यूएईविरुद्ध स्कटल्याण्डको फराकिलो जित, नेपाललाई फाइदा

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा यूएईविरुद्ध स्कटल्याण्ड ६४ रनले विजयी भएको छ । स्कटल्याण्डको यो १७ औं जित हो । यूएईको भने यो १२ औं हार हो । आफ्नो २३ औं खेलमा स्कटल्याण्डले दिएको २६३ रनको लक्ष्य पछ्याएको यूएईले ४१.५ ओभरमा सबै विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो ।

उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । १०२ बलको सामना गरेका उनले चार चौका र एक छक्काको मद्दतमा अविजित ६५ रन बनाए । त्यस्तै, बसिल हमीदले ३४, चन्दुगापोयल रिजवानले ३२, चिराग सुरी र जवार फरिदले १५/१५ रन जोडे । स्कटल्याण्डका लागि मार्क वाटले चार, क्रिस सोलेले तीन, माइकल लीस्कले दुई र सफियान शरिफले एक विकेट लिए ।

त्यसअघि, एबरडीनस्थित मनोफिल्ड पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनायो । उसका लागि कलुम म्याक्लोयडले ८८ बलमा सात चौकासहित सर्वाधिक ७६ रन बनाए । त्यस्तै, माइकल लीस्कले ३९, क्रेग वाल्सीले ३५, क्रिस ग्रेभ्सले २६, कप्तान म्याथ्यू क्रसले २५, कायल कोएट्जरले २३ र मार्क वाटले १० रन बनाए । यूएईका लागि जाहूर खानले चार, रोहन मुस्तफा, सबिर अलीले दुई/दुई, अहमद राजा र बसिल हमीदले एक/एक विकेट लिए ।

स्कटल्याण्डको जितले नेपाललाई फाइदा !

स्कटल्याण्डको जितले नेपाललाई केही फाइदा हुने देखिएको छ । २५ म्याच खेलेको स्कटल्याण्डले १७ मा जित, ६ मा हार र दुई खेलमा अंक बाँडेको छ । ऊ ३६ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष तीनमा रहँदै स्कटल्याण्डले एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना बलियो छ । उसले अझै ११ म्याच खेल्न बाँकी छ । त्यस्तै, तेस्रो स्थानमा रहेको यूएईले २३ मध्ये १२ मा जित, ९ मा हार र दुई खेलमा अंक बाँडेको छ ।

छैटौँ स्थानमा रहेको नेपालले २० म्याच खेल्दा ११ मा हार, आठमा जित र एक खेलमा अंक बाँडेको छ । अब नेपालले १६ म्याच खेल्न बाँकी छ । यदि १६ म्याचमा राम्रो प्रदर्शन गर्दै शीर्ष तीनमा पर्न सके नेपालले सिधै वानडे विश्वकप छनोट खेल्न पाउनेछ । यदि शीर्ष तीनमा नपरेमा नेपालले प्लेअफ खेल्नुपर्नेछ ।

Loading...