एभरेष्ट प्रिमियर लिग (इपीएल)ले आइसीसीकाे मान्यता पायाे

काठमाडौं : आगामी सोमबारबाट सुरु हुने प्रतिक्षित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले मान्यता दिएको छ।

एक साता अघि आइसीसी मान्यता नदिएको र नेपालका राष्ट्रिय खेलाडीहरुले खेल्न नपाउने भन्ने खबर सार्वजनिक भएपछि नेपाली क्रिकेट तरंगित बनेको थियो। तर आइसीसीको मान्यतापछि अब नेपालका राष्ट्रिय खेलाडीका साथै विदेशी खेलाडीहरुले समेत खेल्न पाउनेछन्।

इपीएलको आयोजक एभरेष्ट प्रालीले अफिसिलय फेसबुकपेज मार्फत आइसीसीले मान्यता दिएको जानकारी गराएको हो।

आयोजकले चित्तबुझ्दो रुपमा आइसीसीको रिक्वायरमेन्ट पूरा गरेका कारण इपीएललाई मान्यता दिइएको उल्लेख छ। यस्तै आइसीसीको मान्यता वापत इपीएलले आइसीसीलाई २० हजार अमेरिकी डलर तिर्नुपर्ने समेत जनाइएको छ।

नेपालको डोमेस्टिक क्रिकेट इभेन्टलाई आइसीसीले मान्यता दिएको समेत यो पहिलो अवसर हो।

आइसीसीले गत वर्ष बैशाख यता नेपाल क्रिकेट संघ क्यानलाई निलम्वनमा राखेको हुँदा नेपाली राष्ट्रिय टोलीको व्यवस्थापन समेत आइसीसीले हेर्दै आएको छ। जसले गर्दा नेपाल भित्र हुने क्रिकेट प्रतियोगितालाई आंइसीसीले स्वीकृति दिनुपर्ने यसअघि आइसीसीले जनाएको थियो।

पूर्ण रुपमा अक्सनमा आधारित, प्रत्येक टिममा ३ विदेशी खेलाडी, पहिलो पटक थर्ड एम्पाएर प्रयोग हुने, ग्राउण्डमै लाइभ ब्रोडकास्टका लागि बिग स्कृन राखिने लगायत विशेषताहरु भएको इपीएल यही डिसेम्बर १८ (पुस ३) देखी कीर्तिपुरस्थित टीयू ग्राउण्डमा हुँदैछ।

दोस्रो संस्करणको इपीएलमा काठमाडौं किंग्स एलेभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्सले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *