अल्मुताइरी बिदा बसेको मौकामा कार्यवाहक ‘हेड कोच’ बनेका हुमागाईं को हुन्? यस्तो छ उनको विगत


काठमाडौं ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टोलीको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कार्यालयमा बसेको बैठकले अहिले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यवाहक प्रशिक्षकको रूपमा हुमागाईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।



अमेरिका बस्दै आएका हुमागाईंले एक दशक पहिले थ्री स्टार क्लबलाई ‘ए’ डिभिजन लिगको उपाधि जिताएका थिए । उनले गत वर्ष नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी क्लबको प्रशिक्षकको जिम्मेवारी प्राप्त गरेका थिए । तर, खराब सुरुवात गरेपछि ललितपुरले उनलाई हटाएको थियो ।


हुमागाईं एएफसी ‘ए’ लाइसन्स प्राप्त प्रशिक्षक हुन् । फिफा र एफसीको प्रतियोगिताका लागि भने राष्ट्रिय टोलीको प्रशिक्षण प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुनुपर्छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्यप्रशिक्षक अलमुताइरीले २६ खेलाडीलाई बोलाउनका लागि एन्फालाई पत्राचार गरिसकेका छन् । तर, एन्फाले भने कार्यवाहक प्रशिक्षकमा हुमागाईंलाई नियुक्त गरेको छ ।
गत जेठमा कुवेतमा राष्ट्रिय टोलीले एसियन कप छनोट खेलेयता अल्मुताइरी नेपाल फर्किएका छैनन् । एन्फा ले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ । आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा गर्ने निर्णय गरेको एन्फाले जनाएको हो । मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत हुनेछ । वर्तमान समयमा फिफा वरियतामा नेपाल १७६ औं स्थानमा छ । त्यस्तै, बंगलादेशको ताजा फिफा वरियता १९२ औं रहेको छ ।

त्यस्तै, भदौमा काठमाडौंमा आयोजना हुन लागेको छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको टिकट मूल्य तोकिएको छ । एन्फाको बिहीबारको कार्यसमिति बैठकले साफको टिकट मूल्य तोकेको हो । महिला साफका लागि सामान्य र भिआइपी गरी टिकट मुख्य निर्धारण गरिएको एन्फाले जनाएको छ ।
जसअनुसार महिला साफमा सामान्य प्यारापिटतर्फको टिकट मूल्य ३ सय र भिआइपीतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको हो । आसन्न संस्करणको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशामा आयोजना हुँदैछ । साफमा नेपाल समूह ‘बी’ मा छ ।
यो समूहमा नेपालसहित श्रीलंका र भुटान छन् । समूह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो । सन् २०१९ को १२ देखि २२ मार्चसम्म आयोजना भएको महिला साफ विराटनगरमा भएको प्रतियोगिताको उपाधि भारतले जित्दा नेपाल उपविजेता बनेको थियो ।


