आफ्नो पेसा समेत जोगाउन धौधौ परेको छ दार्चुलाका सौका समुदायलाई

दार्चुला:

 

 

समुद्री सतहबाट ३७ सय मिटरको उचाइमा छ तिंकर गाउँ । यस गाउँमा सौका समुदायको बस्ती छ । नेपाल, भारत र चीनको त्रिदेशीय सीमानाका नजिकको बस्ती हो यो। दार्चुलाको व्यास गाउँपालिका–छाङरु र तिंकरमा सौका समुदायको बाक्लो बस्ती छ । उनीहरूको पुख्र्यौली पेसा भनेकै राडीपाखी र गलैंचा बुन्ने हो । दार्चुलाको व्यास गाउँपालिका–१ तिंकर र छाङरु, वडा नम्बर–२ को पार्ला, दुम्लिङ तथा अपी हिमाल गाउँपालिका–६ सीतोलामा सौका समुदायले बसोबास गर्छन् ।

दार्चुला जिल्ला सदरमुकाममा सौका समुदायले बनाएको गलैंचा, राडीपाखीहरू किन्नेको भीड हुन्थ्यो । तर, आज भोलि त्यो पाउनै छाडेको छ। ‘पहिले बाजे बजुले निकै चासो देखाएर ऊन कात्नु हुन्थ्यो । आज भोलि त्यति गर्ने मान्छे पनि छैनन् । मान्छे भए पनि सिकेर बुन्न कोही चाहन्न’, स्थानीय रमेती तिङरीले भनिन् ।

आजभोलि घरायसी प्रयोजनका लागी मात्रै गलैंचा र चुटुक बुन्ने गरिन्छ । पहिले मेलापात, बिहे व्रतहरूमा पनि निकै चलनमा आउँथ्यो । तर, आजभोलि यसको पनि बिक्री घटेको तिकरीले बताइन् ।

 

सौका समुदायलाई आफ्नो पेसालाई जोगाउन पनि धौधौ भएको छ। धेरै भेडा पालेर त्यसको ऊनको स्वेटर राम्रो मूल्यमा बिक्री हुन्थ्यो, तर त्यो पनि अहिले बुन्ने मान्छे अभावले बजारमा पाउन छोडेको छ । सौका समुदायले गलैंचा बुन्ने सामान भारतबाट ल्याउनुपर्ने र पहिले जस्तो सजिलो नभएकाले पनि यो पेसा संकटमा परेको बताएका छन् ।

‘भारतबाट सामानहरू ल्याउनुपर्छ। पहिलेको जस्तो सजिलो छैन। भन्सार महँगो छ, धेरै भन्सार तिरेर ल्याएको धागोबाट गलैंचा बनाए, खासै मुनाफा हुँदैन । अनि मान्छे किन बुन्छ ?’, स्थानीय कुसुम बोहराले भनिन् ।

Loading...