मेनु

महाअष्ठमीको अबसरमा डडल्धुराको उग्रतारा भगवतीमा भब्यताका साथ मेला ..

१२ असोज, डडेल्धुरा । प्रदेश नम्बर ७ को प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष जस्तै यस वर्ष पनि महाअष्टमीको मेला लागेको छ । बिहीबार उग्रतारा भगवती मेलामा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका-८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा लागेको मेलामा हजारौं दर्शनार्थीहरु पूजा आराधना गर्न पुगेका छन् ।

मेलामा प्रदेश नम्बर ७ को नौ वटै जिल्ला तथा अन्य स्थान लगायत भारतका विभिन्न स्थानहरुबाट खास गरी दशैंको अवसर पारेर घरतिर आएका भक्तजन एवं धार्मिक आस्थावान नागरिक उग्रतारा मन्दिर पुग्ने गरेको स्थानीय सजन सिंह ठकुरीको भनाइ छ ।

अष्टमी मेला राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवम् आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात रहेको छ । मेलामा अम्बा, ओखर, केरा, दाडीम लगायत स्थानीयस्तरमा उत्पादित विभिन्न चिजको राम्रो व्यापार हुन्छ ।

किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको स्थानीयको भनाई छ । विजया दशमीको आठौं दिन भगवती गौरीमाताको उत्पन्न हुने दिन भएकाले हरेक वर्ष आजको दिन मेला लाग्ने पुजारी भोजराज ओझाको भनाइ छ ।

उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको छ । चैत अष्टमी, विजया दशमीको अष्टमीको दिन, विजया दशमीको दिन र कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने उग्रतारा क्षेत्र विकास समितिको सदस्य लोकराज जोशी बताए ।