सुदूरपश्चिमेली जनतालाई ४ दशक सम्म निरासा बनाएको पश्चिमसेतीले पछिल्लो समयमा आशा पलाउदै
धनगढी:


आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला बैतडीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ । विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिम सेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी छन् । अब आयोजना बन्ला भन्ने आशा उनीहरुमा पलाएको छ । एउटा सपनाजस्तै ठानिएको सो परियोजना नितान्त नयाँ स्वरुपमा अघि बढ्ने कुराले सिंहदरबार आसपासमा चर्चा पाएपछि बैतडी, डोटी, डडेल्धुरा र अछामका जनतामा केही आशा पलाएको हो ।




सो आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भनेर बसेका सेती किनारका धेरैले त आश मारिसकेका थिए । उनीहरुले पनि अहिले आशा पलाएको बताएका छन् । वर्षौंदेखि एउटै कुरा सुन्दै आएका ढुङ्गाड क्षेत्रका बासिन्दालाई पश्चिम सेतीको चर्चा सिंहदरबार आसपास चल्दा व्यङ्ग्यजस्तै लाग्थ्यो । निर्वाचनको समयमा अधिकतर राजनीतिक दलका नेताले आयोजनाको मीठो सपना देखाए । धेरैले त पश्चिम सेती नै देखाएर धेरैपटक सिंहदरबार पनि आए तर दुःखको कुरा– यता आएपछि त्यो आयोजना बनाउनुपर्छ भन्ने बिर्सिए ।


लामो समयदेखि यस्तै चर्चा मात्रै चल्दै आएको सो आयोजना अब भने अगाडि बढ्ने भएको छ । लगानी बोर्डको यही साउन २३ गते बसेको बैठकले सो आयोजना अगाडि बढाउन भारतको सरकारी कम्पनी एनएचपीसीलाई जिम्मेवारी दिएको छ । कूल सात सय ५० मेगावाट क्षमताको सो आयोजनासँगै चार सय ५० मेगावाट क्षमताको सेती नदी छ आयोजनाको अध्ययनसमेत सोही कम्पनीले गर्नेछ ।
बोर्डमा भारतीय कम्पनीले वित्तीय तथा प्राविधिक व्यवस्थापनका अतिरिक्त बजार खोज्नेसम्मको प्रस्ताव गरेको छ। जानकारका अनुसार भारतको सरकारी स्वामित्वको सो कम्पनीसँग प्राविधिक समूह, वित्तीय व्यवस्थापन गर्नसक्ने हैसियत छ । सोही कम्पनीले उत्पादित बिजुली भारतीय बजारमा बिक्री गर्ने प्रस्तावसमेत गरेको बोर्डको भनाइ छ ।

पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय आयोजना निर्माणका लागि इच्छा व्यक्त गरेको भारतीय कम्पनीको प्राविधिक र वित्तीय क्षमता राम्रो रहेको तथा बजार समेत खोज्न सक्ने भएकाले आयोजना अगाडि बढ्छ भन्नेमा विश्वस्त छन् । सो आयोजना निर्माणका लागि धेरै मेहनत गर्नेमध्येका एक पूर्वसचिव उपाध्याय विगतको नकारात्मक पक्षबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् ।
लगानी बोर्डका अनुसार सो आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडले वार्ताद्वारा कार्यान्वयनका लागि आवेदन दिएको थियो । बोर्डको ४७ औँ बैठकले पश्चिम सेती र सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार पार्ने प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पहिलोपटक विसं २०४२ मा बैतडीको ढुङ्गाड र डोटीको तलारा जोड्ने सेती नदीमाथि बनाइएको झोलुङ्गे पुलको उद्घाटन गर्न पुगेका थिए । त्यतिबेला उनले सेतीबाट बिजुली निकालिने र त्यसले यस क्षेत्रको विकास र रोजगारीको विस्तार हुने बताएका थिए । ढुङ्गाडलगायतका क्षेत्र डुबानमा पर्ने भएकाले त्यस क्षेत्रका जनतालाई अन्यत्र सारिने भएकाले विकासका काममा थप खर्च नहुने उनले बताएका थिए ।
आयोजना बन्ने आशमा विसं २०३६ देखि लामो प्रतीक्षा गरेका त्यस क्षेत्रका जनताले आयोजनाको नाममा विकास कस्तो हो भन्नेसमेत देख्न पाएका छैनन् । लामो समयदेखि स्थानीयको मृगतृष्णाजस्तै बनेको आयोजना अब भने नयाँ ढङ्गले निर्माण हुने आशा पलाएको छ ।
कूल सात सय ५० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवमा समावेश गरेको पनि लामै समय भयो तर, कहिले कुन कम्पनी, कहिले कुन कम्पनीको नाममा रहने, कुनै प्रगति नहुनेजस्ता व्यवधानका कारण आयोजना सपनाजस्तो मात्रै बनेको तथ्य कोही कसैबाट छिपेको छैन । चार दशकसम्म पनि आयोजनाका बारेमा कुनै निष्कर्ष ननिस्कनुका पछाडि लगानीको टुङ्गो नलाग्नु नै प्रमुख कारणका रूपमा रहेको सरोकारवाला बताउँछन् ।

