मेनु

स्वर्ग भन्दा कम छैन सुन्दर सुदूर पश्चिमको प्रर्यटकिय स्थल खप्तड ।

सुदूरपश्चिमको भू–स्वर्गका रूपमा परिचित छ खप्तड क्षेत्र । प्राकृक सौन्दर्य तथा जैविक विविधताले भरिपूर्ण डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक गन्तव्य बन्न सक्नेमा दुइमत छैन । खप्तड बाबाको कुटी भएका कारण धार्मिक हिसाबले पनि महत्वपूर्ण छ खप्तड । तर, उचित प्रचारप्रसारको अभावका कारण यो क्षेत्र ओझेलमा छ । विदेशी पर्यटक निकै कममात्र खप्तड पुग्छन् । खप्तडको त्रिवेणीमा अवस्थित त्रिवेणी मन्दिर र वरपर २२ वटा पाटन छन् । पर्यटकीय गन्तव्यस्थलको ठूलै सम्भावना भएको खप्तड न्यूनतम पर्यटकीय पूर्वाधारको समेत विकास हुन नसक्दा ओझेलमा परेको हो । खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको सो क्षेत्रमा पुग्न डोटी, अछाम, बझाङ र बाजुराका प्रवेशद्वारबाट पैदल एक दिन लाग्छ ।

मेलामा आएका मानिसहरु रातभरि नाँचगान गरेर देउडा खेल्छन्। विभिन्न जिल्लाका मानिसहरुले आफूआफूमा प्रतियोगितासमेत गर्ने गर्छन्।

चारवटै जिल्लाबाट जान सकिने भए पनि खासगरी बझाङ र डोटीबाट खप्तड जान पर्यटकलाई सहज छ । पछिल्लो समय बझाङको लामा तोलासम्म कच्ची सडक पुगेकाले सो स्थानबाट खप्तड जान सहज भएको छ । फर्किंदा भने डोटीको झिँगना हुँदै सिलगढी आउन सकिन्छ । यो राउन्ड रुटले यात्रालाई झनै रमाइलो बनाउँछ । बाटोमा रहेका विभिन्न जातका फूल तथा बोटबिरुवाका कारण पनि खप्तड यात्रा रोमान्चकारी हुन्छ । आफ्नो सुन्दरता हेरिदिने पर्यटकको पर्खाइमा छ अहिले खप्तड । सगरमाथा, अन्नपूर्ण, माछापुच्छेलगायत हिमाल हेर्न पैदल यात्राका लागि विदेशी पर्यटकहरू दिनहुँ नेपाल आउने गर्छन् । तर, खप्तड हिमशृंखलामात्र नभएर थरीथरी फूलको ‘भर्जिन ल्यान्ड’ हुँदा पनि उचित प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र ओझेलमा परेको छ । पछिल्ला वर्षहरुमा बाह्य पर्यटकका लागिमात्र नभएर आन्तरिक पर्यटकका लागि पनि रोमान्चकारी पदयात्रा र प्रकृतिको मनोरम दृश्यावलोकनका लागि नेपाल प्रसिद्ध हुँदै गएको छ । वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र हिन्दूहरूको पवित्र तीर्थस्थल मानिन्छ ।

यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ । यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्तड दह, शिव मन्दिर, सहस्र लिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन् । पुराणअनुसार महादेवले खप्तडको जडीबुटीको प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ । खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरू सदियौंदेखि प्रचलित र प्रख्यात छन् । ज्येष्ठ शुक्लपक्षको गंगा दसहरा तिथिमा यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ । हजारौं तीर्थयात्री र आन्तरिक पर्यटक यहाँ पुग्छन् र त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्नुका साथै देउडा खेलेर रमाउने गर्छन् । खप्तडमा जताततै लामा अनि थुम्का भएका हरिया फाँट छन् अनि फाँटभरि पर्सियन कार्पेट ओछ्याएझैं थरीथरीका फूलहरू र तीमाथि उडिरहेका रंगीबिरंगी पुतली । चारैतिर कलमी गरेझैं लाग्ने घना जंगल ।

जंगलभित्र नौवटै रङका लालिगुराँस । घना जंगलभित्र सुगन्ध फैलाउने जडिबुटी र हरिया घाँसे मैदान । हरिया घाँसमा उफ्रिरहेका देखिने हरियो छेपारो अनि विस्तारै बग्ने त्रिवेणी खोला र खोलामा बझाङी पाहा (खप्तडमा मात्र पाइने भ्यागुता) । मौसम पनि रमाइलो छ । छिनमै वर्षात्, छिनमै हिउँ, केही बेरमै उडाउलाझैं हावाहुरी त केहीबेरमै छिप्पिँदो घाम । त्रिवेणीदेखि उत्तरतिर रहेको खप्तड बाबाको कुटी छेउमै देखिने सधैं हाँसिरहने दार्चुलाको अपि र बझाङको सैपाल हिमाल । प्राकृतिक सौन्दर्यले पूर्ण छ, खप्तड । जैविक विविधताले भरिपूर्ण खप्तड हेर्न वार्षिक करिब ५ हजार आन्तरिक पर्यटक खप्तड पुग्ने गरेको खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक यम कुँवर बताउँछन् । विदेशी भने सयजना पनि पुग्दैनन् । समुद्र सतहबाट २७ सयदेखि ३२ सय २७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ थलथले घाँसे मैदानयुक्त जमिन हो । यसलाई ०४१ सालदेखि राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो । खप्तड केवल गोठालाको चरिचरनमा मात्र सीमित छ ।

