यी हुन् टोलीबाट विश्राम पाउने र कमब्याक गर्ने ६ खेलाडी

काठमाडौं ।

केन्यासँगको टी–२० र एकदिवसीय सिरिजका लागि क्यानले टोली घोषणा गरेको छ । क्यानले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा ज्ञानेन्द्र मल्लले पनि मौका पाएका छन् । पछिल्लो समय लगातार टोली बाहिर रहेका उनले लामो समयपछि पुनरागमन गरेका हुन् ।

अनुभवी विकेटकिपर विनोद भण्डारी भने टोलीबाट बाहिरिएका छन् । उनको स्थानमा क्यानले युवा विकेटकिपर अर्जुन साउँदलाई मौका दिएको छ । त्यस्तै, क्यानले कुशल भुर्तेललाई पनि टोलीमा राखेको छैन । टी–२० टोलीका तीव्र गतिका बलर अविनाश बोहरालाई पनि टोलीमा समावेश गरिएको छैन ।

टोलीबाट बाहिरिने मुख्य तीन खेलाडी रहेका छन् । ती हुन्– विनोद, कुशल र अविनाश । कमब्याक गर्ने खेलाडीको चर्चा गर्दा ज्ञानेन्द्र मल्ल, साहब आलम, विवेक यादव रहेका छन् । पहिलोपटक टिममा मौका पाउनेमा अर्जुन साउँद रहेका छन् ।

त्यस्तै, जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिशी र हरिशंकर साहलाई रिजर्भ खेलाडीको रूपमा टोलीमा समावेश गरेको छ । नेपालले केन्यासँग पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय सिरिज खेल्न लागेको हो । क्यानका अनुसार यी दुवै सिरिज केन्यामा हुनेछन् ।

सिरिजका लागि नेपाली टोली २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यामा हुनेछ । नेपाल र केन्याले सुरुवातमा टी–२० सिरिज खेल्ने तालिका छ । सिरिजको पहिलो खेल २५ अगस्ट, दोस्रो खेल २६ अगस्ट, तेस्रो खेल २७ अगस्टमा हुनेछ ।

त्यस्तै, सिरिजको चौथो र पाँचौँ खेल क्रमशः २९ र ३० अगस्टमा हुने तालिका छ । नेपाल र केन्याबीचको तीन खेलको एकदिवसीय सिरिज २ सेप्टेम्बरदेखि सुरु हुनेछ । सिरिजको दोस्रो खेल ३ सेप्टेम्बर र तेस्रो म्याच ५ सेप्टेम्बरमा हुने तालिका छ । क्यानले नेपाल र केन्याबीचको खेल सुरु हुने समयको बारेमा भने जानकारी गराएको छैन ।

केन्यासँग सिरिज खेल्ने नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, अर्जुन साउँद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव । रिजर्भ खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिशी र हरिशंकर साह ।

Loading...