नेपाल र बंगलादेशबीचको खेल मिति घोषणा, यस्तो छ दुवै टोलीको पछिल्लो वरियता


काठमाडौं ।


नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो । आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा गर्ने निर्णय गरेको एन्फाले जनाएको हो ।



मैत्रीपूर्ण खेल फिफा विडोअन्तर्गत हुनेछ । वर्तमान समयमा फिफा वरियतामा नेपाल १७६ औं स्थानमा छ । त्यस्तै, बंगलादेशको ताजा फिफा वरियता १९२ औं रहेको छ । त्यस्तै, भदौमा काठमाडौंमा आयोजना हुन लागेको छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको टिकट मूल्य तोकिएको छ ।


एन्फाको बिहीबारको कार्यसमिति बैठकले साफको टिकट मूल्य तोकेको हो । महिला साफका लागि सामान्य र भिआइपी गरी टिकट मुख्य निर्धारण गरिएको एन्फाले जनाएको छ । जसअनुसार महिला साफमा सामान्य प्यारापिटतर्फको टिकट मूल्य ३ सय र भिआइपीतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको हो । आसन्न संस्करणको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशामा आयोजना हुँदैछ ।
साफमा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसहित श्रीलंका र भुटान छन् । समूह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो । सन् २०१९ को १२ देखि २२ मार्चसम्म आयोजना भएको महिला साफ विराटनगरमा भएको प्रतियोगिताको उपाधि भारतले जित्दा नेपाल उपविजेता बनेको थियो ।

हालसम्म पाँच संस्करणकै उपाधि भारतले जितेको छ । चारपटक फाइनल पुगेको नेपाल चारै पटक भारतसँग पराजित हुँदै उपाधिबाट बञ्चित रहँदै आएको छ । प्रतियोगिताका लागि हाल नेपालको दोश्रो चरणको बन्द प्रशिक्षण जारी छ । टोलीका मुख्य प्रशिक्षक कुमार थापाको नेतृत्वा जारी दोश्रो चरणको बन्द प्रशिक्षणमा ३५ खेलाडी सहभागी छन् ।
नेपालले सन् २०१० मा पहिलोपटक साफ च्याम्पियनसिप खेलेको थियो । सो संस्करणमै नेपालले फाइनलमा स्थान बनायो । तर, फाइनलमा नेपाल १–० ले भारतसँग पराजित हुँदै उपाधि जित्न चुक्यो । २०१२ मा पनि नेपाल साफको फाइनलमा भारतसँग नै पराजित भयो । सो संस्करणमा नेपाल १–३ ले पराजित भएको थियो । २०१४ मा भारतसँग नै नेपाल ६–० गोल अन्तरले पराजित भयो । २०१६ मा नेपाल सेमिफाइनलबाटै बाहिरियो ।
२०१९ मा नेपालले फाइनलको टिकट काट्यो । त्यो संस्करणमा पनि फाइनलमा फेरि भारत नै बाधक बन्यो । नेपालमै भएको सो संस्करणको फाइनलमा भारतविरुद्ध नेपाल ३–ले पराजित भएको थियो । यसपालि पनि फाइनलमा भारत र नेपाल पुग्ने सम्भावना बढी छ । घरेलु मैदानमा खेल्न लागेकाले यसपालि नेपाललाई भारतलाई हराउँदै पहिलोपटक उपाधि जित्ने मौका छ ।


