सुदूरपश्चिममा गौरा पर्वको चहलपहल शुरु
बैतडी:


सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल शुरु भएको छ । दशैं भन्दापनि बढी महत्वका साथ यस पर्वलाई लिइन्छ । विषेश गरेर सुदूरका पहाडी समुदायमा यो पर्व मनाउने गर्दछन् ।
गौरा एकादशीपछि यहाँ गौराको चहलपहल शुरु भएको दोगडाकेदार गाउँपालिका ३ की फुनडी विष्टले बताईन् । हरेक बर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । एकादशीको दिन गौरा उपासना गर्ने महिलाहरु ब्रत बस्ने गर्दछन् । उनले भनिन्,“गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा छ,पहिलो पटक गौरा उपासना गर्नेहरुले पनि गौरा एकादशीको ब्रत बस्नुुपर्ने नियम छ । ”




गौरा उपासना गर्ने महिलाहरुले ब्रत बसेर साँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ । गौरामा दुवधागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीबाटै गौरा पर्व शुरुवात भएको मान्ने गरेका छन् ।
हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथीबाट गौरा पर्व शुरु हुने गर्दछ । त्यो भन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत बस्ने चलन रही आएको हो ।


भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए । यो बर्ष भाद्र शुक्ल पक्षमा गौरा परेको छ । पहिलो पटक गौरा पर्वको ब्रत बस्ने महिलाहरुले उजेली गौरामा ब्रत बस्न उपयुक्त हुने बताइएको छ ।
बैतडीसहित सुदूरपश्चिमका सबै जिल्लाहरुमा गौरा पर्व मनाउने चलन रही आएको छ । तराईका जिल्लाहरुमा पनि पहाडी समुदायहरुले गौरा पर्व मनाउने गरेका छन् । यसका साथै छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।
गौरा पर्वको चहलपहल शुरु भएसंगै रोजगारीका लागि देशबाहिर रहेको स्थानीय बासिन्दा घर फर्किने क्रम शुरु भएको छ । बजारहरुमा पनि नयाँ लुगा किन्नेको भीड बढ्न थालेको छ । घर बाहिर भएकाहरु पनि घर फर्किन थालेका र गौराको समयमा नयाँ लुगा लगाउने चलन रहेकाले बजारमा पनि चहलपहल बढेको बैतडीको दोगडाकेदारका गणेश विष्टले बताए ।

गौरामा शिवपार्वतीको पूजाआजा गरिनुका साथै स्थानीय ठाउँमा रहेका देवीदेवताका मन्दिरहरुमा पनि जात्रा लैजाने चलन रही आएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवि अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको होे ।
गौरा पर्व भाद्र शुक्ल को पञ्चमीदेखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । यहाँका महिलाले गहँु केराउ गहत मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई बिरुडा भनिन्छ । महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धुन्छन । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ ।
गौरा भित्रयाएर पुजा अर्चना गरि महिलाहरुले दुबधागो चढाउने गर्छन । दुर्गाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन । साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ । सोहि दिन महिलाले प्रशादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापिदिने गर्छन ।
महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।
सुदूरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन् । त्यसैले गौरामा एकै छिन भएपनि डेउडामा रमाउन परदेशिएकाहरु पनि घरपरिवार सम्झिएर फर्किने गर्छन । गौरामा विवाहित चेलीहरु पनि माइत आउने चलन छ ।

