थप अर्को टिमले गर्यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू


काठमाडौं ।


इटाली आईसीसी टी–२० विश्वकप युरोप छनोट ‘ए’ को फाइनलमा आइल अफ म्यानलाई ७ विकेटले हराउँदै युरोप क्षेत्रको अन्तिम छनोटमा प्रवेश गरेको छ । त्यस्तै, क्रोएसियाको टोलीले यो प्रतियोगितामा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्यो । ऊ टी–२० मा डेब्यू गर्ने ९० औं देश बनेको छ ।



यसअघि क्वालिफायर ‘सी’ बाट डेनमार्क युरोप क्षेत्रको अन्तिम क्वालिफायरमा प्रवेश गरेको थियो । फिनल्याण्डमा १२ देखि १९ जुलाईसम्म खेलिएको यस प्रतियोगितामा कूल २४ खेल खेलिएका थिए । समूह ‘१’ मा इटालीले आयोजक फिनल्याण्ड, स्वीडेन, क्रोएसिया र ग्रीसलाई हराउँदै समूह–२ मा आइल अफ म्यानले साइप्रस, रोमानिया, सर्बिया र टर्कीलाई पराजित गर्दै पहिलो स्थान हासिल गरेको थियो ।


तेस्रो स्थानको खेलमा फिनल्यान्डले साइप्रसलाई ११ रन, पाँचौं स्थानको खेलमा स्वीडेनले रोमानियालाई ८ विकेट र सातौं स्थानका लागि डेब्यु खेल्दै आएको क्रोएसियाले सर्बियालाई ३ विकेटले हरायो । आइल अफ म्यानका जर्ज बुरोजले प्रतियोगितामा तीन अर्धशतकसहित सर्वाधिक २१० रन बनाए ।
अर्कोतर्फ स्वीडेनका जाकिर टाकावीले सर्वाधिक ११ विकेट लिए । जसमा उनले एक खेलमा उनले ५ विकेट लिँदै इतिहास रचे । साइप्रसका चमल सदुनले टर्कीविरुद्ध ह्याट्रिक विकेट लिए । विश्वकप युरोप छनोट ‘बी’ जुलाई २४ देखि ३१ सम्म हुनेछ । यस प्रतियोगिताबाट अर्को टोली युरोप क्षेत्रका लागि अन्तिम छनोटका लागि छनोट हुनेछ, जहाँ इटाली र डेनमार्क, जर्मनी र जर्सीले यसअघि नै बाई बनाएका छन् । युरोप क्षेत्रबाट दुई टोली २०२४ को विश्वकपका लागि छनोट हुनेछन् ।


