यूएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित, यस्तो बन्यो विश्वकप लिग–२ तालिका

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाले यूएईलाई एक विकेटले हराएको छ । गएराति सम्पन्न खेलमा यूएईले दिएको २५४ रनको लक्ष्य अमेरिकाले ४९.१ ओभरमा भेट्टायो । उसका लागि कप्तान मोनांक पटेलले उत्कृष्ट पारी खेले । ९८ बलको सामना गरेका उनले सात चौका र एक छक्कासहित सर्वाधिक ८५ रन बनाए ।

त्यस्तै, आरोन जोन्सले ६७ बलमा चार चौकाको सहयोगमा ५१ रन जोडे । इयान हल्याण्डले ३०, स्टिभन टेलरले २९, गजानन्द सिंहले अविजित २६ र सुशान्त मोदानीले १२ रनको योगदान दिए । यूएईका लागि जुनैद सिद्दिकी, रोहन मुस्तफाले दुई/दुई, जाहूर खान, बसिल हमीद र कप्तान अहमद राजाले एक/एक विकेट लिए ।

त्यसअघि स्कटल्याण्डको एबर्डीनस्थित मनोफिल्ड पार्क मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनायो । उसका लागि युवा ब्याटर आर्यन लाक्राले उत्कृष्ट पारी खेले । ११२ बलको सामना गरेका उनले ११ चौका र एक छक्कासहित ८४ रन बनाए । भारतकाे हरियाणामा जन्मिएका आर्यनको यो डेब्यू म्याच हो ।

रनआउट भएका उनी डेब्यूमै शतक बनाउने सुन्दर मौकाबाट भने बञ्चित भए । त्यस्तै, वृत्य अरविन्दले ८५ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५३ रन जोडे । चुन्दगापोयल रिजवानले ३९, बसिल हमीदले २५, जवर फरिदले १६ र जुनैद सिद्दिकीले अविजित १२ रनको योगदान दिए । अमेरिकाका लागि सौरभ नेत्रावल्करले सर्वाधिक तीन विकेट लिए ।

विश्वकप लिग–२ मा हालसम्म अमेरिकाले २५ मध्ये १२ मा जित र १२ खेलमा हार बेहोरेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ । त्यस्तै, यूएईले २४ म्याच खेल्दा १२ मा जित र १० खेलमा हारको सामना गरेको छ । ऊ अंक तालिकाको तेस्रो स्थानमा छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । नेपालले २० म्याच खेल्दा आठमा जित र ११ खेलमा हार बेहोरेको छ ।

सात टिमले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको शीर्षमा ओमान छ । उसले ३६ म्याचमध्ये २१ म जित र १३ खेलमा हार बेहोरेको छ । त्यस्तै, स्कटल्याण्ड दोस्रो, नामिबिया पाँचौँ र पपुवा न्यूगिनी सातौँ स्थानमा छन् । अंक तालिकाको शीर्ष तीनमा रहने टोलीले सिधै अर्को वर्षको एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन् । विश्वकप लिग–२ मा हरेक टिमले ३६ म्याच खेल्न पाउने छन् । नेपालले अझै यो लिगमा १६ म्याच खेल्न बाँकी छ ।

९८ म्याच सकिँदा यस्तो बन्यो विश्वकप लिग–२ तालिका :

Loading...