केरला वुमन्स लिगमा गोकुलम ११–० ले विजयी, साफ खेल्नुअघि सावित्राले गरिन् गोलको वर्षा


काठमाडौं ।


भारतमा जारी केरला वुमन्स लिगको पहिलो खेलमै गोकुलम केरलाले फराकिलो जित निकालेको छ । उसले बुधबार भएको पहिलो खेलमा केरला युनाइटेडविरुद्ध ११–० को फराकिलो जित निकालेको हो । गोकुलमको फराकिलो जितमा नेपालकी चर्चित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले शानदार प्रदर्शन गरिन् ।



उनी एक्लैले ५ गोल गरिन् । सावित्राले पहिलो हाफमा ह्याट्रिकसहित ४ र दोस्रो हाफमा एक गोल थपिन् । उनले दुई गोलमा एसिस्ट दिइन् । शानदार प्रदर्शन गरेकी सावित्रा पहिलो खेलमै प्लेयर अफ द म्याच घोषित भइन् । गोकुलम महिला आइ लिग च्याम्पियन टोली पनि हो । अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्प्यिनसिप खेल्दैछ ।


साफमा भारतविरुद्ध नेपाललाई इतिहास रच्ने मौका, यस्तो छ हालसम्म दुवैबीचको विगत
राष्ट्रिय महिला फुटबल टोलीले यही महिना साफ च्याम्पियनसिपको छैठौं संस्करण खेल्दैछ । प्रतियोगिता २१ भदौबाट काठमाडौंमा सुरु हुँदैछ । साफका लागि एन्फाले ३५ सदस्यीय टोलीसमेत घोषणा गरिसकेको छ । टोली अहिले अभ्यासमा व्यस्त छ । यसपालि नेपाली टिमको प्रशिक्षणको जिम्मा कुमार थापाले पाएका छन् ।

उनी दोस्रोपटक प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका हुन् । उनले यसअघि सन् २०१६ मा भएको चौथो संस्करणको साफमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । यसपालि प्रतियोगितामा दक्षिण एसियाका सात टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’ रहेको छ ।
यो समूहमा नेपालसहित श्रीलंका र भुटान छन् । समूह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । तुलनात्मक रूपमा नेपाल सहज समूहमा परेको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि हालसम्म नेपालले फाइनलमा भारतलाई उछिन्न सकेको छैन । अहिलेसम्म चार संस्करणमा नेपाल फाइनलमा भारतसँगै पराजित भएको छ ।
नेपालले सन् २०१० मा पहिलोपटक साफ च्याम्पियनसिप खेलेको थियो । सो संस्करणमै नेपालले फाइनलमा स्थान बनायो । तर, फाइनलमा नेपाल १–० ले भारतसँग पराजित हुँदै उपाधि जित्न चुक्यो । २०१२ मा पनि नेपाल साफको फाइनलमा भारतसँग नै पराजित भयो । सो संस्करणमा नेपाल १–३ ले पराजित भएको थियो । २०१४ मा भारतसँग नै नेपाल ६–० गोल अन्तरले पराजित भयो । २०१६ मा नेपाल सेमिफाइनलबाटै बाहिरियो ।
२०१९ मा नेपालले फाइनलको टिकट काट्यो । त्यो संस्करणमा पनि फाइनलमा फेरि भारत नै बाधक बन्यो । नेपालमै भएको सो संस्करणको फाइनलमा भारतविरुद्ध नेपाल ३–ले पराजित भएको थियो । यसपालि पनि फाइनलमा भारत र नेपाल पुग्ने सम्भावना बढी छ । घरेलु मैदानमा खेल्न लागेकाले यसपालि नेपाललाई भारतलाई हराउँदै पहिलोपटक उपाधि जित्ने मौका छ ।


