्राई मार्नु न भन्दै भित्र जाने बाटो देखाएकी थिइन्, उनै युवती पो म भएतिर आइन्। मेरिना उनै रहिछिन्। ५ फिट ३ इन्च जति उचाइ, अलिकति मोटो शरीर। पुक्क परेका गाला अनि ठूला सुन्दर आँखा। गाजल र लिपस्टिक, कपालको केही भाग अगाडि निकालेर अरु पछाडि बाटेको। रातो हुडी र नीलो पाइन्टमा थिइन् उनी। नजिकै आएर मलाई हेर्दै उनले भनिन् ‘चिन्दिनँ।’ सँगै प्रहरी पनि थिइन्। ढुकढुकी बढ्ने नै भयो।

भेट भएर पनि कुरा गर्न नसिकने भइयो भन्ने त थियो नै, ढाँटेर जेलभित्र आएको भनेर प्रहरीले केही गर्ने पो हुन् कि भनेर थप मन काँप्यो। २०६६ जेठ २२ मा अनामनगर बस्ने १९ वर्षकी ख्याति श्रेष्ठ हराइन्। ‘भाउ’ म्यागजिनमा अन्तर्वार्ता दिन घरबाट हिँडेकी उनी घर फर्किनन्। भोलिपल्ट ‘तेरे बेटी मेरे कब्जेमे हे, जिन्दा चाहिए तो १० लाख तयार रखना’ भन्ने सन्देश आएपछि उनी अपहरणमा परेको खुलेको थियो। तराईको भूमिगत समूहको नाममा फिरौती मागिएकाले महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौँ परिसरसँगै तत्कालीन प्रतिआतंकवाद निर्देशनालय समेत ख्यातिको खोजीमा खटिएको थियो।

दुई सातापछि ललितपुरको कार्यविनायक नजिकै टाउको, हातखुट्टा नभएको शरीरको भाग फेला परे पनि कसको हो पहिचान भएन। असार ७ मा सोह्रखुट्टेबाट वीरेन श्रेष्ठ पक्राउ परे। ख्यातिसँग परिचित श्रेष्ठको पक्राउपछि खुल्यो – नेपालको अपराध इतिहासकै एउटा क्रुरतम हत्या काण्डको पाटो। क्यासिनोमा जुवा खेल्दा लागेको ऋण तिर्न उनले ख्यातिको अपहरणमात्र गरेनन्, हत्या समेत गरे। वीरेनको सहयोगी खोज्दा १७ वर्षीय किशोरी फेला परिन्। उनी त्यही मेरिना थिइन्।

भाउ म्यागजिनको प्रतिनिधि बनेर ख्यातिलाई पुतलीसडकबाट नयाँबजारमा रहेको वीरेनको कोठामा लग्ने, ख्यातिको हत्यापछि सामान फाल्ने, वीरेनले ख्यातिको परिवारसँग लिएको फिरौति रकम राख्ने लगायतका घटनामा मेरिना संलग्न देखिएको भन्दै काठमाडौँ जिल्ला अदालतले वीरेनलाई मुख्य दोषी र मेरिनालाई सहयोगी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। मेरिना अहिले महिला कारागारमा बसेर त्यही कैद काटिरहेकी छिन्। मेरिनाले चिनेको छैन भने पनि पूरै अस्वीकार भने गरिनन्।

उनी त्यहीँ उभिइरहेकी थिइन्। प्रहरीकै अगाडि धेरै कुरा गर्दा बिग्रने सम्भावना धेरै थियो। अलि पर लैजान पाए कुरा गर्न सकिन्छ झैँ लाग्यो। ‘प्लिज एकछिन कुरा गरौं न’ भन्दै उनलाई प्रहरीभन्दा अलि पर जान आग्रह गरेँ। मानिन्। उनैले प्रहरीभन्दा करिब सय मिटर पर लहरै राखैको कुर्सीतिर लगिन्। मैले आफ्नो परिचय र भेट्नुको उद्देश्य बताएपछि उनी केही सहज भइन्। ‘कति ठूलो हुनुभएछ त,’ कुराकानी सहज बनाउन मैले भनेँ। ‘२४ वर्षको मान्छे ठूली हुँदैन त,’ उनले ठाडो जवाफ दिइन्। सिधै पुराना कुरा कोट्याउँदा बिच्किने सम्भावना थियो नै। ख्याति हत्या अभियोगमा पक्राउ पर्दा उनी एसएलसी दिएर बसेकी थिइन्। वातावरण सहज पार्न पढाइको कुराले सघाउन सक्थ्यो।

