मेनु

प्रवासी युवाहरुको कदममा साथ दिने सरोकारवालाहरुको प्रतिवद्धता …

सुदूर खबर-रमेश भट्टराई, धनगढी, असोज २०
सुदुरपश्चिमको बिकासका लागि प्रवासी युवाहरु संग सहकार्य गरेर अघि बढ्ने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन । अन्तराष्टिय नेपाली सुदुरपश्चिमेली समाजको धनगढीमा शुक्रवार (आज) बाट शुरु भएको दुई दिने प्रथम अन्तराष्टिय सम्मेलनमा बोल्दै सरोकारवालाहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन ।


कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथी भक्तवहादुर बलाएरले प्रवासीमा रहेका सुदुरपश्चिमेली युवाहरु आफ्नो क्षेत्र र देशको बिकासका लागि एकजुट हुनु नै देशको बिकासको जग भएको बताउनुभयो ।

उहाले भारतमा ब्रिटीसका बिरुद्ध महात्मा गान्धीले सुरुवात गर्नुभएकोे भारत स्वतन्त्रता अभियानको स्मरण गर्दै प्रवासी युवाहरुले सुदुरपश्चिमका लागि सुरुवात गरेको यो अभियानले पनि सम्पुर्ण सुदुरपश्चिमेलीहरुको साथ पाउने बिश्वास व्यक्त गर्नुभयो । देशका अन्य क्षेत्र भन्दा सुदुरपश्चिम बिकासका दृष्टिकोणले पछाडि परेकाले पनि यसको उन्नतीका लागि प्रवासी युवाहरुको पहल कदमीले ठुलो भुमिका खेल्ने पुर्व मन्त्रि बलाएरले बताउनुभयो ।


यस्तै राष्टिय योजना आयोगका सदस्य डाक्टर रणबहादुर रावलले सुदुरपश्चिमको बिकासका लागि प्रवासी युवाहरुको लडाईमा साथ दिने बताउनुभयो । उहाले राज्यको असन्तुलित व्यबहारका कारण सुदुरपश्चिम पछाडि परेको उल्लेख गर्दै आफ्नो देशको बिकासका लागि अग्रसर प्रवासी युवाहरुको कदमलाई राज्यले सम्बोधन गर्नुपर्नेमा समेत जोड दिनुभयो । डक्टर रावलले प्रवासी युवाहरुको सिप र पुजीलाई राज्यले यथोचित सदुपयोग गर्नसके देशमा बिकासको आमुल परिवर्तन हुने समेत बताउनुभयो ।


यसैगरी कार्यक्रममा बोल्दै शिक्षाबिद डक्टर हेमराज पन्तले जन्मभुमीका प्रति प्रवासी युवाहरुको एकताले सकारात्मक सन्देश प्रवाह गरेको बताउदै स्वेदशमा रहनुभएका युवाहरुलाई समेत उहाले यो एकताका साथ दिन आग्रह गर्नुभयो ।
यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ७ का संयोजक शंकर बोगटीले सुदुरपश्चिमको बिकासका लागि प्रवासी युवाहरुको समाज संग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । सुदुरपश्चिमको बजारलाई अन्तराष्टिय बजार संग जोड्न यस क्षेत्रका व्यबशायीहरु तत्पर रहेको जिकिर गर्दै संयोजक बोगटीले राज्यले यसका लागि ठोस रणनितिका साथ सहयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो ।


कार्यक्रममा नाटाका अध्यक्ष मायाप्रकाश भट्टले सुदुरपश्चिमको बिकासका लागि सवैले अग्रसरता देखाउनुपर्ने औल्याउनुभयो । उहाले बिकासे संम्भावनाका दृष्टिकोणले सुदुरपश्चिम निकै अगाडि रहेकाले अब बोलेर भन्दा पनि गरेर देखाउनुपर्ने समय आएको समेत बताउनुभयो ।
यस्तै गरी कार्यक्रममा वरिष्ठ देउडा गायकद्धय नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, समाजका सल्लाहाकार नरेन्द्र भाट, नेपाली काग्रेस कैलालीका नृप सुनार, सुदुरपश्चिमाञ्चल एकेडेमीका अध्यक्ष योगेन्द्र शाही, अन्तराष्टिय बैदिक संस्कृति प्रचारक हरिशरण महाराज लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

अन्तराष्टिय नेपाली सुदुरपश्चिमेली समाजका उप संयोजक लोकेन्द्र बहादुर बमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सुदुरपश्चिमका संस्कृति झल्कने छलिया, होरी, हुड्के लगायतका झाँकीहरु समेत प्रर्दशन गरिएका थिए । देउडा गायक, गायिका शंकरसिंह बिष्ट, पुष्पा बोहरा, अनिता चलाउने, रेखा जोशी लगायत बिभिन्न सर्जकहरुले समेत कार्यक्रममा प्रस्तुती राखेका थिए । समाजका संयोजक भरत नेगीको सभापतित्वमा सम्पन्न पहिलो सत्रको कार्यक्रमको संचालन सदस्य सचिव अमृत शाहीले गर्नुभएको थियो । कार्यक्रममा समाजले प्रकाशन गरेको स्मारिका पहिलो अंकको समेत बिमोचन गरिएको थियो ।
दुई दिने कार्यक्रमको दोस्रो दिन शनिवार ( भोली ) प्रवासी युवाहरुले सुदुरपश्चिमको बिकासका लागि गर्न सक्ने भुमिका लगायत बिभिन्न प्रबुद्ध व्यक्तिहरुले समेत कायपत्र प्रस्तुत गरिनेछन । सम्मेलन नयाँ कार्य समति चयन गर्नुका साथै सुदुरपश्चिम घोषणा पत्र जारी गर्दै समापन हुनेछ ।