मेनु

भारत, चीन र अमेरिकाका राजदूतलाई यस कारण बोलाइयो काठमाडौं

काठमाण्डौँ, असोज १९ । सरकारले दुई छिमेकी चीन, भारत र अमेरिकाका लागि नेपाली राजदूतलाई काठमाडौं बोलाएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा तीनै राजदूतलाई बोलाइएको हो। सम्बन्धित मुलुकमा रहेका राजदूतहरूले अहिलेसम्म गरेका काम र गर्नुपर्ने कार्ययोजनाबारे जानकारी लिन उनीहरूलाई काठमाडौं बोलाइएको हो।

समितिमा उनीहरूले आफ्नो काम, भूमिका, ती देशमा नेपालको अवस्था र महत्त्वबारे प्रस्तुति दिनेछन्। ती प्रस्तुतिमा मन्त्रालयसँगको समन्वय र मन्त्रालयले गर्ने ‘रेसपोन्स’ लाई समेत ध्यान दिइने जनाइएको छ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल काठमाडौं आइसकेका छन्। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय बिहीबार बिहान आइपुग्नेछन्।

नेपालको परराष्ट्र नीति छिमेकबाट नै आरम्भ हुने हुनाले दुवै छिमेकका राजदूत र विश्वशक्ति मुलुकका लागि नेपाली राजदूतलाई पहिलो चरणमा निम्त्याएर संसदीय समितिले छलफल गर्न लागेको हो। अन्य मुलुकमा समेत यस्तो अभ्यास रहेको भन्दै राजदूतहरूलाई सक्रिय बनाउन अग्रसरता देखाइएको समितिले जनाएको छ।

६० भन्दा बढी व्यक्तिसमक्ष नेपालको कूटनीतिक अभ्यासबारे प्रस्तुति गर्न लगाउने तयारी समितिको छ। कूटनीतिका कुन र कतिसम्म विषय समितिमा राख्ने भन्नेमा राजदूतहरू अलमलमा छन्। उक्त छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रका अधिकारीहरू, समितिका सदस्यहरू, सांसद र सरोकारवाला व्यक्तिहरूको सहभागिता गराउने समितिको योजना थियो।

तर प्रधानमन्त्री समितिमा उपस्थित हुने सम्भावना कम रहेको बताइएको छ। छलफलमा राजदूतहरूले आफ्ना कामको विवरणसँगै आइपर्ने समस्या, सहकार्य, मन्त्रालयको कार्यशैलीबारे समेत प्रस्तुति दिनेछन् । समितिले राजदूतहरूसँग मात्र छलफल गर्ने र छलफलमा आएका विषयलाई सरकारसमक्ष राख्नुपर्ने भए पनि सरकारका प्रतिनिधिलाई समेत छलफलमै बोलाएर सुनाउने तयारी भएको संसदीय समितिका अधिकारीले बताए।

‘पहिलो चरणमा दुई छिमेकी र शक्ति मुलुक अमेरिकाका लागि हाम्रा राजदूतलाई बोलाएर छलफल गर्न लागेका हौं। यो प्रक्रिया नियमित चल्नेछ। अन्य मुलुकको पनि आवश्यकताअनुसार बोलाइनेछ,’ समिति सभापति जेबी टुहुरेले भने, ‘यो आवश्यक थियो।

  • कान्तिपुर दैनिक