उसलाई नहेरी सोधेँ, ‘पढ्दै हुनुहुन्छ कि छोड्नु भयो?’ ‘एमबिएस गर्दैछु’ हौसिँदै एक्कै सासमा उत्तर दिइन्। पहिलो प्रश्नको छनौटले काम गर्‍यो। जव ख्याति हत्यामा सघाएको अभियोगमा उनी पक्राउ परिन्, त्यो बेला एसएलसी परीक्षा दिएर उनी ब्रिजकोर्स गर्दै थिइन्। अनुसन्धानका लागि उनी महानगरीय प्रहरी परिसर हनुमानढोकाको फलामेबार भित्र हुँदा एसएलसीको फलामे बार ८६.८७% ल्याएर पार गरेको खबर आएको थियो। ‘जति आतुर हुँदै रिजल्ट कुरेको थिएँ, त्यो रिजल्ट सार्वजनिक हुँदा बाँकी रहेन,’ प्रहरी हिरासत कक्षमा एसएलसीको नतिजा सुन्दाको मनस्थिति सम्झिइन् उनले।

अहिले उनी पिपुल्स क्याम्पसबाट मास्टर्स इन बिजनेस स्टडिज दोस्रो वर्षको परीक्षा दिने तयारीमा छिन्। ‘जेलमा परेको वर्ष त अब त पढेर के गर्नु भन्ने भएको थियो। एक वर्ष ग्याप भयो’, केही निराश हुँदै थपिन्,’नत्र अहिले मास्टर्स सकिन्थ्यो।’ सुरुमा उनले रोएरै समय कटाइन्। २०६७* सालमा आमाबुबाको सहयोगमा कान्तिपुर इन्टरनेशनल कलेज भर्ना भइन्। डिस्टिङ्सन होल्डर मेरिनाको सपना थियो साइन्स पढ्ने।

तर गुरु र कक्षाकोठामा हुने पढाइबाट टाढा रहेकी उनले आँटिनन्। व्यवस्थापन विषयमा भर्ना भएपछि उनी केही ढुक्क भइन्। ‘लाग्यो कम्तिमा पढाईलाई त निरन्तरता दिँदैछु।’ दिनभर रोएर वा मनमा कुरा खेलाएर बस्ने उनी अब पढ्न थालिन्। किताब, कलम र कापी पाएपछि आफूमा भएको नैराश्यतामा कमि आएको सम्झिन्छिन् मेरिना। भन्छिन्, ‘जिन्दगीमा परेर ठूलो पाठ सिकें। तर पढेर पुगेको थिएन।

प्लस टूको परीक्षा दिंदा, बल्ल सिक्ने क्रम सुरु भयो भन्ने लागेको थियो।’ उसो त आफ्नो पढाई निरन्तरता दिने निर्णय बुबा आमाको लामो संघर्षको परिणाम भएको जिकिर गर्छिन् उनी। आमाबुबाले हिम्मत हारिदिएको भए र मलाई पढ्नका लागि प्रेरणा नदिएको भए आफू आजसम्म पनि नैराश्यतामै रुमल्लिरहेको हुने अनुमान गर्छिन् उनी। प्लस टूको प्राप्ताङ्क याद गर्न सकिनन्। तर उल्लाससहित भनिन्, ‘फस्ट डिभिजनमा म्यानेजमेन्ट क्लियर गरेँ।’ गर्व गर्दै सुनाउँछिन्, ‘त्यो रिजल्ट मेरो मिहेनतको हो। एक्लै बसेर परीक्षा दिएँ। आफै पढेको भरमा।

न कसैको सारे न चोरें। मैले बुझेको थिएँ हरेक किसिमको परीक्षामा एक्लै उभिन सक्नु पर्छ, चाहे त्यो एग्जाम जीवनको होस् वा पढाइको।’ २०७० मा प्लस टूको परीक्षा सकियो। उनी सम्झिन्छिन्, आफ्नो सबैभन्दा राम्रो साथी किताब बनेको। सुरुमा उनलाई कारागारको वातावरणमा कसरी पढ्ने होला भन्ने थियो। तर आफूसँगै थुनिएकादेखि महिला प्रहरीहरुले पनि उनलाई पढ्नको लागि प्रोत्सहान दिए, हौसला दिए। सबैभन्दा राम्रो स्वअध्ययन गर्ने वातावरण दिए।

मेरिना ठूला-ठूला निस्कर्ष निकाल्न सक्दिनन् तर कम्तिमा नकारात्मक घटनाहरुले पढ्दै सिक्दै गरेकालाई असर नगरोस् भन्ने लाग्छ उनलाई। भन्छिन्, ‘समाज अझै पनि गल्ती गर्नेलाई भूल सुधार्न सिकाउनुको सट्टा गाली गरेर बस्ने स्तरमै छ जसले गर्दा मोटिभेसन नै गलत जान्छ। विशेष गरी सिक्दै गरेकाहरुमा।’ स्कूलका एकजना पनि साथी आजसम्म भेट्न नआउनु, आफन्तहरुको अनुहार स्मरणमा धमिलो हुँदै जानु, सम्झेर आउनु परको कुरा, सम्झाउन पनि आमा, बुबा र भाइबाहेक कोही नआउनु, यस्तै कुराहरु सम्झन्छिन् उनी।

मेरिना आफूले अनुभव गरेका भोगेका, सिकेका र बुझेका कुराहरुबाट पनि सकारात्मक उत्प्रेरणा दिन सकिने विश्वास राख्नसक्ने भएकी छिन्। ‘मेरो जेल जीवन जुन अवस्थाबाट सुरु भयो त्यस दिनबाट सिक्न थालें। आमाले खाजा बना छोरी भन्दा चाउचाउ उमाल्न नसक्ने म खाना बनाउन सक्ने भएँ। उपलब्धिहरुको कथा यस्तै साना साना सिकाइबाट सुरु भयो।’ ३०० महिला रहेका महिला कारागारमा बढीमा १० जना छन् आफ्नो पढाइलाई निरन्तरता दिने।

तीमध्ये मेरिना एक हुन् जो अहिले अन्य बन्दीहरुको पेशी तयारीमा सहयोग गर्ने, फर्महरु भर्न सहयोग गर्ने, निवेदन लेखिदिने। छोटो कुराकानी गर्दासमेत उनी व्यस्त देखिन्थिन्। कसैले बोलाउँथ्यो। कुनै कागजमा घोप्टिएर केही लेख्थिन्, मिले नमिलेको हेर्थिन् र फेरि नजिक आएर कुरा गर्थिन्। कान्तिपुर कलेजबाटै बिबिएस सक्काएकी उनी अहिले बन्दी कम प्रहरी सहयोगी ज्यादा लाग्छिन्। हातमा कलम र कागजपत्रहरु बोकेकी उनी खुशी देखिन्छिन्।

उनमा एउटा प्रतिबद्दता छ नकारात्मक भावनाहरुबाट टाढा बस्ने। भन्छिन्,’नराम्रो घटनाहरुले नै त राम्रो गर्ने प्रेरणा दिन्छ। थाहा हुन्छ नि त नराम्रो कामले राम्रो फल दिँदै दिँदैन भन्ने।’ काठमाडौं जिल्ला अदालतले उनलाई २० वर्षको जेल सजाय दियो। सर्वोच्चको सुनुवाई कुरिरहेकी मेरिना भन्छिन्,’जेलभित्र बसेर आफन्तहरु त कमाएकै छु। जेलभित्र पढेर कमाएको पनि छु। मेरो प्लस टू र ब्याचलर्सको सर्टिफिकेट नै मेरो सम्पत्ति हुन्।’

