ताजा खबर

के पृथ्वीनारायण शाह ‘राष्ट्रघाती’ हुन् ?

प्रकाशित मिति: January 10, 2017

loading...


पुस २७ गते २९४ औं पृथ्वी जयन्ती । पहिलेपहिले भए भोलिकै दिनलाई राष्ट्रले भव्य रूपमा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ का भनेर देशव्यापी तवरले विभिन्न कार्यक्रम गरी मनाउँथ्यो । वर्षको एकदिन भए पनि नेपालीले नेपाल राष्ट्रका एकीकरण कर्ताप्रति श्रद्धापूर्वक सम्झने गर्थे । गर्विलो इतिहास सुन्न पाएर गौरवान्वित हुन्थे ।

विडम्बना, अहिले कालबेला नै खराब छ । कसैको कुरो कोही सुन्दैन । सबै पुरानो भत्काउने र नयाँ थिति पनि नबसाल्ने गरी अधिक उत्तरआधुनिक भएका छन् । राजनीतिको पुरानो कोर्स बदलिएको छ । नयाँ कोर्समा लेफ्टराइट गर्न सबै सकिरहेका छैनन् । सानो हुँदा सर मिसहरूले कान निमोठेर यादगर्न लगाएको एउटा श्लोक अझै मुखमा झुण्डिरहेको छ । सायद् कवि शिरोमणि लेखनाथको उद्गार हो यो –

‘सुन्नेले जब सुन्दैन, भन्नेले मात्र गर्नु के ?

नाङ्गाका देशमा गई, धोबी पाउँछ काम के ?’

प्रसङ्ग एकता दिवसको हो । दुःखको कुरा यतिखेर कसैलाई एकताको माने र महत्व छैन । सबै भाँडिएका र बाँडिएका छन् । यो संक्रमणको समय रहेछ । गर्वगर्न लायक विगत्लाई पनि हामी सम्झन नसक्ने गरी लाचार र नादान भएका रहेछौं ।

यस्तो बेलामा इतिहास भइसकेको र पञ्चायतले पनि नमन गरेको बूढा राजाका बारेमा बोलेर ‘बोल बोल मछली मुखभरि पानी’ पार्नु मात्रै छ । उनका पक्षमा बोल्दा र लेख्दा कोही खुसी नहुने समय आएको छ । अझ लेख पढेर कतिले त धारे हात नै लगाउलान् । तर हामीले आज इतिहासलाई नमन गरेनौं भने भोलि भविष्यले पनि हामीलाई किन र के आधारमा सम्झने होला ?

प्रश्न यहाँनेर उभिएको छ । एकैछिन गमेर हेरौं त ?

हामीले पाएको स्वतन्त्रताले हामीलाई इतिहासलाई सम्मान गर्नु भनेर सिकाएन । अग्रजलाई मान, मनितो दिनु भनेर अह्राएन । आजका नयाँ पुस्ताले हिजोको गर्विलो इतिहासलाई पढ्न, बुझ्न र मनन गर्न पाएनन् भने भोलि त्यो हामीलाई प्राप्त भएको विराशत नै पनि बिलाएर जान के बेर ?

चिन्ता र चासो यस मानेमा हो ।

राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीका बारेमा अहिले सो जयन्तीका दिन राष्ट्रिय विदा दिने कि नदिने भनेर विभिन्न कोण प्रतिकोणबाट चर्चा र बहस शुुरू भैसकेको छ । कोही पृथ्वीनारायणप्रति अन्धभक्त भई ‘राष्ट्रिय एकता दिवस’ को घोषणा गर्नु पर्ने तर्क राख्दैछन् भने कोहीचाहिँ पृथ्वीनारायणको इतिहासलाई ‘नामेट गर्न’ नानीदेखिको बल निकालेर लागि परेका छन् । यसरी पृथक् दुई कित्तामा बाँडिएका ती दुवैथरी अतिवादी मतावम्बीहरू हुन् । अतिवादले कहिल्यै र कसैको पनि भलो गर्दैन ।