निकुञ्ज कार्यालयबाट पुर्जी काटी डोटी, अछाम, बझाङ र बाजुराका बासिन्दाहरू खप्तडको दहपाटन, बुकीदह, सेले भावर, डाँडामा अस्थायी गोठ (छाप्रा) हरू बनाएर चरिचरनका लागि बस्ने गर्छन् । चैतदेखि असोजसम्म उनीहरू आफ्ना लालाबालासहित खप्तडमै बस्छन् । कात्तिकदेखि भने निकै चिसो हुने हुँदा घर फर्किन्छन् । सरकारी क्षेत्रको मात्र भर पर्दा अहिलेसम्म खप्तडको विकास हुन नसकेको भन्दै धनगढीका पर्यटन व्यवसायीहरू तथा सोही क्षेत्रका स्थानीय अहिले खप्तडको विकासमा लागिपरेका छन् । ४ रैथानेसहित १३५ किसिमका फूल फुल्ने यो क्षेत्र प्राकृतिक इतिहासको संग्रहालय र जीवित बगैंचा नै हो । नेपालमा पाइने ७ सय मुख्य जडीबुटीमध्ये २२४ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छ । यहाँ ५६७ प्रजातिका वनस्पति र २७० जातका चराचुरुंगी छन् । खस्रे भ्यागुता र बझांगे पाहा तथा बाघबुट्टे निगालो पाइने यो नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ २२ पाटन र ५२ झोता छन् । यो १७५ प्रजातिका चराले बच्चा कोरल्ने ठाउँ पनि हो । यो क्षेत्र कस्तुरी र हिमचितुवाको पनि बासस्थान हो ।

खप्तड राष्ट्रिय निकुञ्जभित्र खाने बस्ने राम्रो व्यवस्था नभएकोले राम्रो व्यवस्थापन चाहने मानिसहरु सामान बोकाउनको लागि खच्चडको प्रयोग गर्छन्। गंगा दशहरापछि खप्तडमा लामो समय विताउन जान लागेका पूर्व युवराज पारस शाहको सामान बोक्न जाँदै खच्चडहरु।

कसरी जाने ? काठमाडौं, नेपालगन्ज र धनगढीबाट सिधै बस चढेर बझाङको सदरमुकाम चैनपुर जान सकिन्छ । काठमाडौं–धनगढी जहाजबाट पनि जान सकिन्छ । चैनपुरबाट केही पक्की बाटो हुँदै भोलिपल्ट ३२ किलोमिटर कच्ची सडक जान सकिन्छ, जसमा चैनपुुरबाट तमेल हुँदै लामातोल भन्ने स्थानसम्म गाडीमा जान सकिन्छ । होटलहरू नभए पनि लामातोलमा गएर थोरै पैसामा मिठो खाना र बास पाइन्छ । भोलिपल्ट लामातोलाबाट झरेगाउँ, दाऊगाउँ, मेलतडी हुँदैै करिब ९ घन्टाको पैदला यात्रापछि खप्तड पुगिन्छ । अहिले खप्तडमा बास बस्न केही सहज छ । खप्तड विकास समितिले एक रातममा ३२ जनासम्मलाई खान र बस्न सक्ने सुविधा दिन थालेको छ । यसले गर्दा टुर प्याकेज बनाउन चाहनेहरुलाई पनि सहज भएको छ । टेन्ट लगेर पाटनमै सुत्न पनि सकिन्छ । तर, चिसो भने निकै हुन्छ । यहाँ बास बस्न ४ वटा धर्मशाला पनि छन् । खप्तडमा कम्तीमा दुई रात बिताउन सकियो भनेमात्र मुख्य क्षेत्रहरू घुम्न सकिन्छ । खप्तडका सबै पाटन घुम्ने हो भने त ५ दिन लाग्छ । खप्तड घुमेर तेस्रो दिन डोटीको बाटो प्रयोग गरेर फर्किंदा सहज हुन्छ । ४ घन्टा हिँडेपछि बीचपानीमा खाना खाएर पुनः ४ घन्टा हिँडेपछि झिंग्राना पुग्न सकिन्छ । त्यहाँबाट गाडी चढेर सिलगढीमा बास बस्न पुगिन्छ । भोलिपल्ट धनगढी गएपछि हवाई र सडक दुवै सुविधा उपलब्ध छँदैछ ।

