सन्दीप लाखौंमा अनुबन्ध भएको ‘लंका प्रिमियर लिग’ को नयाँ मिति सार्वजनिक
काठमाडौं ।


श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपिएल) को नयाँ मिति तय भएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको थियो । अब प्रतियोगिता डिसेम्बर ६ बाट २३ सम्म हुनेछ । यसअघि ३१ जुलाईबाट २१ अगस्टसम्म चल्ने तालिका रहेको थियो ।




यस सिजनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछाने डम्बुला जायन्ट्समा अनुबन्धित भएका छन् । उनलाई क्लबले ४० हजार डलर (५० लाख ९९ हजार रुपैयाँ) मा अनुबन्ध गरेको हो । ५ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल २४ खेल हुनेछन् । अघिल्लो दुई संस्करणको उपाधि जाफ्ना किंग्सले जितेको थियो ।


अफगानिस्तानविरुद्धको पहिलो टी–२० मा आयरल्याण्डको फराकिलो जित
अफगानिस्तानविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली आयरल्याण्ड ७ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य आयरल्याण्डले १९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान एन्डी बलबर्नी र लोर्कान टकरले अर्धशतकीय पारी खेले ।

३८ बलको सामना गरेका बलबर्नीले पाँच चौका र एक छक्कासहित ५१ रन बनाए । त्यस्तै, टकरले ३२ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५० रनको पारी खेले । ओपनर पउल स्टर्लिङ ३१ रनमा आउट हुँदा ह्यारी केक्टर २५ र जर्ज डकरेल १० रनमा अविजित रहे । अफगानिस्तानका लागि मुजीबउर रहमान, नवीनउल हक र कप्तान मोहम्मद नाबीले एक/एक विकेट लिए ।
स्टार स्पिनर राशिद खानले भने ४ ओभरमा २५ रन खर्चिएर विकेट हात पार्न सकेनन् । बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनायो । उसका लागि उश्मान घानीले अर्धशतकीय पारी खेले ।
४२ बलको सामना गरेका उनले ६ चौका र दुई छक्कासहित ५९ रन बनाए । त्यस्तै, इब्राहिम जद्रानले अविजित २९, रहमानुल्लाह गुर्बाजले २६, नजिबुल्लाह जद्रानले १५, हशिमतुल्लाह शाहिदी, अहमतुल्लाह ओमरजाईंले ११/११ रन जोडे । आयरल्याण्डका लागि ब्यारी म्याकार्थीले ४ ओभरमा ३४ रन दिएर सर्वाधिक तीन विकेट हात पारे ।
त्यस्तै, जर्ज डकरेलले दुई, ग्यारेथ डेल्नी र जोस लिटलले एक/एक विकेट लिए । यो जितसँगै पाँच खेलको सिरिजमा आयरल्याण्डले १–० को अग्रता लिएको छ । अफगानिस्तान र आयरल्याण्डबीचको दोस्रो टी–२० बिहीबार हुनेछ ।

