सेती प्रादेशिक अस्पताललाई २ सय शय्यामा स्तरोन्नति गर्ने निर्णय

धनगढी ः सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। मंगलबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदे् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री गोविन्दराज बोहराका स्वकीय सचिव टेकराज पाण्डेयले वताए ।

सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो,’ पाण्डेयले भने, ‘सामाजिक विकास मन्त्रीले २ सय शय्यामा स्तरोन्नतिको प्रस्ताव मन्त्रिपरिषद लैजानु भएको थियो। आजको बैठकले स्तरोन्नतिको प्रस्ताव पारित गरेको छ।’सामाजिक विकास मन्त्री बोहराको पहलमा ३९ वर्षपछि अस्पतालको स्तरोन्नति भएको हो।
२ सय शय्यासम्म स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसंग छ। स्वकीय सचिव पाण्डेयका अनुसार ३ सय शय्यामा स्तरोन्नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने पनि निर्णय भएको छ। प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकासमन्त्रीमा नियुक्त भएसंगै बोहराले स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएका थिए। कैलालीका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न १९९७ सालमा धनगढीमा जिल्ला अस्पतालका रुपमा अस्पताल सञ्चालन गरिएको थियो। कैलाली जिल्ला अस्पताललाई २०४० सालमा सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरिएको थियो।
समयमा अस्पताललाई ५० शय्याको स्वीकृति दिइएको थियो। अस्पताल व्यवस्थापन समितिले ७५ शय्या थप गर्दै अस्पताललाई एक सय २५ शय्यामा सञ्चालन गरिएको थियो। प्रदेश सरकार गठन भएसँगै सेतीलाई प्रादेशिक अस्पताल नामाकरण गरिएको थियो तर सरकारी स्वीकृति भने ५० शय्याको मात्रै थियो भने थप ७५ शय्या आन्तरिक स्रोतबाट सञ्चालन हुँदै आएको थियो।

सुदुर आवाज

Loading...