यूएईले दियो अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य, आर्यनले डेब्यूमै गरे शानदार ब्याटिङ

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजमा यूएईले अमेरिकालाई २५४ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको एबर्डीनस्थित मनोफिल्ड पार्क मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनायो ।

उसका लागि युवा ब्याटर आर्यन लाक्राले उत्कृष्ट पारी खेले । ११२ बलको सामना गरेका उनले ११ चौका र एक छक्कासहित ८४ रन बनाए । भारतकाे हरियाणामा जन्मिएका आर्यनको यो डेब्यू म्याच हो । रनआउट भएका उनी डेब्यूमै शतक बनाउने सुन्दर मौकाबाट भने बञ्चित भए । त्यस्तै, वृत्य अरविन्दले ८५ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५३ रन जोडे ।

चुन्दगापोयल रिजवानले ३९, बसिल हमीदले २५, जवर फरिदले १६ र जुनैद सिद्दिकीले अविजित १२ रनको योगदान दिए । अमेरिकाका लागि सौरभ नेत्रावल्करले सर्वाधिक तीन विकेट लिए । विश्वकप लिग–२ मा हालसम्म अमेरिकाले २४ मध्ये ११ मा जित र १२ खेलमा हार बेहोरेको छ ।

ऊ अंक तालिकाको चौथो स्थानमा छ । त्यस्तै, यूएईले २४ म्याच खेल्दा १२ मा जित र ११ खेलमा हारको सामना गरेको छ । ऊ अंक तालिकाको तेस्रो स्थानमा छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । नेपालले २० म्याच खेल्दा आठमा जित र ११ खेलमा हार बेहोरेको छ । सात टिमले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको शीर्षमा ओमान छ । उसले ३६ म्याचमध्ये २१ म जित र १३ खेलमा हार बेहोरेको छ ।

त्यस्तै, स्कटल्याण्ड दोस्रो, नामिबिया पाँचौँ र पपुवा न्यूगिनी सातौँ स्थानमा छन् । अंक तालिकाको शीर्ष तीनमा रहने टोलीले सिधै अर्को वर्षको एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन् । विश्वकप लिग–२ मा हरेक टिमले ३६ म्याच खेल्न पाउने छन् । नेपालले अझै यो लिगमा १६ म्याच खेल्न बाँकी छ ।

Loading...