मेनु

विश्व चर्चित फुटबलर स्टार मेस्सी का जीवनमा यस्ता पनि सँकट आएका थिए …

एजेन्सी : विश्व फुटबलका फ्यान मेसीलाई सफल खेलाडी ठान्छन् । फिफा विश्वकप २०१८ मा अर्जेन्टिना छनोट भएपछि उनका फ्यानमा उत्साह झन बढेको छ । मेसीको ह्याट्रिकले अर्जेन्टिना अगामी वर्ष रुसमा हुने विश्वकपमा छनोट भएको छ ।

अन्तराष्ट्रिय खेलजीवनबाट सन्यास लिइसकेपछि पनि पुनः सन्यास फिर्ता लिएका मेस्सीका लागि यसपटक टोलीलाई विश्वकप पुर्याउन निकै ठूलो संघर्ष गर्नुपर्यो तर, उनले अन्तिम खेलमा आफ्नो मेसी पन देखाएरै छोडे ।

विश्व फुटबलमा धेरै किर्तीमान रचेका तथा पाँचपटक विश्वको सर्वोत्कृष्ट खेलाडी घोषित मेस्सीका फुटबल जीवनमा यस्तै विभिन्न कठिन क्षणहरु आएका छन् ।

मेसीको पहिलो कठिन क्षण
मेस्सीको अन्तराष्ट्रिय डेब्यु पनि स्मरण योग्य नै थियो। सन् २००५ मा डेब्यु खेल खेल्न बैकल्पिक खेलाडीका रुपमा हंगेरी विरुद्ध मेस्सी ६३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए।

डेब्यु खेलमा राम्रो छाप छोड्ने मेस्सीको चाहना थियो। तर, दुर्भाग्य उनी दुई मिनेटपनि मैदानमा टिक्न पाएनन्। कारण थियो, मेस्सीले सिधै रातो कार्ड पाए । बल अगाडी बढाउने क्रममा विपक्षी खेलाडीको मुखमा हातले हानेपछि मेस्सीले रातोकार्ड पाएका थिए। १७ वर्षको उमेरमा डेब्यू खेलमै रातो कार्ड खानु मेसीको जीवनको पहिलो संकट थियो ।

मेसीको दोस्रो संकट
फुटबलका समर्थकहरु मेस्सी र उपाधिको नजिकको साइनो भएको ठान्छन्। उनका अवार्ड र उपाधिले पनि त्यसलाई पुष्टि गर्छ। पाँच चोटी बालोन डी’ ओरसँगै चार चोटी च्याम्पियन्स लिग तथा सात चोटी लालिगाको उपाधि मेस्सीको नाममा छ। व्यवसायिक फुटबल खेल्न थालेदेखि प्रत्येक वर्ष मेस्सीले केही न केही उपाधि जित्दै आएका थिए। तर २०१३–१४ मा भने मेस्सी उपाधि विहीन रहे। लालिगाको अन्तिम प्रतिस्पर्धामा एथ्लेटिको म्याड्रिडलाई उपाधि सुम्पिनु, २०१४ मै कोपा डे रेलको फाइनलमा रियल म्याड्रिडसँग पराजित हुनु मेस्सीका लागि कठिन रह्यो। यस सिजनमा उपाधिबाट खाली हात रहेका मेस्सीले बालोन डी’ ओरको उपाधि पनि क्रिस्टियानो रोनाल्डोलाई सुम्पिनु परेको थियो। रोनाल्डाले दुवै वर्ष उनलाई पछि पार्दै विश्वको सर्वोत्कृष्ट खेलाडीको अवार्ड थापेका थिए।

मेसीको जीवनको तेस्रो संकट
विश्व फुटलबलमा मेस्सीको खेलजीवनको सवैभन्दा कठिन क्षण मध्येको एक सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजित हुँदा देखियो । खेल जीवनकै सवैभन्दा ठूलो उपाधि उचाल्ने मौकामा मेस्सी चुके र ठूलो संकटमा परे ।

प्रतियोगितामा उनलाई गोल्डन बलबाट पुरस्कृत गरिएको थियो। उक्त पुरस्कार ग्रहण गर्दा उनी लज्जित महसुस गरिरहेका थिए। प्रतियोगिताका उच्च गोलकर्तालाई दिइने उक्त अवार्ड तेस्रो संयुक्त उच्च गोलकर्ता मेस्सीलाई दिइएको थियो।

मेसीको जीवनको चौथो संकट
धेरैले मेसीको जीवन खुशी नै खुसीमा बितेको ठान्छन् । सन् २०१३ मै मेस्सीले कर छलेको आरोप लाग्दै आएको थियो। स्पेनिस अधिकारीहरुले उनी र उनका पितालाई ४.१ मिलियन युरो कर छलेको आरोप दर्ता गरेका थिए। जुन २००६ यता कै थियो। यो उनको जीवनको अर्को संकट हो ।

दुई वर्ष लामो अदालती प्रक्रिया पछि २०१६ मा अदालतले मेस्सीले कर छलेको पुष्टि गर्यो। सजाय स्वरुप उनलाई २१ महिना जेल सजाय तोकिएको थियो। स्थानिय कानुन अनुसार सो बराबरको रकम तिर्दा जेल बस्नुपर्ने नभएकाले उनी मैदानमै देखिए।

मेसीको जीवनको पाँचौ संकट
सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित हुनु मेस्सीको खेल जीवनको अर्को संकट थियो । अर्जेन्टिनाका लागि उपाधि उचाल्न नसकेपछि विक्षिप्त भएका मेस्सीले त्यसवेला खेल जीवनबाट सन्यास घोषणा गरेका थिए। पछि प्रशिक्षक तथा सहकर्मीहरुको आग्रहमा उनले सन्यास फिर्ता लिए।

यसरी हेर्दा मेसीको जीवनमा जस्तै हरेक मानिसको जीवनमा संकट आइपर्छ । तर, त्यसलाई सामना नगरी भागेमा सफलता कहिल्यै हात पर्दैन ।