मनोयोगपूर्वक उत्सर्जित आफ्ना विवेकसम्मत तर्कहरू राख्ने स्वतन्त्रता जो कोही सबैलाई छ । त्यसैका लागि त हामीले यत्रो बगावत गरी लोकतन्त्र ल्याउनु परेको हो ।
कसैले माने पनि नमाने पनि पृथ्वीनारायण शाह नेपाल राष्ट्रका एकीकरणकर्ता हुन् । राष्ट्रनिर्माता हुन् । जसरी जर्मनीको निर्माणमा अटो भान बिस्मार्क, इटलीको निर्माणमा गैरीवाल्डी र कैबुर तथा फ्रान्सको निर्माण नेपोलियन बोनापर्टले आआफ्ना समयमा खुनपसिना एकठ्ठा गरी अजस्र योगदान गरेकै हुन् । ती देशहरूमा ती राष्ट्र नायकहरूको उँचो र धरोहरमय व्यक्तित्व स्थापित छ । तत्तत् देशका जनता सँधै तिनीहरूका सम्मानमा श्रद्धाले नत हुन्छन् । गौरवले गौरवानुभूतिको श्वास फेर्छन् । हाम्रो देशमा मात्र पृथ्वीनारायणका बारेमा अनेक पन्थ र मन्थका विचारहरूको छिनाझप्टी चल्छ । चलाइन्छ । स्वार्थप्रेरित यस्ता कुराहरू गर्नमा मानिसहरू निकै रौसिन्छन् किनकि यहाँका मानिसहरूलाई एकर्काका कुरा गर्न र कुरा काट्न पउल फुर्सद् छ ।

कुनै व्यक्तिलाई फरक व्यक्ति वा इतिहासका पात्र मन नपर्न सक्छन् त्यो उसको व्यक्तिगत रूचि र स्वतन्त्रताको कुरा हो । विशेषताका आधारमा ऐतिहासिक पात्रोपपात्रका अनेक विरोधाभाषहरू पनि हुन सक्छन् । त्यसो भयो भन्दैमा कोही कसैको ऐतिहासिक व्यक्तित्व र उसका योगदानलाई समूल रूपमा नामेट पार्न सकिन्नँ ।

मानिस मानिस नै हो ऊ भगवान् होइन । भगवान् त समाजलाई अराजक हुनबाट बँचाउने धर्मभीरूहरूका काल्पनिक पात्र या हतियार मात्रै हुन् । व्यक्ति होस् या इतिहासका पात्र उनीहरूलाई उनीहरूका समयका काम र योगदानहरूका आधारमा नै रहन दिइनु पर्छ । अति प्रशंसाले भगवान् बनाउने र अति गालीले सामान्य पनि बनाउनु हुन्नँ ।
इतिहासका पात्रको आज ‘स्वट एनालाइसिस्’ गर्ने बेला आएको छ । तर त्यो कसले गर्ने त्रिविले, एकेडेमीले, मन्त्रिपरिषद्ले, मन्त्रालयले या विद्यालयले ? प्रश्न यहाँनेर पनि उठाउन सकिन्छ ।

अति चाकरी र अति गाली गरेर कुनै पनि ऐतिहासिक धरोहरहरूको स्खलन गर्न हतारिनु हुन्नँ । अहिले नेपालमा पृथ्वीनारायणको भएको व्यक्तित्व (नभएको व्यक्तित्व खोजेर महिमामण्डन गर्नु हुन्न) लाई पनि पानीले पखाल्ने काम गर्न थालिएको छ । जुन चित्तबुझ्दो छैन ।
अहिलेको अहम् सवाल यही हो ।

पृथ्वीनारायण इतिहास हुन् । इतिहासलाई सम्मान गर्नु पर्छ । पूर्खाको नासो र धरोहर कै रूपमा आज हामीले पाएको देश अझ अघि बढाउनु पर्छ । सुदूर भविष्यको यात्रा तयगर्दा भोलि गएर आजका घटनाहरू नै इतिहास बन्ने छन् । हिजो भनेको बाउ हो । आज सन्तती । बाउको सम्मान सन्ततीले गरे न नाति पनातिले आफूभन्दा अघिल्ला पुस्ताको मानभाउ राख्छन् । मनितो गर्छन् । सम्झन्छन् । गणगान गर्छन् । आफूचाहिँ विगतको रत्तिभर सम्मान नगर्ने अनि आफूलाई पछिल्लो पुस्ताले चाहिँ अकण्टक मान्नु पर्ने भन्ने कुरा अहिलेका राजनीतिक नेताहरूको रहेको छ । जुन सोह्रै आना चित्तबुझ्दो छैन ।

