भारतबाट फर्किएका ४२ जनामा कोरोना संक्रमण

बैतडीः

सुदूरपश्चिम प्रदेशमा एकैदिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार १०७ जनाको परीक्षण गर्दा ८४ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२ ,कैलालीका ३३,अछामका चार,दार्चुलाका दुई र बझांग,डोटी र बैतडीका १÷१ रहेका छन् । जसमध्ये भारतबाट फर्किएका ४२ जनामा संक्रमण पुष्टि भएको हो । गड्डाचौकी नाकाबाट फर्किएका २३ , गौरीफन्टा नाकाबाट १६,पुलघाट नाकाबाट २ र झुलाघाट नाकाबाट फर्किएका १ जनामा संक्रमण निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यसअघि सोमबार यस प्रदेशमा १२१ जनामा संक्रमण देखा परेको थियो ।

यस प्रदेशका भारतसग सीमा जोडिएका सबै नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर नाकाहरुमै कोरोना परीक्षण कार्य जारी रहेको छ ।
सुदूरपश्चिममा हालसम्म ५ लाख ६५ हजार ७९२ जनाको कोरोना परीक्षण गरिएकोमा ६० हजार ५११ जनामा संक्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म ६३४ जनाको ज्यान गइसकेको छ ।

 

Loading...