मेनु

सुदूरपश्चिमका पहाडि जिल्लाका ग्रामिण भेगमा ढिके नुनकै प्रयोग

Null

सुदुर खबर, डोटी, पुस २६ । सुदूरपश्चिमका पहाडि जिल्लाका ग्रामिण बस्तीहरुमा अझै ढिके नुनको नै प्रयोग हुने गरेको छ । यहाँका ग्रामीण भेकमा बसोबास गर्ने जनताले ढिके नुनलाई बढी मात्रामा प्रयोग गर्ने गरेका हुन् ।

ढिके नुनको सट्टा आयोडिन नुन प्रयोग गर्नाले मानव स्वास्थ्यमा गुणात्मक रुपमा बढी फाइदा मिल्ने भएता पनि यहाँका जनता ढिके नुन नै प्रयोग गर्दछन् । आफूले बारीमा फलाएको भटमास साटेर ढिके नुन लैजाने कृषकको अहिले ताँती लागेको छ ।

‘भटमास एक केजीको तीन केजीसम्म ढिके नुन साट्न पाइन्छ, मूल्य कम छ, गाईवस्तुलाई खुवाउनका निम्ति सजिलो छ,’ डोटीको चवरा चौताराका कृषक चक्र बमले भने । पहिलेदेखि नै ढिके नुनको प्रयोग गर्ने गरेका कारण उपभोग गर्न पनि सजिलो लाग्ने उनले बताए ।

डोटीकै केदारअखडा गाविस चालिसका शेरबहादुर बम पनि करिब तीन घन्टाको पैदल यात्रा गरी पिठ्युमा भटमासको भारी बोकेर ढिके नुन साट्न चवरा पुगे । उनले ढिके नुन हामी जस्ता कृषकका निम्ति सस्तोमा पाइने हुँदा यसकै प्रयोग बढी गर्ने गरेको बताए । आयोडिन नुन पनि खाने तर ढिके नुन जस्तो स्वाद त्यसमा नभएको उनको बुझाइ छ ।

साल्ट ट्रेडिङ डोटीका बिक्रेता प्रकाश विकका अनुसार ग्रामीण भेकमा ढिके नुन बढी मात्रामा बिक्री भइरहेको छ । उनले भने, ‘मागअनुसार हामी ढिके नुन नै बढी मात्रामा पठाउँछौं । ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनता गाई, भैँसी, गोरु, बाख्रालाई खुवाउनका निम्ति पनि बढी मात्रामा ढिके नुनको नै प्रयोग गर्ने गर्दछन्,’ उनले भने ।

यस्तो अवस्था सुदूरपश्चिमका पहाडि जिल्लाका सबै ग्रामिण भेगमा रहेको छ । ग्रामिण भेगमा बसोबास गर्ने नागरिकले भटमास र बेथेसँग ढिके नुन साट्ने गर्दछन् ।

सरकारले दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ भनेता पनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ ।

Null

SIDHAREKHA ONLINE