ब्याचलर्समा भने ५७% मात्र आएकोमा चित्त बुझेको रहेनछ उनलाई। ‘सँधै पढ्ने र बस्ने मात्र काम हुँदा पनि सेकेण्ड डिभिजन मात्र आयो’, आफैलाई सम्झाए जसरी भन्छिन्,’तर टियुको रिजल्ट प्रायको सोचे जस्तो आउँदैन भन्छन्।’ उनी आफ्नो पढाईलाई समाजको नकारात्मक धारणासँग जुध्नका लागि सञ्चय गरेको शक्तिको संज्ञा दिन्छिन्। केही आत्मविश्वाससहित बोल्छिन्, ‘अध्ययनशिलताको परिणाम काम नलाग्ने त पक्कै हुँदैन।

विगतमा जे भए भए। अब सकारात्मक परिवर्तन र परिणामको उदाहरण बन्न चाहन्छु।’ पहिले उनीमा डर थियो समाजले गर्ने टिप्पणी र उनको बारे बनाउने धारणासँग। तर उनले जेलमा बसेर धेरै घटनाहरु देखिन्, सुनिन्। आफूले बुझेको कुरा यसरी सुनाउँछिन्, ‘समाजमा नकारात्मक विषयहरुले ठाउँ चाँडै पाउने रहेछन्। सोही विषयमा भएको वा हुनसक्ने सकारात्मक परिवर्तन स्वीकार्न सक्ने निकै कम छन्। त्यसैले मैले आफ्नो ठाउँबाट परिवर्तनको लागि प्रयास गर्नुपर्छ।

आफ्नो ठाउँबाट माथि नउठी। तर नउठ्नुको अर्थ लुक्नु, भाग्नु, लजाउनु नहुँदो रहेछ।’ कारागारमा रहेर, अदालत धाएर र कागजी कामहरुमा संलग्न भएर आफूले थोरै भए पनि कानुनी विषयहरुको अध्ययन गर्न पाएको उनको दाबी छ। ‘अब एमबिएस सक्काएर एलएलबी गर्छु’, आफ्नो पढ्ने भोक अझै नमेटिएको जानकारी यसरी दिन्छिन्, ‘पढेर र परेर कहिले पनि सक्किँदैन होला। म पढेर, पर्न नहुने समस्यामा परेकाहरुका लागि धेरै गर्न चाहन्छु।’

सँधै हाँसी रहने मेरिना अरुको सहयोग गरेर थाक्दिनन्। उनीसँगै थुनामा रहेकी एक दिदी भन्छिन्,’पढ्न लेख्न मात्र होइन कुरुस काँटा चलाउन पनि जानेकी छिन्। स्वेटर, मोजा, पञ्जा बुन्न जानेकी छिन्। भान्सामा जान्ने अनि अरु विषयमा पनि उस्तै।’ दिदीले त्यति भनिसक्दा केही लजाउँदै पर हेर्छिन् उनी। ‘भूल भएका कुराहरुमा पश्चताप गर्न सक्नुले ऊर्जा दिने रहेछ’,उनको अनुभव यसरी बोल्छ,’जिन्दगीका धेरै कथनहरु समयसँगै सुनाउन अयोग्य हुने रहेछ।

तर म यहाँ बिताएको समयलाई खेर जान दिन्नँ।’ गोविन्द मैनालीको किताब ‘परिबन्दमा १५ वर्ष’ पढेर आफू धेरै प्रेरित भएको सुनाउँछिन् मेरिना। ‘म आफ्नो जेल अनुभवलाई त्यसैगरी प्रस्तुत गर्न चाहन्छु’, यसरी भन्छिन्,’लेख्नका लागि पढ्नु पर्छ। अहिले पढ्दै छु। कुनै दिन मलाई अरुले पढुन्।’ ‘जे नहुनु पर्ने त्यो भयो। मैले जानेर, बुझेर गरेको थिइनँ’, उनले भनिन्। पहिलो पोस्टबाट

loading...