मंसिर ४ गते हुने निर्वाचनका लागि सुदूरपश्चिममा गठबन्धन सरकार बीच यस्तो छ आ-आफ्नै दावी


धनगढी:


मंसिर ४ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दाबी, सम्भावित जोडघटाउको चर्चाले यतिखेर नेपाली राजनीति तातेको छ । एमालेविरुद्ध तालमेलको लिखित सहमति गरेका दलहरू भागबण्डाका लागि कार्यदल बनाएर गृहकार्यमा छन् । आ–आफ्नो सीट सुरक्षित गर्न प्रदेश कमिटीहरूले केन्द्रमा दाबीका क्षेत्र पनि नेताहरूलाई सुनाइरहेका छन् ।



सुदूरपश्चिममा १६ वटा संघीय निर्वान क्षेत्र छन् । तीमध्ये २०७४ को चुनावमा सबैभन्दा बढी नेकपा एमालेले ११ सीट जितेको थियो । माओवादीले ३ सीट जितेको थियो भने कांग्रेस र जसपा १÷१ क्षेत्रमा विजयी भएको थियो ।


कैलालीका पाँच निर्वाचन क्षेत्र मध्ये २ र ५ निर्वाचन क्षेत्रमा बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार विजयी भएका थिए । कञ्चनपुरको २ र ३ मा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । पहाडी जिल्लामा डडेल्धुरा बाहेकका सबै जिल्लामा एमाले विजयी भएको थियो । डडेल्धुरामा कांग्रेस विजयी हुँदा कैलाली क्षेत्र नम्बर १ मा राजपाको तर्फबाट रेशम चौधरी निर्वाचित भएका थिए ।
कैलालीका ३ र ४ कञ्चनपुरको १ मा माओवादी उम्मेदवार विजयी भएका थिए । अघिल्लो प्रतिनिधिसभामा एमाले सबै भन्दा ठूलो दल भएको थियो । तर, वैशाख ३० गतेको स्थानीय तहमा भने प्रमुख र उपप्रमुखमा एमाले दोस्रो स्थानमा पुगेको छ ।

अघिल्लो संसदीय निर्वाचन परिणामले हैसियतको एमाले वैशाख ३० गतेको निर्वाचनले हच्किएको छ । अहिले पुरानो परिणामलाई विश्लेषण गर्दा गठबन्धनमा रहेको तीन दलहरू सुरक्षित स्थलको खोजी गरिरहेका छन् ।
प्रदेशका १६ प्रतिनिधिसभा क्षेत्रमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले आ–आफ्नो दाबीसहित आन्तरिक छलफल थालेका छन् । यहाँ कांग्रेसले १० क्षेत्रमा दाबी गर्ने भएको छ ।
कैलालीको १, २, ४ र ५ नेपाली कांग्रेसको रोजाइमा छ । माओवादी केन्द्रको रोजाइमा कैलालीको २ र ३ नम्बर क्षेत्र परेको छ । नेकपा एकीकृत समाजवादीले भने कैलालीको क्षेत्र नम्बर ४ मा दाबी पेस गरेको छ । कञ्चनपुरको २ नम्बर क्षेत्र र ३ नम्बर क्षेत्र कांग्रेसको रोजाइमा छ । १ नम्बर क्षेत्र भने माओवादी केन्द्रले दाबी गरेको छ ।
एउटा प्रतिनिधिसभा रहेको डोटीमा तीनै दलको दाबी छ । डडेल्धुरा कांग्रेसको रोजाइमा छ । अछामको दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ नेकपा एकीकृत समाजवादी र २ नम्बर क्षेत्र माओवादी केन्द्रको रोजाइमा छ । बैतडीमा कांग्रेस र माओवादी दुवैले दाबी गरेका छन् ।
बझाङमा पनि कांग्रेस र माओवादी दुवैको दाबी छ । दार्चुलाको एक क्षेत्रमा कांग्रेसले नै पाउने सम्भावना रहेको नेताहरूको भनाइ छ । बाजुरामा कांग्रेसले दाबी गरेको छ ।