मेलाका बेला त्रिवेणीघाट नजिकैको पाटनमा मिठाइ पसलहरु राखिन्छ।

खप्तड यात्रा काठमाडौं–धनगढी (हवाईजहाज वा गाडी) धनगढी–चैनपुर २ सय किलोमिटर मोटरबाटो (कालोपत्रे सडक) चैनपुर–लामातोला ३२ किलोमिटर कच्ची सडक लामातोलाबाट पैदल एक दिन

खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ। यहाँ नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीघाट जस्ता पवित्र मानिने स्थल छन्।

 

खान–बस्न सुविधा गाडीमा जाने हो भने धनगढी हुँदै डडेलधुरा नपुग्दै बीचमा साइपाल रिसोर्ट छ, जसमा वाइफाई सुविधा पनि छ । खप्तडमा निकुञ्ज कार्यालय, दुइटा अतिथि गृह, खप्तड पर्यटन क्षेत्र विकास समितिद्वारा आगन्तुकको बासका लागि निर्माण गरिएको दुइटा पक्की घर, ठाउँ–ठाउँमा खाजा–नास्ताका अस्थायी पसलहरू ।

गंगादशहरामा त्रिवेणीघाटमा नुहाएर पूजा गरे पाप पखालिन्छ भन्ने जनविश्वास छ। त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ भने सरस्वती नदी गुप्त बगेको विश्वास गरिन्छ।

 

चाहिने सामान स्लिपिङ ब्याग, न्यानो ज्याकेट, रेनकोट, ऊनीको बाक्लो टोपी, बाक्लो मोजालगायत न्याना कपडाहरू । चिसो छेक्ने बडी लोसन, भिक्स, पेट काटेको, खोकी र टाउको दुखेको औषधि, हेन्डीप्लास्ट । न्यूनतम खर्च (रुपैयाँमा) काडमाडौं–धनगढी हवाई भाडा – ७ हजार काठमाडौं – धनगढी गाडी भाडा – २ हजार धनगढी – चैनपुर गाडी भाडा – १ हजार चैनपुर – लामातोला गाडी भाडा – ५ सय झिंग्राना – सिलगढी – ५ सय सिलगढी – धनगढी – ५ सय धनगढी – काठमाडौं गाडी भाडा – २ हजार धनगढी – काठमाडौं हवाई भाडा –७ हजार खान र बस्न ७ रात ८ दिनका लागि करिब – १५ हजार जम्मा खर्च (गाडीबाट) – २२ हजार जम्मा खर्च ( जहाजबाट) – ३८ हजार

@केदार दाहाल कारोवार बाट र विविसी नेपाली सेवाबाट

सरकारले वि.सं. २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएको हो, जसलाई अहिले सेनाले संरक्षण गरेको छ।

३ हजार १ सय मिटरको उचाइमा रहेको खप्तड पुग्दाको थकाइ त्यहाँ रहेका २२ वटा पाटनले मेटाउँछन् । यहाँसम्मको यात्रा सजिलो छैन । काठमाडौंबाट धनगढी अनि डडेल्धुरा, बैतडी, हुँदै बझाङको एउटा सानो गाउँ लामातौलासम्म गाडीको यात्रा गर्न दुई दिन लाग्छ ।

लामातौलामा ‘होमस्टे’ सुविधा छ । स्थानीयले खुलेरै स्वागत गर्छन् । त्यहाँबाट जंगलको बाटो, हरियाली र वर्षासँगै देखिने पानी जमेका खेतका गरा र रोपाइँको दृश्य हेर्दै यात्रा अघि बढ्छ । जंगली बाटो भएर दारुगाउँ र लोखाडा हुँदै आठ घन्टा पैदलयात्रामा पुगिन्छ खप्तड ।

पहाडको चुच्चोमा अग्लाअग्ला रूख र त्यसको फेदीमा सुन्दर हराभरा चौर यसको सुन्दरता हो । चौरमा घाँसे मैदान, मैदानमा छाडिएका घोडाहरू र चौरमा फुलेका रंगीबिरंगी घाँसेफूलले यात्रुलाई प्रकृतिसित एकाकार गराउँछन् ।

खप्तड क्षेत्र सुदूरपश्चिमका चार जिल्ला बझाङ, अछाम, डोटी र बाजुराको संगमस्थल हो । यहाँ खप्तड बाबाको कुटी, खप्तड दह, त्रिवेणी धाम, नागढुंगा र सहस्रलिङ्ग बाबाको मन्दिरजस्ता चर्चित धार्मिकस्थल छन् । गंगा दशहरा यहाँ लाग्ने यस क्षेत्रकै ठूलो मेला हो । पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि ‘भर्जिन’ छ खप्तड ।