अफगानिस्तानविरुद्धको दोस्रो टी-२० मा पनि आयरल्याण्डको फराकिलो जित


काठमाडौं ।


अफगानिस्तानविरुद्धको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली आयरल्याण्ड ५ विकेटले विजयी भएको छ । सिरिजमा आयरल्याण्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा ऊ ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा अफगानिस्तानले दिएको १२३ रनको लक्ष्य आयरल्याण्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।



उसका लागि कप्तान एन्ड्रयु बलबर्नीले सर्वाधिक ४६, लोर्कन टकरले २७ र जर्ज डकरेलले अविजित २५ रन बनाए ।अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले दुई, मुजीउर रहमान, नवीन–उल–हक र फजलहक फारुकीले एक/एक विकेट लिए । त्यसअघि बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनायो ।


पाहुना टोलीका लागि हसमतुल्लाह शहिदीले सर्वाधिक ३६, इब्राहिम जाद्रनले १७, अजमतुल्लाह ओमरजाईले ११ र नवीन–उल–हकले अविजित १० रनको योगदान दिए । आयरल्याण्डका लागि जोस लिटल, मार्क आदिर, कर्टिस क्याम्फर र ग्यारेथ डेलानीले दुई/दुई विकेट हात पारे । यो जितसँगै पाँच खेलको सिरिजमा आयरल्याण्डले २–० को अग्रता लिएको छ ।
आयरल्याण्ड र अफगानिस्तानबीचको तेस्रो खेल शुक्रबार हुँदैछ । यी दुई टोली टी–२० विश्वकपअघि सिरिज खेलिरहेका हुन् । आसन्न विश्वकप १६ अक्टोबरदेखि सुरु हुँदैछ । विश्वकपमा आयरल्याण्डले पहिलो खेल १७ अक्टोबरमा जिम्बाब्वेविरुद्ध खेल्नेछ । त्यस्तै, अफगानिस्तानले पहिलो खेलमा २२ अक्टोबरमा इंग्ल्याण्डको सामना गर्ने तालिका छ । यसपालिको विश्वकपमा कुल १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।