विगत्लाई गाली गरेर भन्दा उसबाट पाठ सिकेर आगतलाई स्वर्णीम् बनाउनु नै समाजका अभियन्ता र राजनीतिज्ञको काम हो । जनसामान्यले त गुणदोषका आधारमा हरेक ऐतिहासिक पात्रको छवि आफ्ना मनमा बनाएको हुन्छ । त्यो बन्न पनि समय लाग्छ र मेटिन पनि समय लाग्छ । विदेशीका इसारामा नाचेका नेता, विदेशीका दृश्यादृश्य रकमबाट पालितपोसित पालिस गरेको अमौलिक विचार र संसारमै डेट स्क्पायर भैसकेका थोत्राथाङ्ना दर्शनको लिउन लगाएर शासन गरी अबको नेपाल अघि जान सक्दैन । बीपी बिर्सने काँग्रेस, मदन बिर्सने एमाले, ऐतिहासिक महापुरुष बिर्सने माओवादी मोर्चा, सहिद बिर्सने राप्रपा र माटो बिर्सने मधेशवादीहरूको कार्यशैली र व्यवहारले जनतामा निराशा काला बादलहरू मडारिन थालिसकेका छन् । जसको घनिभूत असर चुनावमा नपर्ला भन्न सकिन्छ । जसरी समय प्रतिक्षण बदलिइरहेको छ त्यसैगरी मतदाताहरू पनि निर्निमेष परिवर्तन भैरहेका छन् । यो कुराको समूल हेक्का पार्टीहरूले राखेको देखिएन । दुःख यस मानेमा हो ।

नेपाल बनाउने भनेका नेपाली नै हुन् र ती नेपाली नेपालमै छन् । कोही बाध्यता अनि समस्याले घरदेश सिँगार्न परेदश पुगेका होलान् । अझ साँचो अर्थमा नेपाल त ती नेपालीले बनाउने छन् जो काम र मामको खोजीमा यतिखेर विदेशविदेश भौंतारिइरहेका छन् । मरेर कफिनमा आएकाहरू त मर्ने नै भए बाँकी बाँचेर कुनै न कुनै सीप सिकेर आएका चालिसदेखि पचास लाखसम्मका संख्यामा नेपाल फर्किने ती ईखालु युवाले जब नेपालमा नयाँनयाँ तरक्की सहितका अनेकानेक काम गर्ने छन् अनि नेपाल नवनिर्माणको श्री गणेश हुनेछ । तत्पश्चात् शंखनाद् हुनेछ –नेपालीय पुनर्जागराणको ।

युवावयका ऊर्जाशील नेपालीले भोलिको नेपाल बनाउने छ । अवश्य बनाउने छ ।समयक्रमका खेल हुन् –सबै इतिहासका घटना र पात्रहरू । पृथ्वीनारायण शाह आफैँमा अधिनायक भएर त्यो समय उदाएका पक्कै होइनन् । समयले एउटा लौह व्यक्तित्वको खाँचो महसुस गरिरहेको थियो । उनमा भिजन, मिसन र गोल थियो । उनका समकक्षी, समवयी र समधर्मी शासकहरूमा त्यो भएन । उनकै बाबु बराजुहरूमा पनि त्यो गुण पक्कै थिएन । भएको भए पृथ्वीनारायाण शाहभन्दा अघि पनि द्रव्य शाह थिए । राम शाहको त कीर्ति नै उज्यालो भएको हो । किन सकेनन् त तिनीहरूले ?

