चमेलियाको १५ मेगावाट बिजुली जोडियो राष्ट्रिय प्रसारणलाइनमा

दार्चुला, पुस २९ । चमेलिया जलविद्युत् आयोजनाले शुक्रबारदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । ३० मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणलाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए ।

‘आज दिउँसो ३ः३५ बजे ग्रीडमा सिन्क्रोनाइज गरेका छौं’–दाहालले भने । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित् लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ ।

रु ८ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण गरिरहेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन् ।

प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारणलाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै वन्चित भएका हुन् । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युत्को पहिलो अधिकार भएपनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयवासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन ।

  • रासस
प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *