विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी:

बैतडीको तल्लोस्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन कार्य प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्राहरुमा विद्यालयमै बेहोस समस्या आएपछि पठनपाठन कार्य प्रभावित भएको हो ।

विद्यालय आइसकेपछि छात्राहरु रुने,कराउने, काप्ने,बेहोस हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेश दत्त बागले बताए । गएको हप्तादेखि छात्राहरुमा यो समस्या देखिएको हो । उनले भने,“दैनिक ४÷५ छात्राहरुमा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्षामूनीका छात्राहरुमा बढीजसो यो लक्षण देखिएको छ । १२ देखि १४ उमेर समूहमा छात्रामा बढी समस्या छ। ”

विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठन कार्य प्रभावित भएको प्रअ बागको भनाई छ । बिहान विद्यालय आएर एक र दुई घण्टी पढेपछी उनीहरूमा यो समस्या सुरू हुन्छ। एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्राहरुमा पनि लगत्तै देखिन्छ । छात्राहरुमा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मीहरु पनि सोधेको उनले बताए। उनले भने,“ हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौं । स्वास्थ्यकर्मीकै सल्लाहअनुसार दुई पिरीयड मात्रै पठनपाठन गरेर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौं ।”

छात्राहरुमा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने,“ यो सामान्य खालको बिरामीको लक्ष्यण हुन् । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ। मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्तना दिने, मनोबल बढाउने खालका कुरा गर्ने सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गनुर््पर्छ ।” उक्त विद्यालयमा १ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

Loading...