विश्वकपमा सर्वाधिक गोल : शीर्षमा क्लोज, यस्तो छ रोनाल्डो-मेस्सी र नेयमारको स्थान

काठमाडौं ।

आगामी संस्करणको फिफा विश्वकप फुटबल २१ नोभेम्बरबाट १८ डिसेम्बरसम्म कतारमा सुरु हुँदैछ । आठ समूहमा रहेर ३२ टिमले प्रतिस्पर्धा यो विश्वकपको खेलको तालिका, खेलस्थल र समय पनि सार्वजनिक भइसकेको छ । विश्वकप फुटबल मध्यपूर्वमा र यो समयमा हुन लागेको पहिलोपटक हो ।

कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुँदैछ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । विश्वकप फुटबल २०२२ का लागि छनोट चरणका खेलहरू तीन वर्षअघि नै सुरु भएको थियो । समूहगत खेलहरूमा विभिन्न देशका टोलीहरूबीच प्रतिस्पर्धा भयो र बढी अङ्क ल्याउने बलिया टोलीहरू सहभागी हुने सूचीमा समावेश भए । समान अङ्क ल्याउने टोलीहरूबीच प्लेअफ खेल भयो ।

सन् २०१८ को विश्वकप विजेता फ्रान्स प्रतियोगितामा सहभागी हुनेछ । तर, युरोपियन च्याम्पियन इटाली विश्वकपमा छनौट हुन असफल रहेको छ । लिग खेल प्रत्येक समूहका चार/चार टोलीबीच हुनेछ । विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन् । चारपटक विश्व विजेता जर्मनी, दुईपटक विश्व विजेता फ्रान्स, एकपटक विश्व विजेता स्पेन र इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स कतारमा खेल्नेछन् ।

एसियाबाट ६ देश विश्वकप खेल्नका लागि छनोट भएका छन् । जसमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार रहेका छन् । अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन् । त्यस्तै, दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन् । दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता अर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिँदै छन् ।

उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन् । विश्वकपको इतिहास हेर्दा हालसम्म आठ देशले उपाधि जितेका छन् । फुटबल विश्वकपको मिति नजिकिएसँगै समर्थक उत्साहित हुन थालेका छन् । सामाजिक सञ्जालमा यसपालि कुन टिमले विश्वकप जित्ला भनेर अनुमानसमेत हुन थालेका छन् ।

साथै समर्थकले यो विश्वकपका सर्वाधिक गोल गर्नसक्ने खेलाडीको पनि अड्कलबाजी गर्न थालेका छन् । इतिहास हेर्दा हालसम्म फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने रेकर्ड जर्मनीका मिरोस्लाभ क्लोजको नाममा छ । उनले चार विश्वकपमा २४ म्याच खेल्दा सर्वाधिक १६ गोल गरे ।

यो सूचीको दोस्रो स्थानमा ब्राजिलका महान फुटबल रोनाल्डाको नाम आउँछ उनले आफ्नो करियरमा चार विश्वकप खेले । जसमा रोनाल्डोले १९ म्षचमा १५ गोल गर्न सफल भए । विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीको तेस्रो स्थानमा पश्चिम जर्मनीका गर्ड मुलरको नाम आउँछ । उनले २ विश्वकपमा १३ म्याच खेल्दा १४ गोल गरेका थिए ।

यो सूचीको चौथो नम्बरमा फ्रान्सका जस्ट फोन्टाइनको नाम आउँछ । एक विश्वकप खेलेका उनले ६ म्याचमा १३ गोल गरेका छन् । त्यस्तै, विश्वकपमा सर्वाधिक गोल गर्ने मामलामा ब्राजिलका महान फुटबलर पेल पाँचौं स्थानमा छन् । चार विश्वकप खेलेका उनले १४ खेलमा १२ गोल गरे । यो सूचीको छैटौँमा हंगेरीका स्यान्डोर कोक्सिस र जर्मनीका जर्गेन क्लिन्सम्यानको नाम आउँछ । उनीहरूले ११ गोल गरेका छन् ।

त्यस्तै, विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने मामलामा पश्चिम जर्मनीका हेल्मुट रहन, इंग्ल्याण्डका ग्यारी लिनेकर, अर्जेन्टिनाका गेब्रियल बटिस्टुटा, पेरुका टियोफिलो कुबिलास, जर्मनीका थोमस मुलर, पोल्याण्डका ग्रेजग्रोज लाटो, पोर्चुगलका युसेबियो, इटालीका क्रिस्चियन विएरी, ब्राजिलका वाभा र स्पेनका डेभिड भिल्लाको नाम सातौँ स्थानमा आउँछ । यी १० फुटबलरले विश्वकपमा समान १० गोल गरेका छन् ।

वर्तमान विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डो संयुक्तरूपमा यो सूचीको १० औं स्थानमा छन् । चार विश्वकपमा १७ म्याच खेलेका उनले ७ गोल गरेका छन् । त्यस्तै, उरुग्वेका लुइस सुआरेज पनि संयुक्तरूपमा १० औं स्थानमा छन् । त्यस्तै, ब्राजिलका नेयमार विश्वकपमा सर्वाधिक गोल गर्ने नम्बरमा संयुक्तरूमा ११ औं स्थानमा छन् ।

नेयमारले २ विश्वकपको १० म्याचमा ६ गोल गरेका छन् । त्यस्तै, अर्जेन्टिनाका स्टार लिओनल मेस्सी संयुक्तरूपमा ११ औं स्थानमै छन् । उनले चार विश्वकपको १९ खेलमा ६ गोल गरेका छन् । त्यस्तै, इंग्ल्याण्डका ह्यारी केन पनि ११ औं स्थानमै छन् ।

Loading...