समयले नै असल नायक खोजी गर्ने हो । समयले नै नायकलाई स्थापित बनाउने एवम् अजरामर तुल्याउने हो । यस मानेमा पृथ्वीनारायण सामयिक मनोविज्ञान बुझ्न सक्ने सक्षम, काबिल, योग्य र उभारपूर्ण व्यक्तित्व जँचे । अनेक तरहले उनले जनइच्छा बुझे । छरिएर रहेका छिमेकी देशका भौगोलिक, सामाजिक, नैतिक, धार्मिक र आर्थिक अध्ययन गरे । भुरे टाकुरे राज्यका राजाहरूको ससाना कुरामा हुने नियमित सँधैको किचलो र त्यसबाट जनताले पाउने दैनन्दिन समस्यालाई आफ्नो बुद्धि र विवेक बन्धकी राखेर नकार्न चाहेनन् । धुलोबाट तरबार उठाए र गोरखा राज्यको नेतृत्वमा नेपाल राज्यको एकीकरण गरे । एकीकरण उनको लहड, सनक, ईष्र्या, क्षोभ, महत्वाकांक्षा, अहम् र पागलपन पक्कै होइन । युद्ध मैदानमा उनले आफ्ना सहोदर भाइहरूको अंगभंग भएको समेत देख्नु प¥यो । कतै त सगोत्रीको दैहिक क्षतिसमेत भयो ।

राजकाज, भोगविलास, ऐसआराम र मोजमज्जा केही नभनी बीस वर्षको चढ्दो र बढ्दो उमेरमा राज सिँहासन सम्हालेका पृथ्वीनारायण जीवनपर्यन्त यद्धमै व्यस्त र मस्त भए । उनका दिव्योपदेशलाई अहिले पनि हामी राजनीतिक दर्शनका गीता मान्छौं । उनले देखाएको बाटो र विचारमा नेपालले २४० वर्षको यात्रा तय गयो । यो चानचुन कुरा होइन । आज पनि त्यसैको जगमा हिँड्दैछ । साँघुरो बाटोलाई चौडा पार्ने काम सन्ततीको हो तर त्यसमा मानव मलमूत्र र विष्टा छर्ने काम भने होइन । अहिले भएको त्यस्तै छ । यसमा पक्कै हामी दोषी छौं । इतिहास त वाचाल गतिमा अघि बढिरहेको छ । कालान्तरमा त्यसले मूल्याङ्कन अवश्य गर्ला ।

उनको एकीकरण कार्यमा व्यक्ति, रजौटा, लोक र वृहत् समाजको समर्थन थिएन भने त्यतिखेरै उनको चारैतिरबाट उधूम विरोध हुन्थ्यो । शत्रुहरूका साँठ गाँठबाटै अनन्त धावा बोलिन्थे । एक्लिन्थे उनी । मटियामेट र पत्तासाफ हुन्थे । तर भएनन् किन ? उनका सुकार्यमै राज्य निर्माण भयो । एक ढिक्का भयो । सबल राष्ट्रका रूपमा नेपाले विश्व रंगमञ्चमा प्रवेश गर्ने मौका पायो ।

ल पृथ्वीनारायण शाहलाई एकछिन अधिनायकवादी शासक नै मानौं न त । उनीपछिका कुनकुन शासकले नेपालमा केकस्तो भिजनमा शासन गरे त्यो पनि हेरौं । राणाराज्यको एक शताब्दीलाई राजाहरूको शासन खोपीमा राखेका देउताझैँ मान्ने हो भने धेरै पछि आएर राजा महेन्द्रका पालामा नेपालले विश्व परिवेशमा आफूलाई दह्रोसँग उठाएको होइन र ? भौतिक विकासका विविध पाटाहरू, विकास क्षेत्रको अवधारणा, सडक, पुल, मुद्रा, त्रिभुवन विश्वविद्यालय, एकेडेमी, बैंकहरूको स्थापना, उद्योगधन्दाका आधारहरू, गाउँको विकासका लागि गाउँफर्क अभियान आदि । समयले जुनबेला जे चाहन्छ त्यो दिनु के शासकको अपराध हो ? अझै अघि बढेर भन्दा महेन्द्रीय पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्रनीतिमा समाहित भई आज पनि हामी त्यही आधारमा अघि बढिरहेका छौं । नव नेपालका लागि ठीक भएन भने खै त त्यो परिमार्जन गरिएको ? बरू नेपालको छिमेक नीति यतिखेर ढुलमूले र स्वार्थगन्धले प्रेरित देखिन्छ । पार्टीपार्टीका विदेश र छिमेक नीति अतीव घिनलाग्दा छन् । भारत र अमेरिकाको विदेश नीति हेरौं न । जो सत्तामा गए पनि एक इन्च फेरबदल हुँदैन र पनि देश हाँकेकै छन् त्यहाँका नायकहरूले । हाम्रोमा मात्र किन नौटङ्की ? किन यस्तो गतिगराँस ? यतिखेर कोही मनुवा चित्तबुझ्दो उत्तर दिनसक्ने ल्याकतमा छैनन् ।

