विश्वकपमा सर्वाधिक गोल : शीर्षमा नेयमारको ब्राजिल, यस्तो छ मेसी र रोनाल्डोको देशको स्थान

काठमाडौं ।

आउँदो संस्करणको फिफा विश्वकप फुटबल २१ नोभेम्बरबाट १८ डिसेम्बरसम्म कतारमा सुरु हुँदैछ । यसपालि आठ समूहमा रहेर ३२ टिमले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपको खेलको तालिका, खेलस्थल र समय पनि सार्वजनिक भइसकेको छ ।

कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुँदैछ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । विश्वकप फुटबल २०२२ का लागि छनोट चरणका खेलहरू तीन वर्षअघि नै सुरु भएको थियो । समूहगत खेलहरूमा विभिन्न देशका टोलीहरूबीच प्रतिस्पर्धा भयो र बढी अङ्क ल्याउने बलिया टोलीहरू सहभागी हुने सूचीमा समावेश भए । समान अङ्क ल्याउने टोलीहरूबीच प्लेअफ खेल भयो ।

सन् २०१८ को विश्वकप विजेता फ्रान्स प्रतियोगितामा सहभागी हुनेछ । तर, युरोपियन च्याम्पियन इटाली विश्वकपमा छनौट हुन असफल रहेको छ । लिग खेल प्रत्येक समूहका चार/चार टोलीबीच हुनेछ । विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन् । चारपटक विश्व विजेता जर्मनी, दुईपटक विश्व विजेता फ्रान्स, एकपटक विश्व विजेता स्पेन र इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स कतारमा खेल्नेछन् ।

एसियाबाट ६ देश विश्वकप खेल्नका लागि छनोट भएका छन् । जसमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार रहेका छन् । अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन् । त्यस्तै, दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन् । दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता अर्जेन्टिना र उरुग्वे अनि इक्वेडर प्रतिस्पर्धामा उत्रिँदै छन् ।

उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन् । विश्वकपको इतिहास हेर्दा हालसम्म आठ देशले उपाधि जितेका छन् । फुटबल विश्वकपको मिति नजिकिएसँगै समर्थक उत्साहित हुन थालेका छन् । सामाजिक सञ्जालमा यसपालि कुन टिमले विश्वकप जित्ला भनेर अनुमानसमेत हुन थालेका छन् । यसैबीच, आज फुटबल विश्वकपमा सर्वाधिक गोल गर्ने १० देशको चर्चा गर्दैछौं–

हालसम्म विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने रेकर्ड ब्राजिलको नाममा छ । ६ पटक विश्वकप उपाधि जितिसकेको ब्राजिलले सर्वाधिक २२९ गोल गरेको छ । यो सूचीको दोस्रो स्थानमा जर्मनी छ । हालसम्म उसले विश्वकपमा २२६ गोल गरेको छ । चारपटक विश्कप जितिसकेको जर्मनीलाई यसपालि गोल गर्ने संख्यामा ब्राजिलको रेकर्ड तोड्ने मौका छ ।

त्यस्तै, हालसम्म विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीको तेस्रो स्थानमा अर्जेन्टिनाको नाम आउँछ । उसले विश्वकपमा १३७ गोल गरेको छ । हालसम्म अर्जेन्टिनाले दुईपटक विश्वकपको ट्रफी हात पारेको छ । यो सूचीको चौथो स्थानमा इटालीको नाम आउँछ । चारपटकको विश्वकप च्याम्पियन इटालीले अहिलेसम्म १२८ गोल गरेको छ ।

विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीको पाँचौं स्थानमा फ्रान्सको नाम आउँछ । दुईपटक विश्वकप जितेको उसले १२० गोल गरेको छ । त्यस्तै, छैटौंमा स्पेन (९९), सातौंमा इंग्ल्याण्ड (९१), आठौँमा उरुग्वे (८७), नवौँमा हंगेरी (८७) र दशौँ स्थानमा नेदरल्याण्ड्स (८६ गोल) रहेका छन् । क्रिस्टियानो रोनाल्डोको देश पार्चुगल यो सूचीको शीर्ष १० भित्र पनि छैन ।

Loading...