मेनु

सुदूर पश्चिम प्रदेश न. ७ का भावि मुख्यमन्त्री को बन्लान ? यस्तो छ सम्भावना …

काठमाडौं, असाेज २६– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा दलहरू चुनावमा केन्द्रित छन्। ९ जिल्ला रहेको प्रदेश नम्बर ७ मा पनि उम्मेदवार बन्न तछाडमछाड छ। दलहरुभित्र प्रदेशमाकोे मुख्यमन्त्री बन्ने भन्ने विषयले पनि चर्चा पाएको छ।

प्रदेश नम्बर ७ मा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा कयौं नेता मुख्यमन्त्रीका दाबेदार देखिएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष भीम रावल र माओवादी केन्द्रका लेखराज भट्टको गृह क्षेत्र रहेको प्रदेश नम्बर ७ मा को मुख्यमन्त्री बन्ला भनेर चाँसोका साथ हेरिएको छ। यद्यपी, रावल र भट्टले केन्द्र ताकिसकेका छन्।

कांग्रेसमा केन्द्रीय सदस्य रमेश लेखक, एनपी सवद, दीलेन्द्रप्रसाद बडु र वीरबहादुर बलायरलाई मुख्यमन्त्रीको दाबेदारीको रुपमा हेरिएको छ। तर, ती चारवटै नेताको नाम प्रतिनिधिसभाकाको उम्मेदवारमा सिफारिस भएको छ।

कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरा भन्छन्, प्रतिनिधिसभाका लागि सिफारिस भए पनि पार्टीको केन्द्रले आवश्यकताअनुसार प्रदेशसभाको उम्मेदवार बनाउन सक्ने प्रावधान छ।’ प्रदेशसभामा बहुमत प्राप्त दलको नेता मुख्यमन्त्री चुनिने प्रावधान छ। अहिले चुनावी तालमेलको क्रममा रहेकाले पनि ठूला नेताले मुख्यमन्त्रीमा रुची देखाएका छैनन्।

एमालेबाट मुख्यमन्त्रीको रुपमा चर्चामा कर्णबहादुर थापा र भानुभक्त जोशीको नाम रहेको छ। थापाको नाम प्रदेशसभामा सिफारिस भएका छन्। गत मंगलबार मात्र धनगढीमा पत्रकार भेटघाट कार्यक्रम राखेका थापाले भनेका थिए, ‘पार्टीले निर्णय गर्न बाँकी छ, पार्टीले जिम्मेवारी दिएमा मुख्यमन्त्रीको उम्मेदवार बन्छु।’ एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएकाले पनि थापा मुख्यमन्त्रीका लागि हौसिएका छन्।

माओवादीबाट मुख्मन्त्रीको प्रमुख दाबेदारको रुपमा हेरिएका नेता थिए– लेखराज भट्ट। तर, उनले पनि प्रदेशमा अरुची देखाएका छन्। भट्टको नाम कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस भएको छ। उनी भन्छन्, ‘अहिले मेरो केन्द्रमै जाने इच्छा छ। प्रदेशमा नयाँ युवा आउँछन्।’ अर्का नेता खगराज भट्ट पनि डडेल्धुराबाट समानुपातिकतर्फ प्रतिनिधिससभा सदस्यमा सिफारिस भएका छन्।

माओवादीका पोलिटब्युरो सदस्य वीरभान चौधरी अहिले कसलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने भनेर नाम अघि आइनसकेको बताउछन्। उनी पनि नयाँ पुस्ताका युवा नेता मुख्यमन्त्रीको उम्मेदवार बन्ने बताउछन्।
शुभदिन बाट साभार