पाँच नम्बर प्रदेशमा हालै भएको रडाको किन र कसरी भैरहेको छ ? सबै पार्टीका सो क्षेत्रका नेतालाई आफ्नो चुनावी क्षेत्रको माया छ । प्रदेश विभाजनमा आफू नयाँ र विरानो क्षेत्रमा परियो भने कथं कदाचित चुनाव हारिन्छ र संसदमा आफ्नो उपस्थिति हुँदैन कि भन्ने शंकाले घर ग¥या छ । ‘प्रदेश विभाजन होस् तर आफ्नो घरकरेँसाको डिल नकाटियोस्’ भन्ने लघुताभाषले प्रभावित छन् –हाम्रा नेताहरू । आफ्नो उपस्थिति नै नभएको संसद र केबिनेटका स्थानबाट आफ्ना विचारहरू कसरी अघि बढ्छन् भन्ने हो । चिन्ता प्रदेश विभाजन हुन्छ भन्नेमा होइन । आफू पछि परिन्छ र पत्तासाफ होइन्छ भन्नेमा हो ।

पृथ्वी जयन्तीमा विदा दिइनु या नदिइनुको सवाल होइन । सवाल राष्ट्र निर्माताको पगरी गुथाइदिनु या नगुथाइदिनुको पनि होइन । सवाल के भने यो राज्यलाई विश्वमा एक विकसित र स्वतन्त्र राज्यका रूपमा अकण्टक कसरी राखिरहन सकिन्छ भन्ने हो ।

आम जनतामा पृथ्वीनारायण प्रतिको सम्मान, आदर भाव रत्तिभर घटेको छैन अझ बढेरै गएको छ । मात्र नेताका व्यक्तिगत र पार्टीगत लाजका जिनिशलाई चेतनशील जनताले कुरीकुरी गरिदेलान् कि भनेर हतासाले प्रायोजित विचार बोलिएका होलान् ।

मानिसको सम्झना मनमा हुनुपर्छ न कि आँखामा । पृथ्वीनारायण जो राष्ट्रिय अखण्डताका प्रतीक हुन् ती नेपाली मनमनमा विराजमान छन् । यति भन्न कुनै सालको पुस २७ गते नै कुर्नु पर्छ भन्ने छैन ।

राष्ट्रकवि माधव घिमिरे भन्छन् :
‘पारिन्छ सत्ता जब खण्डखण्ड
रहन्छ राष्ट्र त्यहाँ के अखण्ड ।
थुतिन्छ पत्ता जब खातबाट
सिद्धिन्छ शोभा अनि फूलबाट ।। (राष्ट्रनिर्माता : खण्डकाव्य)

यति पढिसकेपछि आदरणीय पाठकहरू यहाँहरू नै शान्त चित्तले एकछिन मनन गर्नुहोस् र स्वनिर्णयमा पुग्नुहोस् । के पथ्वीनारायण शाह ‘राष्ट्रघाती’ नै हुन् त ? उनको जन्मजयन्ती मनाउनु अपराध नै हो त ? विज्ञ नेपालीमा चेतना भया ।
।।समाप्त।। पुर्बेलीन्यूज बाट

Loading...

loading...


सम्बन्धित शीर्षकहरु

समाचार

लुटेराले लुटे ७८ हजारसहित सिसी क्यामेरा

सुनसरी, माघ ५ ।  हतियारधारी समूहले सुनसरीमा ७८ हजार रुपैयाँसहित पाँच वटा......

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

जनकपुर, माघ ५ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।......

त्रिशूलीमा ट्याङ्कर खस्यो

चितवन, माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर......

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, शव नेपाल ल्याउने तयारी

काठमाडौं, माघ ५ । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित......

करेन्ट लागेर एक युवतीको मृत्यु

बाग्लुङ, माघ ४ । बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ......

Open

loading...

© २०७3 सर्वाधिकार सुरक्षित सुदुर पश्चिम खबर, Design By: www.ekumar.com.np